पोखरा, पोखरा महानगरपालिकाले पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएकाहरुमध्ये बास्तबिक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गर्नको लागि र पहिचान भएका सुकुम्बासी एबम भूमिहीनको लागि आबश्यक जग्गा ब्यबस्थापन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार यहि जेठ ८ गतेसम्म अध्यावधिक विवरण तथा लगत बुझाएका ५ सय ७२ जना मध्ये वास्तविक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गर्नको लागि र उनीहरुलाई जग्गा ब्यबस्थापन गर्नको लागि दुइवटा छुट्टाछुट्टै समिति बनाइएको हो ।
आज बुधबारबाट लागु हुनेगरी १० कार्य दिनभित्र तथ्यगत अध्ययन गरी पोखरा महानगरपालिकामा प्रतिबेदन पेश गर्ने जिम्मेवारी दुवै समितिलाई दिइएको छ वास्तविक भूमिहीन तथा सुकुम्बासी पहिचान गर्न गठित समितिको संयोजक पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुखलाई तोकिएको छ ।
समितिका सदस्यहरुमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कास्की, साविक मालपोत कार्यालय कास्की, साविक नापी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधिलाई राखिएको छ। समितिको सदस्य सचिवमा पोखराको वडा नं. ९ कार्यालयका वडा सचिबलाई राखिएको छ ।
समितिले पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासीको रुपमा बस्दै आएकाहरुद्वारा गठित ‘सुकुम्बासी समस्या सहजीकरण समिति’ संग पनि आवश्यक समन्वय र सहकार्य गरेर बास्तबिक सुकुम्बासीहरुको पहिचान गर्ने र १० दिन भित्र प्रतिबेदन दिने मेयर आचार्यले गुरुकुल खबरलाई जानकारी दिए ।
यसैगरी पोखरा महानगरपालिका अन्तर्गत पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा भूमिहीन सुकुम्बासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्न गठित ‘जग्गा व्यवस्थापन (खोजी) समिति’ को संयोजकमा पोखरा -१७ का वडाध्यक्ष राधिका शाही योगी रहेकी छन ।
समितिको सदस्यहरुमा पोखरा -९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा -१५ का वडाध्यक्ष तोरण बानियाँ, पोखरा -१४ का वडाध्यक्ष बोधराज कार्की, पोखरा -२५ का काबा वडाध्यक्ष धना पोखरेल, पोखरा महानगरपालिकाको नापी शाखाकी प्रमुख सीता कार्की र सदस्य सचिवमा पोखरा महानगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम बजगाई रहेको मेयर आचार्यले जानकारी दिए ।














