पोखरा, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यताको अभिलेख अधाबधिक गर्ने अलमल नगर्न पार्टीको वडा कार्यसमिति सहितका तल्लो तहलाई निर्देशन दिंदै कुनै तहको सभापतिले जरा अभियान अन्तर्गत सदस्यताको अधाबधि गर्ने प्रक्रिया शुरु नगरेमा तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिईने बताएका छन। पोखरामा नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेला र प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले सदस्यता अधाबधिकको काम नगर्ने साथीलाई जिम्मेवारीबाट मुक्त गरेर तत्काल अर्को साथीलाई जिम्मेवारी दिईने स्पष्ट पारे ।
कांग्रेस सभापति थापाको उक्त भनाईले थापा तल्लो तहका कार्यकर्ता सामु कडा ढंगले प्रस्तुत हुन् खोजेको देखिन्छ। जरा अभियान अन्तर्गत सदस्यता अधाबधिक गर्ने काम शुरु भएको १ महिना बितिसकेको छ। बैशाख महिना भित्र उक्त काम सक्ने लक्ष अनुरुप पार्टीको केन्द्रबाट तल्लो तहमा निर्देशन जारी गरिएको भएपनि कतिपय वडा र पालिकामा अझैसम्म सदस्यता अधाबधिक गर्ने काम शुरु हुन पनि सकेको छैन । सभापति थापाले स्थानीयस्तरमा पार्टीका साथीहरु र जनप्रतिनिधिको संयन्त्र बनाउन केन्द्रले भनिरहेको तर संयन्त्र बन्न नसकेको भन्दै केन्द्रले साथीहरुलाई उठबस गराउने त हैन होला नि ? भन्दै आक्रोश समेत प्रकट गरे ।
बैशाख महिना भित्र सक्ने भनिएको काम कुनै ठाउँमा शुरु नै हुन नसकेको कारणले हुनुपर्छ, सभापति थापाले सोहि कार्यक्रममा बोल्ने क्रममा पार्टीले शुरु गरेको जरा अभियान अन्तर्गत सदस्यता अधाबधिक गर्नको लागि १ महिना समय थप गरिने समेत जानकारी दिए। पार्टीको केन्द्रले भने बिहिबार नै जेठ २१ सम्म अनिबार्य रुपमा सदस्यता नबिकरण, बितरण र अधाबधिक गर्नको लागि समय थप गरेको बिज्ञप्ती सार्बजनिक गरेको छ।

कांग्रेस सभापति थापाले भने, पार्टीको क्रियाशील सदस्यले प्रत्येक बर्ष वडासमिति मार्फत क्रियाशील सदस्यताको नबिकरण गर्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरु यस अगाडिका नेताहरुले तयार गरेको विधानमा उल्लेख छ। तर बिगतमा विधानको उक्त धारालाई निलम्बनमा राखेर पार्टीको महाधिबेशन हुनुभन्दा ६ महिना अगाडी चार बर्षको सदस्यता एकैपटक नबिकरण गर्ने गरियो तर अहिले विधानको ब्यबस्था बमोजिम नबिकरण र अधाबधिक गर्न लागिएको हो।’ उनले अबको महाधिबेशनमा प्रत्येक निर्बाचन क्षेत्रबाट ३० बर्ष भन्दा कम उमेरका ३ जनालाई महाधिबेशन प्रतिनिधि बनाउने ब्यबस्था गरिएको समेत जानकारी समेत गराए।
विचार समुहको नाममा भेला स्वाभाविक तर क्रियाशील सदस्यता अपडेट नगर्नु भन्न मिल्दैन
पार्टीमा बिशेष महाधिबेशनको बिपक्षमा रहेका नेताहरुले काठमाडौँ लगायत देशका विभिन्न भागमा भेला गरिरहेको बिषयलाई उनले स्वाभाविक रुपमा लिए। ‘पार्टी भित्र बिभिन्न बिचार समुह हुन्छ, विचार समुहको भेला राख्न नपाउने भन्ने हैन, हिजोका दिनमा हामीले पनि यस्ता भेला गरेकै हो तर भेला राखेर पार्टी सदस्यता अधाबधिक नगर्नु भनेर कार्यकर्तालाई भन्न मिल्दैन।’ उनले असन्तुष्टि पोखे ।
सभापति थापाले पार्टी भित्र बिबाद रहेको कुरालाई भने स्वीकार गर्दै बाहिर रहेका नेतालाई पार्टीको रिक्त रहेका पदमा जिम्मेवारी दिन तयार रहेको जानकारी दिए। ‘अहिले बिशेष महाधिबेशन पछिको पार्टी सभापति म हो, १४ औं महाधिबेशनपछि केन्द्रीय समितिमा रहेका केहि नेता साथीहरु अहिले बाहिर हुनुहुन्छ, मैले आउनोस, संगै काम गरौँ पनि भनेको छु पार्टीको बिधि र पद्दति भित्र रहेर कुन साथीलाई कहाँ राख्ने भन्ने बिषयमा निर्णय गर्न म तयार छु, पार्टीको सदस्यता समिति, निर्बाचन समिति, अनुशासन समितिमा रिक्त रहेका ठाउँमा कुन साथीलाई राख्ने भन्ने बिषयमा छलफल र निर्णय गर्न म तयार छु, मैले गर्ने त्यहि त होला नि ?’
यसै सन्दर्भमा उनले १४ औं महाधिबेशन पछिको केन्द्रीय समितिमा रहेका १९ जना साथीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको समेत स्पष्ट पारे। ‘हिजो मलाई महामन्त्रीबाट कारबाही गर्ने निर्णयको ड्राफ्ट बनाउने जिबन परियारलाई पनि केन्द्रीय सदस्य मनिनित गरेको छु’ सभापति थापाले सोहि कार्यक्रममा उपस्थित परियारलाई देखाउंदै भने ‘अब पार्टीलाई मिलाउंदै अगाडी बढ्ने हो, बिशेष महाधिबेशनमा को सहभागि भयो वा भएन भन्ने आँखाबाट हेर्ने हैन।’
तल्लो तहका साथीहरुलाई मिलाउन मैले उठबस गराउने त हैन होला नि
पार्टीको केन्द्रमा मात्र नभएर वडा तहमा समेत पार्टीका साथीहरुको बिचमा बेमेल रहेको पनि सभापति थापाले बताए। ‘अहिले पार्टीबाट निर्बाचित जनप्रतिनिधि र पार्टीका साथीहरुबीच सबै ठाउँमा बेमेल छ, अर्को चुनाब नजिक आइसक्यो तर पार्टी र जनप्रतिनिधिबिचमा समन्वय कायम गरेर स्थानीय आबश्यकत अनुसारको नीति, बजेट र कार्यक्रम बनाउनुस भन्यो कसैले सुन्दैन, माथिबाट पार्टीले स्थानीय स्तरमा संयन्त्र बनाउनु भनेको छ तर कतै बन्दैन, हात खुट्टा बाँध्ने वा उठबस गराउने त हैन होला नि पार्टीले ?’ उनले चिन्ता सहितको प्रश्न कार्यकर्ता सामु तेर्स्याए।

यसपटकको निर्बाचनमा १० लाख मतदाताले नेपाली काँग्रेस छोडेकोले उनिहरुलाई सम्झाएर उनीहरुले चाहे जस्तो कांग्रेस बनाउन आँफु लागिरहेको उनको भनाई थियो। बीपी कोइरालाको इतिहासलाई गलत ढंगले व्याख्या गरेर बनाइएको भिडियो आंफुले हेरेको भन्दै थापाले इतिहासको गलत ढंगले व्याख्या गर्ने, भ्रम छर्ने खालका काम भैरहेका छन, तिनलाई चिर्न र कांग्रेसको तल्लो तहमा रहेका सदस्यहरुलाई कांग्रेसको बारेमा एकैसाथ सहि सुचना प्रवाह गर्न डिजिटल सदस्यता अधाबधिक गर्नुपरेकोमा उनले जोड दिए। ‘हामीले स्कुल र कलेज पढ्ने युवाहरूलाई उनीहरुले चाहे अनुसारको कांग्रेस बनाउछौं भनेर भरोसा दिलाउन सक्नुपर्छ।
अघिल्लो निर्वाचनमा कांग्रेसले भौतिक रूपमा भन्दा पनि डिजिटल स्पेसमा चुनाव हारेको उनको भनाई थियो । उनले कांग्रेससँग पर्याप्त कन्टेन्ट भए पनि त्यसलाई जनतासम्म पुर्याउने आधार र संरचना नभएको स्वीकार गरे । उनले भने, ‘हामीले अब पार्टीलाई प्रविधिमैत्री बनाउनैपर्छ, पार्टीका ९ लाख सक्रिय सदस्यहरूको तथ्यांकलाई डिजिटल प्रणालीमा आवद्ध गरेर डिजिटल आइडी दिने र उनीहरूका मोबाइलमा आबश्यक सुचनाहरु सिधा प्रवाह गरिने छ ।
बैशाखमा चुनाब हुनेभए माघ महिना भित्र नै उमेदवार तय गरिन्छ
पार्टीलाई प्रबिधि मैत्री बनाएपछि तल्लो तहका सदस्यहरुसंग सिधा सम्बाद हुने र पार्टीभित्रको टिकट वितरण प्रणालीमा पनि आमूल परिवर्तन गरिने बताउंदै थापाले अब वडाअध्यक्षको उम्मेदवार केन्द्रले नभई सम्बन्धित वडाका सक्रिय सदस्यहरूसंग प्रविधिमार्फत कुरा गरेर निर्णय हुन्छ । ‘कुन वडामा कसलाई उमेदवार बनाउने भन्ने कुरा त्यहीँका सक्रिय सदस्यहरूलाई सोधेर निर्णय गरिनेछ । यसका लागि भोटिङ गरिरहनु पर्दैन, डिजिटल माध्यमबाटै उनीहरूको राय लिइनेछ । बैशाखमा चुनाब हुने हो भने माघ महिना भित्र पार्टीले उमेदवार तय गरिसक्छ” उनले भने ।














