Play

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान : एकैदिन सात जनाको एन्जियोप्लास्टी गरेर नयाँ रेकर्ड

गुरुकुल खबर


पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पोखरामा संचालन भैरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटुरोग उपचार सेवामा नयाँ उपलब्धि हासिल गरेको जनाएको छ । अस्पतालको मुटुरोग टोलीले बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगातार सातवटा एन्जियोप्लास्टी गरेर जटिल केस सम्पन्न गरेर नयाँ उपलब्धि हासिल गरेको अस्पतालको भनाई छ । अस्पतालका मुटुरोग विभाग इन्चार्ज वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. मनोज कोइराला नेतृत्वमा डा विश्व बराल समेत रहेको टोलीले एकै दिन मुटुका ७ अप्रेसन गरेर नयाँ रेकर्ड कायम गरेको बताइएको छ ।

मुटुरोगको उपचार गरिएका बिरामीमध्ये एकै प रिवारका आमा र छोरालाई एकै समयमा हर्ट अट्याक भएपछि अस्पताल ल्याइएको थियो । ७०–७१ वर्षकी आमा र ५०–५५ वर्षका छोरामध्ये छोराको अवस्था बढी गम्भीर रहेको अबस्थामा दुवैजनाको सफल उपचारपछि दुवैको ज्यान जोगिएको छ । अस्पतालले एकै दिन ७ सफल एन्जियोप्लास्टी हुनुलाई पोखराको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

अस्पतालको मुटुरोग विभागका इन्चार्ज वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट मनोज कोइरालाले सामान्यतया एक दिनमा ४ वटा मात्रै एन्जियोप्लास्टी गरिने भए पनि सेवा व्यवस्थापनमा परिवर्तन भएपछि बिरामीको चाप बढ्दा एकै दिन सातवटा एन्जियोप्लास्टी गर्नुपरेको बताए । कोइरालाका अनुसार ७ अप्रेसन भए पनि ४ जना बिरामीकै अप्रेसन त्यतिको संख्यामा भएको हो । उनले भने, ‘एन्जियोप्लास्टी भनेको मुटुमा ब्लक भएका नसामा जाली राखेर रक्तसञ्चार सहज बनाउने प्रक्रिया हो । एउटा बिरामीमा तीनवटा जाली राखिएको थियो भने अर्को बिरामीमा दुईवटा जाली राखिएको थियो । बाँकी बिरामीमा एक–एक वटा जाली राखिएको थियो ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक सुरेशराज पौडेलले केही बिरामी हर्ट अट्याककै अवस्थामा अस्पताल आएको बताए । उनका अनुसार ती बिरामीको मुटुमा रगत आपूर्ति गर्ने मुख्य नसामा ९९ प्रतिशतसम्म ब्लक देखिएको थियो । चिकित्सा भाषामा एन्जियोप्लास्टी र बोलिचालीको भाषामा जाली राखेको भनिन्छ । पाँच जना बिरामी त हर्ट अट्याक भएरै आएका थिए । उनीहरूको मुटुमा रगत आपूर्ति गर्ने ३ वटा मूल नसामध्ये ९९ प्रतिशतसम्म ब्लक भएको थियो । त्यही ब्लक खुलाएर जाली हालिएको डा. कोइरालाले जानकारी दिए ।

डा कोइरालाले अस्पतालमा एन्जियोप्लास्टी मात्रै नभई पेसमेकर राख्ने तथा पुरानो पेसमेकरको ब्याट्री सकिएपछि नयाँ पेसमेकर प्रतिस्थापन गर्ने सेवा समेत नियमित रूपमा सञ्चालन भइरहेको बताए । अस्पतालमा मुटुरोग सेवा औपचारिक विभागका रूपमा स्थापना नभए पनि सेवा नियमित सञ्चालन भइरहेको उनले जानकारी दिए । उनले भने, ‘पहिले हप्तामा दुई दिन एन्जियोप्लास्टी सेवा सञ्चालन हुन्थ्यो । अहिले एक दिनमात्रै हुँदा पाँचदेखि सातवटासम्म प्रक्रिया एकै दिनमा गर्नुपर्ने अवस्था आएको छ ।’

डा कोइरालाका अनुसार हप्तामा आइतबार र बुधबार सेवा सञ्चालन हुँदै आएकोमा आइतबारको सेवा बन्द भएपछि बिरामीको चाप बुधबारमा केन्द्रित भएको हो ।अस्पतालले २०८२ सालमा मात्रै २१० भन्दा बढी मुटुसम्बन्धी अप्रेसन गरिसकेको छ । हालसम्म कुल १ हजारभन्दा बढी एन्जियोप्लास्टी तथा सम्बन्धित प्रक्रिया सम्पन्न भइसकेको र अस्पतालमा दैनिक २० देखि २५ जनासम्मको आकस्मिक शल्यक्रिया हुने गरेको छ  यसका साथै विभिन्न विभागमार्फत ३५ देखि ४० जनासम्मको नियमित शल्यक्रिया सञ्चालन हुने गरेको बताइएको छ।

३ जेष्ठ २०८३, आईतवार २२:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा