Play

ओलीसंग कांग्रेस र नेकपाका नेताहरुको भेटघाटमा तिब्रता: प्रदेश सरकार परिवर्तनको प्रयास, बाम गठबन्धनको शंका

गुरुकुल खबर


पोखरा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुको भेटघाट बाक्लिंदै गएपछि प्रदेश सरकार फेरबदलको चर्चाले ब्यापकता पाएको छ। संसद् छलेर सरकारले ल्याएका अध्यादेशहरू, सरकारको नीति तथा कार्यक्रम, प्रधानन्यायाधीश सिफारिस लगायत विषयमा छलफल छलफल गर्न उनीहरुको बिचमा भेटघाट चलेको बताइएपनि प्रदेश सरकार आंफ्नो अनुकुलको बनाउने बिषयमा छलफल केन्द्रित हुन् पुगेको कतिपयको भनाई छ ।

नेकपा एमाले र नेपाली कांग्रेसको बिचमा सात बुँदे सहमतिको आधारमा  २०८१ असारबाट सत्ता सहकार्य शुरु भएको थियो । भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनपछि कांग्रेस एमालेको संयुक्त संघिय सरकार ढलेको भएपनि प्रदेशहरुमा भने सत्ता सहकार्य जारी छ,’ एमालेका एक नेताका अनुसार पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने समय आएकोले यसै वरीपरी रहेर नेताहरुको बिचमा कुराकानी चलिरहेको छ ।

एमाले र कांग्रेस नेताहरुको भेट राष्ट्रियसभाबाट अध्यादेशहरू पारित हुन नदिन विपक्षीहरु जुटिरहेका सन्दर्भमा के कसरि अगाडी बढ्ने भन्ने बिषयमा समेत कुराकानी भएको तर कुराकानीको मुख्य एजेण्डा भने प्रदेश सरकारहरू हेरफेर गर्नेबारे रहेको बताइन्छ । पित्तथैलीको शल्यक्रियापछि घरमै आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था बुझ्न गएको भनिएपनि उनीहरू गुण्डु पुग्नुको कारण राजनीतिक छलफल नै प्रमुख रहेको सबैको अनुमान छ ।

ओलीसंग कांग्रेसका नेताहरुको जस्तै नेपाली कम्युनिष्ट पार्टीका नेताहरुबिचको भेटघाटमा पनि तिब्रता देखिएको छ । बिशेष गरि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लगातार वाम एकताबारे दिईरहनु, चैत्र १९ देखि १४ वैशाखसम्म चलेको नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकबाटै वाम एकताबारे निर्णय हुनु, यस बिचमा प्रचण्ड आफैले ओलीसँग टेलिफोन सम्वाद गर्नु, वैशाख २२ गते नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले ओलीसँग सम्वाद गरेको कुराले पनि चर्चा पाएको छ।

तर दुई बामपन्थी पार्टीका नेताहरुको सम्बाद र मित्रता बढेकोमा कांग्रेसको अहिलेको नेतृत्व भने सशंकित बनेको बताइएको छ । एमाले र नेकपा मिलेर प्रदेशमा सत्ता सहकार्य गरेमा कांग्रेस नेतृत्वमा रहेका कतिपय प्रदेश सरकार समत बाम्पन्थीको पोल्टामा पुग्ने भएकोले पनि कांग्रेस नेताहरु सशंकित बनेको बुझिएको छ।  सोहि कारण गगन थापा नेतृत्वमा रहेको केन्द्रीय समितिका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदय शमशेर राणा एमाले अध्यक्ष ओलीलाई भेट्न गुन्डु पुगेको अनुमान गरिएको छ ।

एमालेमा ओलीसंग असन्तुष्ट केही पदाधिकारीले प्रचण्डसँग ओलीको सम्बाद र नेकपा नेताहरुसंगको भेटलाई लिएर ओली र प्रचण्डको बिचमा पार्टी एकता गर्न लागेको हो कि भन्दै सार्वजनिक रुपमा असन्तुष्टि समेत जनाएका छन् । तर ओली निकट नेताले नेकपाका नेताहरूसँग छलफल बाक्लिएको भएपनि बर्तमान अबस्थामा विपक्षीहरूबीचमा सहकार्यको खाँचो रहेकोले कांग्रेससँग मात्र नभएर सबैसँग मिलेर जानुपर्छ भन्ने विकल्पमा छलफल भइरहेको बताए । उनका अनुसार, कांग्रेस उपसभापति शर्मा सहितको नेताहरुसँग ओलीले यहि कुरामा जोड दिएका थिए ।

ओलीसँग कुरा हुनुअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूको बिचमा प्रदेशको सत्ता सहकार्य कसरि गर्ने भन्ने बिषयमा कुराकानी भइसकेको बुझिएको छ । कांग्रेसबाट उपसभापति शर्मा र महामन्त्री प्रदीप पौडेल तथा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच सातबुंदे पुर्व सहमति र सत्ता सहकार्यको बारेमा छलफल भएको बताइएको छ । किनकि कांग्रेस उपसभापति शर्माले कांग्रेस कर्णालीका सभापति ललितजंग शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही लगायतका नेतासंग कुरा गर्ने क्रममा कर्णाली प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे एमाले अध्यक्ष ओलीसंग कुरा गर्ने भनेर पहिले नै बताएका थिए ।

कर्णालीमा एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री रहेकोमा उनको ठाउँमा कांग्रेसको मुख्यमन्त्री बनाउनुपर्ने आवाज कांग्रेस नेताहरुले उठाएको थिए । कर्णाली र सुदुरपश्चिम प्रदेशको कांग्रेस संगठनमा कांग्रेस सभापति थापा समुहको प्रभाव तुलनात्मक रुपमा अन्य प्रदेशको भन्दा कमजोर रहेको र सुदुर पश्चिमका मुख्यमन्त्रीले कांग्रेस नेता शेरबहादुर देउवालाई टिकट नदिएको र सभापति थापाले समेत एकलौटी गर्न खोजेको जस्ता आरोप सार्बजनिक रुपमा लगाएपछि उनलाई मुख्यमन्त्रीबाट हटाउने र आंफ्नो अनुकुल हुने गरि दुवै प्रदेशमा मन्त्री र मुख्यमन्त्री बनाउने लक्षका साथ एमालेसंग कुरा भैरहेको हुनसक्ने अनुमान गरिएको छ।

यता एमाले र नेकपाका नेताहरुको भेटघाट बाक्लो बन्दै जाँदा कांग्रेसका नेताहरुलाई पनि प्रदेशक सरकार गुम्ने हो कि भन्ने चिन्ता समेत बढेको छ एमाले र नेकपाबीच गठबन्धन अथवा एकता भएमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरि चारवटा प्रदेशमा सहज ढंगले फेरि कम्युनिष्ट सरकार बन्नसक्छ । विशेष महाधिवेशनबाट फेरिएको कांग्रेस नेतृत्व पनि प्रदेश सरकारहरूमा एमालेसँगको सहयात्रालाई निरन्तरता दिने तर आंफ्नो अनुकुल र प्रभाव बढ्ने गरि मन्त्रीमण्डल बनाउने प्रयासमा रहेको बताइएको छ।  यस अगाडी देउवा नेतृत्वका बेला भएको सात बुँदे बमोजिमको भागबण्डा जोगाउन सक्दा कांग्रेसलाई घाटा नपर्ने बरु आंफ्नो प्रभाव बढाउन सकिने भएकोले पनि सभापति गगन थापा यो निष्कर्षमा पुगेको अनुमान गरिएको छ ।

बिभिन्न प्रदेशको अवस्था कस्तो छ ?

कोशी प्रदेशमा कांग्रेसको समर्थनमा एमालेका हिक्मत कार्की अहिले मुख्यमन्त्री छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेसँग ४०, कांग्रेससँग २९, नेकपासँग १७, राप्रपासँग ५ (भक्ति सिटौलाले राजीनामाले एक घटेको) र जसपासँग एक सिट छ । बहुमतका लागि ४७ जना प्रदेश सांसद आवश्यक पर्दछ । जुन संख्या एमाले र नेकपा मिल्दा सजिलै पुग्छ ।

मधेसमा कम्युनिस्ट मिल्दैमा सरकार फेरिने स्थिति छैन । कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवलाई निरन्तरता दिनेगरी गत २७ वैशाखमा मात्र कांग्रेस सहित जसपा नेपाल, नेकपा र लोसपाले निर्णय गरिसकेका छन् । मधेश प्रदेशमा  १०७ सदस्यीय प्रदेश सभा छ । चार सांसद रिक्त छन् । हाल कायम प्रदेश सांसद अनुसार मधेसमा सरकार बनाउन ५२ जना आवश्यक पर्दछ । मधेसमा एमालेसँग २२, कांग्रेससँग २२, जसपासँग १६, जनमतसँग १२, नेकपासँग १३, लोसपासँग ९ र राप्रपासँग एक जना सांसद छन् ।  जनमत पार्टीले समर्थन फिर्ता लिएपनि मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिएको छ

