पोखरा, पोखराको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई पितृशोक परेको छ उनका बुवा एकप्रसाद थापा मगरको क्यान्सर रोगका कारण ८१ वर्षको उमेरमा आइतबार बिहान पोखराको हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कास्कीको रुपाकोट घर भएका उनी हाल पोखरा–९ बसपार्कमा बस्दै आएका थिए । उनी बेलायती सेनाका पूर्व सैनिक हुन् । यसअघि उनको काठमाडौं र पोखराका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । पछिल्लो समय उनलाई थेरापीका लागि हरियोखर्क अस्पताल लगिएको थियो ।
थापाका एक छोरा केशवबहादुर र ४ छोरी छन् । छोरीहरूमध्ये सुशीला, मनकुमारी र गीता राई छन् भने एक छोरी टपमायाको यसअघि नै निधन भइसकेको छ ।
यसैबीच सहारा क्लब पोखराले अध्यक्ष थापालाई परेको पितृशोकप्रति दुःख व्यक्त गरेको छ । क्लबले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
















