Play

कांग्रेसको गण्डकी प्रदेश भेला पोखरामा : पार्टीमा बिबाद छ भन्नेमा सबै सहमत, बक्ता थोरै तर आरोप प्रत्यारोप उस्तै

मुख्यमन्त्री पाण्डेको भनाईमा प्रबक्ता चालिसे, महामन्त्री घिमिरे र उपसभापति शर्माको निशाना


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलाको उद्घाटन समारोहमा बोल्ने नेताहरुको बिचमा निकै घोचपेच र आरोप प्रत्यारोप चल्यो। बोल्ने बक्ताहरु सिमित रहेको भएपनि उनीहरुको बोलि भने कांग्रेसमा हाल बिधमान बिबाद र आरोप प्रत्यारोपमा केन्द्रित थियो। कांग्रेस सभापति गगन कुमार थापाले उद्घाटन गरेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरु मध्ये बिशेष गरि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस प्रबक्ता देवराज चालिसे, पार्टीका महामन्त्री गुरुराज घिमिरे र उपसभापति विश्वप्रकाश शर्माले आरोप प्रत्यारोपलाई बढी प्राथमिकता दिएका थिए।

बक्ताहरुको आरोप प्रत्यारोप चलेको सुनेका सभापति गगन थापाले समेत बक्ताहरुको कारण संचार माध्यममा कांग्रेस बिबादको समाचारले प्राथमिकता पाउने बताए। आंफ्नो मन्तव्यका क्रममा सभापति थापाले मिडियामा कस्तो समाचार आउँछ भन्ने पनि स्पष्ट भैसकेको बताए। उनले भने ‘मुख्यमन्त्री पाण्डेले पार्टी भित्र सम्पूर्ण रुपमा एकता आबश्यक रहेको र महामन्त्री घिमिरेले हिजो काम नगर्ने अनि अहिले भेला गर्दै हिंडने र कराउने भन्ने समाचर आउँछ।’

पार्टीमा नियमित वा बिशेष महाधिबेशनको बिभाजन छ सम्पूर्ण एकता गर्नुपर्यो – मुख्यमन्त्री पाण्डे 

गण्डकीका मुख्यमन्त्री पाण्डेले पार्टी भित्र बिबाद कायम रहेको विषय र मुख्यमन्त्री बनेर आंफुले काम गरेको बिषयमा बोलेको कुरालाई लिएर प्रबक्ता चालिसे, महामन्त्री घिमिरे र उपसभापति शर्माले बढी समय खर्च गर्दै अभिव्यक्ति दिएका थिए। गण्डकीका मुख्यमन्त्री १४ औं महाधिबेशनमा पार्टीका तत्कालिन सभापति शेरबहादुर देउवाको समुहबाट निर्बाचित केन्द्रिय सदस्य हुन । पार्टीको बिशेष महाधिबेशनमा सहभागी नभएका कारण उनि गगन थापा नेतृत्वको केन्द्रीय समितिमा परेका छैनन। पार्टी भित्र देउवा पक्ष भनेर चिनिएपनी मुख्यमन्त्रीको रुपमा गण्डकी प्रदेश सरकार संचालनको क्रममा भने उनले गगन थापा समर्थकलाई नै बढी प्राथमिकता दिएर मन्त्री एबम अन्य नियुक्ति गरिरहेको कांग्रेस वृत्तमा चर्चा छ ।

उनै पाण्डेले पार्टीको प्रदेशस्तरीय भेलाको उद्घाटन समारोहमा बोल्ने क्रममा पार्टी भित्र नियमित र बिशेष महाधिबेशनको नाममा नेता देखि कार्यकर्तासम्म विभाजनको मानसिकता देखिएकोले यस किसिमको विभाजनलाई अन्त्य गर्नुपर्ने कुरामा जोड दिए । सभापति थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको बिषयलाई पाण्डेले व्यक्ति बिशेषलाई केन्द्रमा राखेर गरिने मनोनयनले एकताको सन्देश नदिने भएकोले पार्टीका नेता कार्यकर्ताहरुबीच सम्पूर्ण एकता कायम गरेर भावनात्मक रुपमा सबैलाई जोड्नुपर्ने आबश्यकतामा रहेको बताए । पाण्डेको आशय देउवा र कोइराला समुहका नेताहरुसंग सम्बाद गरेर सामुहिक निर्णयको आधारमा मनोनयन गर्नुपर्छ भन्ने रहेको स्पष्ट हुन्थ्यो ।

बिशेष महाधिबेशनमा नजानेलाई महिला संघको अध्यक्ष र १९ जनालाई केन्द्रीय समितिमा मनोनित गरियो – उपसभापति शर्मा 

मुख्यमन्त्री पाण्डेको यो भनाईलाई आरोप सम्झेपछि पार्टीका महामन्त्री घिमिरे र उपसभापति शर्मा प्रत्यारोपको शैलीमा पाण्डेमाथि खनिए । उपसभापति शर्माले भने पार्टी भित्र बिबाद भएको सत्य हो, तर बिबाद समाधान गर्ने आआफ्नै मोडेल हुन्छ र हामीले आफ्नै मोडेल अनुसार काम गरिरहेकों छौं। उनले बिशेष महाधिबेशनमा नगएका १९ जना साथीहरुलाई केन्द्रीय समितिमा मनोनयन गरिएको र महिला संघको अध्यक्षमा पनि बिशेष महाधिबेशनमा नगएकी मिना खरेललाई मनोनयन गरिएको भन्दै यस्तो मनोनयन गर्दा कसलाई सोध्नुपर्ने ? भनि प्रश्न गरे।

हुन त, पाण्डेको अभिव्यक्तिलाई लिएर सभापति गगन थापाले आंफु बिशेष महाधिबेशनबाट सभापति बनेको भएपनि बिशेष र नियमित महाधिबेशनको नाममा बिबाद गर्ने वा अवसर र जिम्मेवारीबाट बन्चित गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।

बिधि पद्दति अनुसार पार्टी नचलाउने अनि भेला गर्दै र कराउंदै हिड्ने ? महामन्त्री घिमिरे 

मुख्यमन्त्री पाण्डेले व्यक्तिलाई केन्द्रमा राखेर गरिने मनोनयनले भावनात्मक एकता हुन्नसक्ने अभिव्यक्ति दिएको बिषयमा महामन्त्री गुरुराज घिमिरे भने निकै आक्रोशित जस्तै देखिए। उनले भने, संस्था वा संगठन भनेको व्यक्ति पनि हो। व्यक्तिको ब्यबस्थापन पनि बिधि र प्रक्रिया अनुरुप गर्नुपर्छ ।’ उनले कांग्रेसमा नाता र पैसाको आधारमा जिम्मेवारी र अवसर दिने प्रवृति रहेकोले यसलाई पुनर्गठन गर्न आबश्यक देखिएको भन्दै बिधि पद्दति अनुसार पार्टी नचलाउने, काम बिगार्ने अनि कराउने ? भन्दै आक्रोश पोखे। उनले थपे, ‘हिजो राम्रो काम नगर्ने अनि अहिले ठाउँ ठाउँमा भेला गर्दै र कराउंदै हिंड्ने ?’

महामन्त्री घिमिरेले पार्टीमा धेरै संरचना र सदस्यहरु समेत आवश्यक नरहेको अभिव्यक्ति समेत दिए। २०४८ सालमा केहि हजार क्रियाशील सदस्य र केहि भातृसंस्था हुँदा पार्टीको अबस्था सुदृढ रहेको तर अहिले ४८ वटा भातृसंस्था र ९ लाख क्रियाशील सदस्य रहंदा पार्टीको अबस्था कस्तो हुन् पुग्यो भन्ने प्रश्न गर्दै उनले भने जम्बो टोलि वा संरचना मात्र भएर हुन्न सन्देश दिनसक्नुपर्छ । बर्तमान नेतृत्वले पार्टीका अधिकांश भातृसंस्था बिघटन गरेको र नयाँ नियुक्ति नभएको सन्दर्भमा घिमिरिले उक्त कुरा बताएका हुन।

शिर झुकाउने काम गरेको छैन भन्नेले शिर ठाडो पार्न के काम गर्नुभयो ? – प्रबक्ता चालिसे 

मुख्यमन्त्री पाण्डेले आँफुले पदबहाली गरेदेखि नै आंफ्नो कारणले कांग्रेस कार्यकर्ताले शिर निहुराउने अबस्था आउन नदिने भनि प्रतिबद्दता गरेको र हालसम्म कार्यकर्ताको शिर निहुराउने काम नगरेको दाबि गरेका थिए । बजेट र कार्यक्रमको कारण कार्यकर्तामा केहि असन्तुष्टि रहेको तर १ खर्बको बजेट भएपनि कार्यकर्ताको चाहना र आबश्यकता पुरा गर्न नसकिने भनि पाण्डेले दिएको अभिव्यक्ति प्रति कडा शब्दमा प्रतिबाद गर्दै कांग्रेस प्रबक्ता चालिसेले भने, तपाइंले शिर निहुराउने कुनै काम गरेको छैन त भन्नुभयो, तर कार्यकर्ता वा नागरिकको शिर ठाडो पार्न मिल्ने कुन काम गर्नुभयो त ? भनि प्रश्न गरे ।

कांग्रेसको इमेज बदल्ने ससाना कामले हो, तपाइंले त्यस्तो कुन काम गर्नुभयो ? सामान्य सिफारिस लिन घन्टौं समय कुर्नुपर्ने बाध्यता, बृद्धभत्ता वा राहत र उद्वार जस्ता काममा समेत नागरिकलाई सन्तुष्ट पार्न नसक्ने, नागरिक मैत्री व्यवहार नगर्ने अनि बजेट थोरै छ भन्ने ? चालिसेले मुख्यमन्त्री पाण्डेलाई नै लक्षित् गर्दै भने, बजेट र कार्यक्रम थोरै भएपनि व्यवहार र नागरिकको समस्याको सम्बोधन कसरि भयो भन्ने कुरा प्रमुख हो।

‘डेलिभरी दिँदा डिजिटलाइजेशन र ट्र्याकिङ सिस्टम अपनाएमा जनताले अपनत्व महसुस गर्ने र कांग्रेसको इमेज पनि बदलिने भन्दै उनले प्रशासनिक भाषा भन्दा पनि परिणाम दिने भाषा र शैली अपनाउन मुख्यमन्त्री पाण्डे सहितका जनप्रतिनिधिलाई आग्रह गरे । अमेरिकामा रोजा पार्कले बसको सिट नछोड्ने सानो प्रतिरोध गर्दा ठूलो नागरिक अधिकार आन्दोलन जन्मिएको र महात्मा गान्धीको नुन सत्याग्रहले भारतलाई बदलेको उदाहरण दिँदै उनले भने, ‘हामीले शिर झुक्ने काम रोक्याैं भन्दै गर्दाअब शिर ठाडो पार्ने काम गर्नुपर्छ ।’

कांग्रेसले आंफ्नो नीति छाड्यो, जनताले कांग्रेस छाडे – शुक्रराज शर्मा 

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कम्युनिष्टले भनेको कुरा मान्दै गएको कारण जनताले कांग्रेसलाई साथ दिन छोडेको बताए। उनले पार्टीको बिशेष महाधिबेशनबाट बनेको नेतृत्वले काम गरिरहेको भएपनि सोहि महाधिबेशनबाट पारित केहि नीतिलाई पार्टीले कार्यान्वयन नगरेको कारण चुनाबमा जनताले साथ छोडेको बताए। पहिले हाम्रो नीति ठिक थियो त्यसैले जनताले हामीलाई साथ दिन्थे, तर अहिले हामीले हाम्रो नीति छोड्यौं जसका कारण जनता हामीसंग छैनन। उनले पार्टीको वर्तमान नेतृत्वलाई आँखा खोलेर प्रजातन्त्रको पक्षमा काम गर्न आग्रह गरे।

गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले जनप्रतिनिधि र पार्टीबीच प्रभावकारी समन्वय हुनुपर्ने औंल्याइन् । ‘पार्टीको हिँडाइ एकातिर र जनप्रतिनिधिको हिँडाइ अर्कोतिर छ भन्ने गुनासो आएको छ,’ उनले भनिन् । यी दुईको सम्बन्ध प्रगाढ बनाएमात्र जनताको विश्वास जित्न सकिने उनको भनाइ थियो । ५ वर्षे कार्यकालको बाँकी १ वर्षमा अधुरा काम पूरा गर्न र आगामी निर्वाचनको आधार तयार पार्न यो भेला महत्वपूर्ण हुने उनले उल्लेख गरिन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपाध्यक्ष मधु आचार्यले गएको निर्वाचनको पराजयको समीक्षा सकिएको बताए । अब आउँदो निर्वाचनमा बढी सिट जित्ने गरी तयारीमा लाग्नुपर्ने उनको भनाइ छ । प्रतिष्ठानले सुरु गरेको जरा अभियानलाई सशक्त बनाउन प्रदेश तहमा यस्ता कार्यक्रम गरिएको उनले बताए । जेठ १ गतेदेखि लागू हुने गरी प्रतिष्ठानले नयाँ दस्ताबेजहरु तयार पारेको र त्यसले पार्टीको कार्यशैलीमा परिवर्तन ल्याउने उनले उनको दाबि थियो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति एबम प्रशिक्षण बिभाग प्रमुख कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने र कास्की कांग्रेसका सभापति किशोरदत्त बराल लगायतले बोलेका थिए । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’मा गण्डकीबाट प्रतिनिधित्व गर्ने नेताहरुको उपस्थिति छ । भेलाले प्रदेश र स्थानीय तहको कार्यसम्पादन तथा आगामी चुनावी रणनीतिका बारेमा छलफल गरिरहेको छ ।

सम्बन्धित समाचार ..

सदस्यता अधाबधिकको काम नगर्नेलाई तत्काल हटाएर अर्कोलाई जिम्मेवारी दिईन्छ – कांग्रेस सभापति थापा

कांग्रेसको बिबाद समाधान गर्न हामीले आंफ्नो मोडल अनुसार नै काम गरेका छौं- उपसभापति शर्मा

ओलीसंग कांग्रेस र नेकपाका नेताहरुको भेटघाटमा तिब्रता: प्रदेश सरकार परिवर्तनको प्रयास, बाम गठबन्धनको शंका

१ जेष्ठ २०८३, शुक्रबार १३:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा