Play

एसईई परिक्षामा पोखराका स्कुलको नतिजा: केहिको उत्कृष्ट, केहिको ठिकै र केहीको कमजोर (विवरण सहित)

गुरुकुल खबर


पोखरा, पोखरामा संचालनमा रहेका बिभिन्न बिधालयका बिधार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा राम्रो नतिजा ल्याएका छन ।  केहि बिधालयको नतिजा अपेक्षाकृत राम्रो हुन् नसकेपनि अधिकांश बिधालयको नतिजा सन्तोषजनक रहेको छ । यस वर्ष देशभरबाट ४ लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएकोमा २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड र १ लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।

देशभरमा ३.६० देखि ४.० जिपिए ल्याउनेको संख्या ४८ हजार ३९२ छ । यस्तै ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० सम्मको जिपिए ल्याएका छन् । यसैगरी पोखरा महानगर क्षेत्रका बिभिन्न बिधालयबाट परिक्षामा सहभागी ९ हजार १४ मध्ये ७ हजार ३ सय ८६ जना अर्थात् ७९.३१ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् ।

४.० जिपिए ल्याउने विद्यार्थी संख्याका आधारमा मदरल्याण्ड सेकेन्डरी स्कुल पहिलो स्थानमा देखिएको छ । उक्त विधालयका १२ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । त्यसैगरी गण्डकी बोर्डिङ स्कुल र प्रतिभा आवासीय माविका ५/५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरे ।

ग्लोबल कलिजियट स्कुल, शान्ति निकेतन स्कुल र छोरेपाटन माविका ३/३ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । पोखरा पब्लिक, सिर्जना सेकेन्डरी स्कुल, शिशु निकेतन सेकेन्डरी र त्रिवेणी पब्लिक माविका २/२ जना विद्यार्थीले यो सफलता पाए ।

यस्तै शिशु कल्याण इङ्लिस स्कुल, बाराही सेकेन्डरी स्कुल, एसओएस हर्मन माइनर, त्रिभुवन शान्ति मावि र कुमुदिनी होम्सका १/१ जना विद्यार्थीले ४.० जिपिए ल्याए।

रेन्बो एकेडेमिक होम्स, भाष्कर मेमोरियल स्कुल, बेसलाइन एकेडेमी, सैनिक आवासीय महाविद्यालय, सगरमाथा निकेतन स्कुल, राइजिङ स्टार एकेडेमी, डिज्नील्याण्ड एकेडेमी, वेलनन एकेडेमी र फेवा शिक्षा सदनका १/१ जना विद्यार्थीले पनि ४.० जिपिए हासिल गरेर विद्यालयको गरिमा बढाएका छन् ।

प्राप्त विवरण अनुसार पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका ५ जना विद्यार्थी एन्जेलिना केसी, अर्पित चालिसे, सत्कार पोखरेल, सुकृति तिमिल्सिना र यथार्थ लामिछानेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए ल्याएका छन्।  परिक्षामा १२० जना विद्यार्थी सहभागी भएकोमा ७ जना विद्यार्थीले ३.९५ देखि ३.९६ जीपीए ल्याएका छन् ।

९१ जना विद्यार्थी ३.६० देखि ४.० जीपीएभित्र समेटिएका छन् ।   विद्यालयको औसत जीपीए ३.७४ रहेकोमा ९१ जना विद्यार्थीले ३.६० देखि ४.०० भन्दा कम जीपीए प्राप्त गरेका छन् । यस्तै, २३ जना विद्यार्थीले ३.२० देखि ३.६० भन्दा कम जीपीए ल्याएका छन् भने १ जना विद्यार्थीले २.८० देखि ३.२० भन्दा कम जीपीए ल्याएका छन्।

पोखराको पाखिलेचोक स्थित प्रतिभा माध्यमिक विद्यालयका ५ जना विद्यार्थी विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न ढकाल र स्विकार पौडेलले ४.० जिपिए ल्याएका थिए ।

विद्यालयबाट कुल १०७ विद्यार्थी सहभागी भएकोमा ३.६ जिपिएभन्दा माथि ल्याउने ४७ जना र ३.२ जिपिएभन्दा माथि ल्याउने ४५ जना छन् । यस्तै १४ जनाले २.८ जिपिएभन्दा माथि र १ जनाले २.४ जिपिए ल्याएको छन ।

पोखरा महानगरपालिका -१२ मा संचालित ग्लोबल कलिजियट माध्यमिक विद्यालयका ३ विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन्। आर्य, अविप्सा र स्मृतिले यो सफलता हात पारेको विधालयका संस्थापक बाबुराम पन्तले गुरुकुल खबरलाई जानकारी दिए ।

कुल परीक्षार्थीमध्ये ५८ विद्यार्थीले ३.६ भन्दा माथि जिपिए ल्याएका छन्। त्यसैगरी ४० विद्यार्थीको ३.२ भन्दा माथि जिपिए आएको छ। १७ विद्यार्थीले २.८ भन्दा माथि जिपिए प्राप्त गरे भने ५ विद्यार्थीको २.८ भन्दा कम जिपिए आएको छ।

पोखरा १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले उच्चतम अंक ४ .० जीपीए प्राप्त गरेकी छन । उक्त विद्यालयबाट यस वर्षको परीक्षामा कुल ३२ जना विद्यार्थी सहभागी भएका थिए ।

नतिजाको विवरणअनुसार विद्यालयका ६ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए (ए प्लस) ल्याउन सफल भए । त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए (ए) हासिल गरेका छन् । परीक्षामा सहभागी अन्य ११ जना विद्यार्थीले पनि उत्कृष्ट अंकका साथ सफलता पाएको विद्यालयका प्रिन्सिपल षडानन्द गौतमले गुरुकुल खबरलाई जानकारी दिए ।