बागमतीमा अहिले कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री छन् । बागमतिको १ सय १० सदस्यीय प्रदेश सभामा ६ जना प्रदेश सांसद रिक्त रहेको छन त्यहाँ कांग्रेससंग ३६, एमालेसँग २५, नेकपासँग २३, राप्रपासँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन् । बागमतिमा दुई कम्युनिष्ट पार्टी मिल्दा पनि सरकार बनाउन आवश्यक पर्ने ५३ सिट नपुग्ने भएपनि अन्य दललाई समेत मिलाउन सकेमा कांग्रेस बाहेकको सरकार बनाउन कठिन छैन ।

गण्डकी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन। एमालेले सरकार बनाउन पाए खगराज अधिकारी मुख्यमन्त्री बन्न सक्छन गण्डकी प्रदेश सभामा कूल सिट संख्या ६० रहेकोमा मनाङ प्रदेशसभाबाट जितेका राजीव गुरुङ (दीपक मनाङ) लाई फौजदारी कसुरमा दोषी ठहर भएकोले उनको सांसद पद खारेज भएको छ। बाग्लुंगबाट प्रदेश सांसद बनेका कांग्रेसका द्रोण कुँवरले राजीनामा दिएपनि स्वीकृत नभएकोले ५९ जना प्रदेश सांसद कायम छन । गण्डकीमा पहिलो दल रहेको कांग्रेसका २६, एमालेका २२, नेकपाका ८ र राप्रपाका २ सांसद छन् । बहुमतका लागि ३० सांसद आवश्यक पर्दछ । अर्थात दुई कम्युनिष्ट पार्टी मिल्दा सरकार बन्न सक्ने अबस्था छ ।

लुम्बिनीमा पनि एमाले–कांग्रेस सत्ता सहकार्य छ । कांग्रेसको समर्थनमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेस २७, नेकपाका ७, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, लोसपाका २, जनमतका ३ र राजमोका १ सांसद छन् । प्रदेश सभामा चार पद रिक्त छ । ४२ जनाले प्रदेश सभामा बहुमत पुग्दछ । लुम्बिनीमा एमाले र नेकपा मिल्दा सरकार बन्न नसकेपनि अन्य दललाई मिलाउनसके सरकार बन्न सक्ने अबस्था छ ।

कर्णालीको कूल ४० प्रदेश सांसदमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, र स्वतन्त्र २ छन् । २० जनाले बहुमत पुग्ने कर्णालीमा एमाले र नेकपा मिलेमा सहजै सरकार बन्छ । अहिले एमालेका यामलाल कँडेल यहाँ मुख्यमन्त्री छन् । कर्णालीमा सरकार परिवर्तन गरि कांग्रेसका जिबन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सकेमा देउवा र नेता पूर्णबहादुर खड्का पक्षका नेताहरु आंफ्नो पक्षमा आउने विश्लेषण सभापति थापा र उनको समुहको रहेको छ किनकि कर्णालीमा अहिले पनि हालको संस्थापन पक्षको प्रभाव अपेक्षा गरेअनुरुप बिस्तार हुनसकेको छैन।

सुदूरपश्चिममा एमाले र नेकपा बीच सहकार्य भए सजिलै सरकार बन्छ । ५२ सदस्यीय प्रदेश सभामा नेकपासँग २२, कांग्रेससँग १८, एमालेसँग १० र राप्रपाका १ सांसद छन् । त्यस प्रदेशका मुख्यमन्त्री कोमल बहादुर शाह देउवा निकट रहेकोले उनलाई मुख्यमन्त्रीबाट हटाएर एमालेलाई मुख्यमन्त्री दिने तयारी भैरहेको बुझिएको छ मुख्यमन्त्री शाहले केहि दिन अगाडी पार्टी सभापति गगन थापा समेत सहभागी कार्यक्रममा देउवालाई टिकट किन नदिएको भन्दै प्रश्न गरेका थिए।

प्रदेश सरकार फेरबदल हुने सम्भावना र कांग्रेसको संस्थापनको चाहना रहेपनि एमाले र नेकपाका नेताहरुबिचको सम्बाद र भेटघाटका कारण कांग्रेस नेताहरुमा शंका बढेको छ कांग्रेससँग पूर्वसहमति बमोजिम प्रदेश सरकारहरू फेर्न ओलीले अस्विकार नगरेको तर आनाकानी गर्नुर अरुसंग पनि निरन्तर छलफल चल्नुको पछाडी फेरी वाम गठबन्धन गर्ने सम्भावना रहेकोले केहि कांग्रेस नेताको बुझाइ छ । कांग्रेसका एक पदाधिकारी एमालेले दोहोरो भूमिका खेलिरहेको शंका आफूहरूले गरेको स्वीकार्छन् । ‘एमाले र नेकपा नजिकिएको महशुस गरेका छौं,’ उनी भन्छन।

३१ बैशाख २०८३, बिहीबार ११:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा