पोखरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको प्रतियोगितामा स्याङ्जाकी लोकदोहोरी गायिका बत्तीकुमारी थापाले ‘गण्डकी लोकतारा -२०८२’ को उपाधि जितेकी छन् । अन्य १० जना प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेकी बत्तीले नगद ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र पनि पाएकी छिन् । उनले सर्जक रमेश बिजीको लय/शब्दमा अडियो गीत रेकर्डिङ गर्ने अवसर पनि पाउने भएकी छन ।
हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ गण्डकी लोकतारा गरिएको हो । दोश्रो पटक आयोजित प्रतियोगितामा लमजुङका युगेश परियार द्वितीय, बागलुङकी ललिता घर्तीमगर तृतीय र कास्कीका कास्कीका समिर पुनले सान्त्वना पुरस्कार जितेको प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।
लोकतारामा द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्रका साथमा अडियो गीत निशुल्क रेकर्डिङको अवसर पाउने छन् । लोकतारामा तृतीय हुनेले २२ हजार २ सय २२ नगद पुरस्कार सहित ट्रफि, मेडल, प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्नेले ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक समेत रहेका प्रतिष्ठानका गण्डकीका उपाध्यक्ष रामजी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।
प्रतोयोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई निशुल्क रुपमा ३ महिनासम्म संगीत प्रशिक्षणको व्यवस्था गरिएको छ । लोकतारामा सहभागी सबै कलाकारलाई जनही ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । ग्राण्ड फिनालेको निर्णायकहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापामगर, संगीतकार सुरेश अधिकारी, लोकदोहोरी गायक राजु परियार र पशुपति शर्मा थिए ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रमुख अतिथिको रुपमा बोल्दै लोकभाका केवल गीत मात्र नभएर नेपालीको पहिचान तथा पुस्तौँको संस्कृतिको जीवन्त धरोहर भएको बताइन् । मौलिक लोकगीतले सबै नेपालीलाई आफ्नोपन सिकाउने उल्लेख गर्दै उनले लोकगीतले दुखमा मल्हम लगाउने, खुसीमा उत्साह थप्नुका साथै समाजलाई भावनात्मक रूपमा जोड्ने काम गर्ने चर्चा गरिन् ।