पोखरा महानगरपालिका -४ मा रहेको फेवा पब्लिक स्कुलका विद्यार्थी करण बयलकोटीले उच्चतम् ४.० जिपिए हासिल गरेका छन् । यसपटक परीक्षामा सहभागी भएका सबै २१ जना विद्यार्थी नै उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

नतिजाको विवरणअनुसार ४३ प्रतिशत विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए ल्याएका छन्। यस्तै ३८ प्रतिशत विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए प्राप्त गरे। बाँकी १९ प्रतिशत विद्यार्थी २.८ देखि ३.१९ जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।

पोखराको छोरेपाटन माध्यमिक विद्यालयका ३ जना विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले ४.० जिपिए हासिल गरे । यसपटक विद्यालयबाट कुल १८१ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

तीमध्ये ३४ जनाले ३.६ देखि ३.९९ जिपिए ल्याएका छन् । यस्तै ५१ जनाले ३.२ देखि ३.५९ जिपिए प्राप्त गरे ।  कुल विद्यार्थीमध्ये ८५ प्रतिशत अर्थात् १५४ जना ग्रेडेड हुन सफल भएको प्राचार्य डिल्लीराम शर्मा भुषालले गुरुकुल खबरलाई जानकारी दिए

यसैगरी पोखराको चाउथेस्थित पोखरा पब्लिक स्कुलका २ जना विद्यार्थी रोनिस खत्री र सक्षम पौडेलले ४.० जिपिए अंक पाएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार उक्त विद्यालयबाट एसइईमा कुल ६४ जना विद्यार्थी सहभागी भएकोमा ३.६१ देखि ४.० जिपिए ल्याउनेको संख्या १७ छ ।

त्यसैगरी ३.२१ देखि ३.६० अंक ल्याउने २७ जना र २.८१ देखि ३.२० सम्म अंक ल्याउने २० जना विद्यार्थी रहेको छ । विसं २०७१ मा सोही स्कुलका सागर काफ्ले कास्की जिल्ला प्रथम भएका थिए । यस्तै विसं २०७२ मा सन्देश तिमिल्सिना जिल्ला प्रथम हुनुका साथै नेपालभरबाटै द्वितीय भएको प्रिन्सिपल केसीले जानकारी दिए ।

पोखराको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयका २ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएका छन् ।  उक्त बिधालयबाट ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीको संख्या १८ छ ।

त्यसैगरी १५ जना विद्यार्थीले ३.२ देखि ३.६ सम्मको जिपिए प्राप्त गरेका छन् । २.७० देखि ३.२ सम्मको जिपिए ल्याउने विद्यार्थी २९ जना रहेको विद्यालयले जानकारी दिएको छ । अधिकांश विद्यार्थीले उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका छन् ।

पोखराको फूलबारीस्थित भाष्कर मेमोरियल स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्सव शर्माले उच्चतम् ४.० जिपिए हासिल गरेको छन । परीक्षामा भाष्करबाट ५१ जना विद्यार्थी सहभागी भएको र सबै विद्यार्थी उत्कृष्ट अंकका साथ उत्तीर्ण हुन सफल भएको विधालयका संस्थापक विश्वराज बाँस्तोलाले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैगरी कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएकी छन् । विद्यालयबाट ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ५२ जना ग्रेडेड भएका छन् । यो ९४.५५ प्रतिशत उत्तीर्ण नतिजा हो ।

शोभाकी दिदी सुश्मा गौतमले ३.९१ जिपीए प्राप्त गरी विद्यालयमा द्वितीय स्थान हासिल गरेकी छन् । यसैगरी अर्की छात्रा सुष्मा विकले ३.९० जिपिए प्राप्त गरेकी छन्। तथ्यांकअनुसार ३.६ देखि ४.० जिपिए ल्याउनेको संख्या ११ छ ।

यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने २४ जना र २.८ देखि ३.२ जिपिए ल्याउने १६ जना छन् । १ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याए । २.४ जिपिएभन्दा कम ल्याउने विद्यार्थी संख्या शून्य रहेको विद्यालयले जनाएको छ । ३ जना विद्यार्थी भने ननग्रेडेड (एनजी) भएका छन् ।

यसैगरी पोखराको छोरेपाटनस्थित शिशुकल्याण सेकेन्डरी बोर्डिंग स्कुलबाट विप्लब तिमिल्सिनाले उच्चतम अंक ४ जीपीए प्राप्त गरेका छन उक्त बिधालयबाट २९ जना बिधार्थीले यस बर्षको माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको उक्त बिधालयका मदन बरालले गुरुकुल खबरलाई जानकारी दिएका छन।

पोखरा महानगरका ५ वटा  विद्यालयको नतिजा भने निकै कमजोर देखिएको छ । अमरसिंह मावि (खुला विद्यालयतर्फ) बाट ८ जना सहभागी भएकामा कोही पनि ग्रेडेड हुन सकेनन् । यो विद्यालयको नतिजा शून्य प्रतिशत रहेको छ ।

५ प्रतिशत नतिजा ल्याएको शुक्रराज बलभद्र मावि दोस्रो कमजोर स्थानमा छ । १७.८६ प्रतिशत नतिजा ल्याएको विष्णु पादुका मावि हेमजा, २१.४३ प्रतिशत उत्तीर्ण भएको माउन्ट हेभन इङ्लिस स्कुल र २२.२२ प्रतिशत नतिजा ल्याएको मैत्रेय पाठशाला पनि कमजोर नतिजा ल्याउने विद्यालयमा परेका छन् ।

२९ बैशाख २०८३, मंगलवार २०:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा