पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१५ टुटुङ्गा बसपार्क क्षेत्रमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट ६३ हजार ३२० रुपैया नगद र ४ बुक तास समेत बरामद भएको कास्की जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।
उनिहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
जबर्जस्ति करणी मुद्दामा जेलबाटै भागेका तामांग पक्राउ
यसैगरी जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अबस्थामा गत २०७० साल माघ १२ गते कास्की कारागारबाट भागेर फरार रहेका हेमकुमार तामांगलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ बाझपाटन बस्ने बर्ष ३२ का तामाङलाई पोखरा महानगरपालिका वडा न. १३ दुई कुलाको मुहानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि कास्की कारागारमा बुझाइएको सुचना अधिकारी बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।
लागु औषधसहित ५५ बर्षीय केसी र २९ बर्षीय घिसिंग पक्राउ
यसैगरी पोखरा महानगरपालिका वडा नं. १५ चोरसाँघु क्षेत्रमा लागु औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ बस्ने बर्ष ५५ को हेमकमल के.सी.लाई पक्राउ गरेको छ ।

केसीको घरकोठा खानतलासी गर्दा लागू औषध डाईजेपाम- ८७ एम्पुल, फेनारगन- ८७ एम्पुल, ब्रुफिनुर्फिन- ८७ एम्पुल गरी जम्मा २६१ एम्पुल र लागू औषध गाँजा ३९० ग्राम समेत बरामद भएको थियो केसीलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा महानगरपालिका वडा नं. २७ रिठ्ठेपानी क्षेत्रमा लागू औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले २९ बर्षीय भरत घिसिंगलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका -२७ रिठ्ठेपानी बस्ने घिसिङको साथबाट लागूऔषध डाईजेपाम- ११५ एम्पुल, फेनारगन- ११५ एम्पुल, ब्रुफिनुर्फिन- ११५ एम्पुल गरी जम्मा ३४५ एम्पुल, मोवाईल थान १ र नगद रु.१,०००।- र मोटरसाइकल सहित बरामद भएको प्रहरीले जनाएको छ निज घिसिंगलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।














