दमौली, तनहुँलाई कार्यक्षेत्र बनाएर झण्डै तीन दशक देखि पत्रकारिता क्षेत्र र राजनीतिमा आवद्ध पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीलाई साथीभाई र शुभचिन्तकले भेटेपछि ‘शुभरात्री’ भनेर सम्बोधन गर्ने गर्दछन् । अधिकारीलाई शुभरात्री भनेर सम्बोधन गर्नुको कारण हरेक राती अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत समसामयिक घटनाक्रम , सामाजिक र राजनीतिक विषयमा टिप्पणी गर्दा शुभरात्री भनेर लेख्ने गरेकोले बताइएको छ ।
अधिकारीले गर्ने टिप्पणीलाई उनका साथीभाई र शुभचिन्तकहरुले निकै चासोका साथ लिने गरेका छन् । एक दिन अधिकारीले शुभरात्री लेख्न विर्सिए भने भोलिपल्ट बिहान चियापसल देखि अन्य स्थानमा साथीभाई र शुभचिन्तकहरुले खै शुभरात्री पढ्नै पाइएन भनेर प्रश्न गर्दछन् । पछिल्लो पटक अधिकारीले कांग्रेस सभापति गगन थापा प्रति लक्षित गर्दै लेखेको ‘ बैशाख भित्र नियमित महाधिवेशन गर्ने ल्याकत विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापामा छैन भने थापा सभापतिको कुर्सीमा बस्नुको औचित्य छैन ।शुभरात्री ” निकै चर्चामा रहन पुग्यो ।
किनकि अधिकारीले राती सामाजिक सञ्जालमा उक्त स्ट्याटस लेखेका थिए भोलिपल्टै बिहान सञ्चार माध्यममा थापाले राजीनामा दिएको विषय स्थानीय संचार माध्यममा हेडलाइन बनिरहेका थिए ।त्यतिबेला अधिकारीलाई सभापति थापाको राजीनामा गराएरै छाडियो भन्दै धेरैले भनेका थिए ।
अघिल्लो बर्ष तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव समापनको साँझ लेखेको ‘सिङगो गाउँ नै थर्किने गरी बाजा बज्यो तर मुखियाले भने सुनेन ।शुभरात्री । ’भनि लेखेको स्टयाटसले पनि निकै चर्चा पाएको थियो । राजनीतिक पृष्ठभूमि समेत रहेका अधिकारीले जेनजी आन्दोलन पछि लेखेको फागुन २१ को निर्वाचनको नतिजा र जेनजी आन्दोलनको भावनालाई मध्यनजर गर्दै ‘व्यास नगरपालिका सहित तनहुँका अन्य स्थानीय तहमा कांग्रेसको तर्फबाट युवा पुस्ता मैदानमा उत्रिन तयार रहेको जानकारी गराउँदछु ।शुभरात्री ।’ भनि सामाजिक सञ्जालमा लेखेको स्टयाटसले कांग्रेस पार्टी भित्र बहस सृजना गरेको थियो ।
उनले हरेक साँझ लेख्ने शुभरात्रीमा एक किसिमको खबरदारी हुने गर्दछ । शुभरात्री स्तम्भ मार्फत सामाजिक तथा राजनीतिक विषयलाई उठान गर्दा निकै आनन्दको अनुभूति हुने गरेको र आफूले झण्डै एक बर्ष देखि शुभरात्री स्तम्भलाई निरन्तरता दिदै आईरहेको अधिकारी बताउँछन् । यद्यपी शुभरात्री स्तम्भमा आउने नकारात्मक प्रतिक्रियाले भने अधिकारीको चित्त दुखेको छ । खासगरी पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई मन नपरेको विषयमा झोले भनेर दिने प्रतिक्रिया प्रति चिन्ता ब्यक्त गर्दै उनले आफूलाई परिवर्तनको सम्वाहक भन्ने राजनीतिक दल र तिनका कार्यकर्ताहरु सच्चिनु पर्नेमा जोड दिए । ‘शुभरात्री’ स्तम्भलाई निरन्तरता दिने सोचमा रहेको अधिकारी बताउँछन् ।
अधिकारीका शुभरात्री स्तम्भका केहि स्टेटस
‘प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन, अलि हजम भएन कि ? बरु संसद भित्रकै सदस्यको संयोजकत्वमा कार्यदल गठन गरेको भए संसदको गरिमा रहने थियो कि ? शुभरात्री ।’
‘एमालेको आन्दोलन जारी रहँदै गर्दा जेनजी आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई लागेजस्तो धब्बा बालेन सरकारलाई नलागोस् । शुभरात्री ।’
‘मुलुक समृद्धि तर्फ अगाडि बढाउने कार्यमा नयाँ सरकारलाई सफलता मिलोस् । यस अगाडिको सरकारका पालामा जस्तो दैनिक सयौंको संख्यामा युवा रोजगारीका लागि त्रिभुवन विमानस्थलबाट बाहिरको र विदेशी भुमिमा आकाशको तारा बिलाए जस्तै नेपाली युवाहरूको सपना बिलाएर बाकसमा फर्किनु परेको कारूणिक दृश्य देख्नु नपरोस् । हिन्दी फिल्म नायकमा अनिल कपुरले निर्वाह गरे जस्तो भुमिका प्रधानमन्त्री बालेन शाह र उनको मन्त्रिमण्डलका सदस्यले गरून ।नयाँ सरकारलाई हार्दिक शुभकामना । शुभरात्री ।’
‘आयोगले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दैगर्दा त्यो दिनको घटना याद आयो । काङ्ग्रेसको पार्टी कार्यालय जोगाउन खोजेको भन्दै अराजक समुहले म माथि झण्डै आक्रमण गरेको थियो ।शुभरात्री ।’ पनि चर्चामा रह्यो ‘
यसैगरी नेपाली काँग्रेसका पुर्व सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन बनेका सभापति गगन थापाको हठ र अहङकारले काङ्ग्रेस पार्टी धराशायी बनाउने छुट छैन ।काङ्ग्रेस पार्टी देउवा र थापाको बिर्ता होइन, दुबै नेताले विश्राम लिदाँ हुन्छ । देउवा र थापा बिना नि काङ्ग्रेस पार्टी चल्छ । शुभरात्री ।’















