पोखरा, पोखराको फेवातालमा कायकिंग गर्दै गर्दा हावाहुरी आएको कारण तालको बिचमा फँसेका दुई जना युवालाई सशस्त्र प्रहरी बलले उद्वार गरेको छ । फेवातालको पामे तर्फको भागमा पुगेका ति दुबैजना हावाहुरीका कारण जोखिममा परेको थाहा पाए लगत्तै सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरेको हो।
शनिबार दिउसो करिब साढे ४ बजेको समयमा काठमाडौँको सिनामंगल घर भएका ३४ वर्षीय अनुज पुरी र २८ वर्षीया सिवानी खड्का पुरी फेवातालमा कायकिङ्ग गरिरहेको समयमा अचानक आएको ठुलो हावाहुरी र छालको कारण उनीहरु तालको बिचमा फँसेका थिए ।

उक्त घटनाको जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटनबाट खटिएर फेवा रेस्क्यू टावरमा रहेको १० जनाको विशेष टोलीले तत्काल कडा परिश्रमको साथ् उद्वार गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उद्वारपछि दुबैजनाको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।














