पोखरा, पोखरा महानगरपालिका -२३ माझथुम चापाकोटमा संचालित सिद्धबराह माध्यमिक विद्यालयले गत बर्षको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो।
विद्यालयको स्थापना कालदेखि हालसम्मकै उत्कृष्ट नतिजा हासिल गर्दै यसवर्ष सहभागी ५२ जना परीक्षार्थीमध्ये ४२ जना विद्यार्थीले परिक्षा उत्तीर्ण गरेका छन्। उत्तीर्ण बिधार्थीहरुमध्ये अनुष पौडेलले ३.९५ जिपिए प्राप्त गरी विद्यालयकै इतिहासमा सर्वोत्कृष्ट नतिजा कायम गर्न सफल भएका छन्।
विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुलीका अनुसार अनुष पौडेलले कुनै अतिरिक्त कक्षा वा ट्युसन नलिई आफ्नै मेहनत र लगनशीलताबाट उक्त सफलता हासिल गरेका हुन्। ‘विद्यार्थी आफै मेहनती र अनुशासित भए उत्कृष्ट नतिजा सम्भव हुन्छ भन्ने उदाहरण अनुषले प्रस्तुत गरेका छन’ प्रधानाध्यापक पराजुलीले गुरुकुल खबरसंग भने।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतराज भण्डारीको सभापतित्व तथा पोखरा महानगरपालिका वडा नं. २३ कार्यालय का वडा अध्यक्ष रामकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष गुरुङले विद्यालयको उत्कृष्ट नतिजाले विद्यालय मात्र नभई समग्र वडाकै शैक्षिकस्तर उकास्न महत्वपूर्ण योगदान पुगेको बताए।
कार्यक्रमका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भण्डारीले विद्यालयको उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने शिक्षक, अभिभावक र सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २३ का जनप्रतिनिधि, अभिभावक, वडा सचिव लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक एबम बिधालयका शिक्षक प्रेम पराजुलीले जानकारी दिएका छन।
- हरिलाल पौडेल














