Play

गोर्खाको मनकामना मन्दिर, जनविश्वास र मनकामना सम्मको पैदल यात्रा

गुरुकुल खबर


  • सुनील उलक / पोखरा 

२००६ सालको चैतमा बुबा र आमा हिडेर मनकामना दर्शन गरेर पोखरा पुग्नुभएको थियो । त्यो बेला पनि मनकामना दर्शन गर्ने इच्छा धेरैले बोकेका हुन्थे । २०५५ सालसम्म मनकामना मन्दिरमा केवलकार नजोडिदा सम्म हिडेर नै जानुपर्दथ्यो । पृथ्वी राजमार्गको आँबुखैरनी चोकदेखि करिव ५०० मीटर गोर्खा तर्फको बाटो हिडेपछि दायाँ तर्फ १०० मीटर तल लागेपछि झोलुङ्गे पुल आउँथ्यो । यहीँ झोलुङ्गे पुल तरेर उकालो लाग्दै तीन घण्टामा मनकामना मन्दिर पुग्न सकिन्थ्यो ।

३० वर्ष अगाडि सम्म आँबुखैरनी ठूलो बजार भएकै थिएन । गोरखा तर्फको सडकमा केही घरहरु मात्रै थिए । झोलुङ्गे पुल तरेपछि हल्का उकालो लाग्दै तेर्सो तेर्सो हिड्नुपर्थ्यो । मलाई याद छ, बाटोमा ठेकीमा ताजा दही तथा चिया पसलहरु भेटिन्थे । डाँडागाउँ, ढाडबारी, बारबोटे हुँदै मनकामना मन्दिर पुगिन्थ्यो । कष्टसंग पुग्नु पर्ने हुँदा मनकामना देवीले भक्तहरुको मनकामना पूरा गरिदिनुहुन्थ्यो होला भन्ने लाग्दथ्यो ।

                                            ( तस्बिरमा हिडेर मनकामना पुग्ने बाटो तथा मर्स्याङ्दीमा रहेको झोलुङ्गे पुल )

पहिले मनकामना मन्दिर पुग्न पनि ३-४ दिनको तालिका बनाउनु पर्थ्यो । पहिलो रात आँबुखैरनी बास हुन्थ्यो । दोश्रो रात मनकामना मन्दिर नजिकै बास हुन्थ्यो । तेश्रो दिन बिहान दर्शन गरेर फर्किदा छिटो भए र गाडी पाए आफ्नै घर पुगिन्थ्यो । अन्यथा त्यो रात पनि आँबुखैरनीमा बिताएर चौथो दिन घर पुगिन्थ्यो । तर अचेल केवलकारले गर्दा बिहान हिड्यो, राती फर्केर आफ्नै घर पुग्न सकिन्छ ।

मनकामना मन्दिरबारेको जनविश्वास 

मनकामना मन्दिर गोरखाको दक्षिणमा रहेको अग्लो काफल डाँडामा रहेको छ । काफ्याक गाउँकै धनदेउ गुरुङले खेत जोत्ने क्रममा कालो ढुङ्गा हलोको सियो लागेर दुध र रगत बग्न थाले पछि साक्षात भगवान मानेर थान बनाइ पूजेका थिए भन्ने भनाई छ । बि.सं. १६९० मा स्वर्गिय भएका राजा राम शाहको रानी लिलावती वा चन्द्रमुखी नै मनकामना माईको रुपमा प्रकट भएको भन्ने जनविश्वास रहेको छ।

प्रचलित किंवदन्तीका अनुसार आफ्नी रानीलाई भगवतीको साक्षात रुपमा देखेका राजाको मृत्यु भएपछि राजाको साथ सती जान लागेका रानी लिलावतीले आफ्ना विश्वासिला दरवारिया कर्मचारी लखन थापालाई म फेरी तिम्रै गाँउमा प्रकट हुनेछु भनेका थिए रे । नभन्दै करिव सात महिना पछि काफ्याक गाउँका धनदेउ गुरुङले वारी जोत्ने क्रममा हलोको सियो अड्केर ढुङ्गाबाट रगत र दुध बग्न थालेपछि त्यहि ढुङ्गालाई नै माईको रुपमा पूजा गर्न थालिएको भन्ने किंवदन्ती छ।

कतिपय प्रमाणका आधारमा मनकामना माईको संरक्षण शुरुमा गुरुङहरुले नै गर्दथे । कुन बेला कसरी थापा मगरहरु यसका पूजारी बनेका थिए भन्ने किंवदन्तीहरु बाहेक अन्य आधारहरु भेटिदैन । शुरुमा गाउँलेहरुले माई थान भनेर पूजा गर्दथे । पछि बिस्तारै चिताएको कुरा माई थानमा पूजा गरेर माग्दा पुरा हुन थाले पछि मनकामना माई भन्ने गरियो । लखन थापाले थान बनाएर पूजाको थालनी गरेको हुँदा उनकै सन्तान दरसन्तान नै यस मन्दिरको पूजारी बन्ने परम्परा रहन गएको भन्ने विश्वास गरिन्छ । हाल पनि यस मन्दिरमा मगर पुजारी रहने गरेको छ।

पुरानो माई-थान रहेको ठाउँमा मन्दिर भने राम शाहका चौथो पुस्ताका राजा पृथ्वीपति शाहले बनाइदिएका हुन् । पृथ्वीनारायण शाहले उपत्यका विजय गर्न नसकेपछि मनकामना माईको भाकल गरि विजय प्राप्त गरेको भन्ने पनि गरिन्छ । उपत्यका विजय गरेपछि राजा पृथ्वीनारायण शाहले आफ्नो राजधानी काठमाडौ सारेर बिशाल गोरखा राज्यको अधिपति बने । तर आफ्नो भाकल भने बिर्सिए । यसरी राजाले भाकल पुरा नगरे पछि रिसाएका मनकामना माईले एक रात काफ्याक गाउँका एक ब्यक्तिलाई सपनामा मानव बच्चाको बलि तथा तातो रगत मागे । अन्यथा बिघ्न आउने चेतावनी दिए । यसले गर्दा गाउँमा त्रास फैलियो । गाउँका कोही पनि आफ्नो बच्चालाई माईका लागि बलि दिन स्विकार भएनन्।

यसरी त्रास र अन्योलका बिच राजासंग सहयोग माग्ने निर्णय गरि केही गाउँले काठमाडौमा राजा सामु मनकामना माईको इच्छा सुनाउन तथा त्यसको समाधानका लागि बिन्ति गरे । राजाले उपत्यकाका प्रख्यात गुभाजू ज्ञानकार बाँडालाई गाउँले साथ काफ्याक पठाएर तान्त्रिक बिधिबाट मनकामना माईको इच्छा पूर्ण गर्न पठाए । गुभाजू ज्ञानकार बाँडाले मनकामना माईको सामु पुगेर अनुष्ठान गर्दै तान्त्रिक शक्तिले दिव्यबालक पैदा गरि सोही बालकको बली दिएर मानव मासु र ताजा रगत चढाइ मनकामना माईको इच्छा पुरा गरिदिए । यसरी पून मनकामना माई शान्त हुन पुगेको मानिन्छ।

यसरी मनकामना माईको वर्षबन्धन पूजा गरेपछि पृथ्वीनारायण शाहले मन्दिरमा घण्ट चढाएका थिए । घण्टमा बि.सं. १८२८ बैशाख पूर्णिमा लेखिएको हुँदा गुभाजू ज्ञानकार बाँडाले गरेको पहिलो अनुष्ठान यहि मिति रहेको मान्न सकिन्छ । यसरी उपत्यकाका गुभाजू ज्ञानकार बाँडाले मनकामना माईको बिशेष अनुष्ठान गरेको क्रमलाई हालसम्म पनि वर्षको दुइ पटक कार्तिक शुक्ल पूर्णिमा तथा बैशाख शुक्ल पूर्णिमामा वर्षबन्धन पूजा गर्ने गरिन्छ । यसका लागि काठमाडौ झ्यावहाःका गुभाजू सरिक हुने गर्दछ।

( करिब १५ करोड खर्च गरेर जीर्णोद्धार गरिएपछि मनकामना मन्दिरको हालको स्वरूप )

बि.सं. १८५० बैशाख शुक्ल परेवाका दिन रण बहादुर शाहले तथा १८९८ माघ कृष्ण नवमीका दिन राजा राजेन्द्र वीर बिक्रमले नेवारहरुलाई चौधराईको पद दिएर मनकामना मन्दिरको धन्सार हेर्ने तथा अन्य जिम्मा दिएका थिए । १८५० मा चौधराइ पाएका रुपनारायण तथा १८९८ मा चौधराइ पाएका राजेन्द्र नेवारका सन्तती अझै पनि मनकामनामा नै रहेका छन।

१८५९ मा चार दाजुभाइ सुरवीर, करवीर, फोदसिंह र खड्गसिंहले सुनको परतले मोडेको मन्दिर बाहिरको ढोका चढाएका थिए । यस मन्दिरमा शाह राजाहरु दर्शन गर्न पुगिरहने गर्दथे साथै केही न केही चढाउने पनि गर्दथे । त्यस्तैमा १८६९ मा राजा गिर्वाणले ठूलो घण्ट चढाएका थिए । बि.सं. १८८७ कार्तिक वदी ८ मा मन्दिरका पुजारी श्रीकृष्ण थापालाई हटाएर बलवन्त थापालाई नियुक्त गरिएको थियो । उनलाई दिइएको नियुक्तिको आदेशमा मन्दिरको २०० मुरी बराबरको धान खेत तथा बिभिन्न जरिवाना तथा करबाट उठ्ने वार्षिक १०० रुपैयाले मन्दिरको खर्च गर्नुपर्ने लेखिएको थियो । जुन रकमबाट बैशाख र कार्तिकमा धार्मिक समारोहका लागि ३६-३६ रुपैया खर्च गर्नपर्ने तथा बाकी रहेको २८ रुपैयाले दशैका लागि गरगहना बनाउन खर्च गर्नुपर्ने उल्लेख गरिएको थियो ।

१९२८ मा राजा सुरेन्द्रले तामाको छाना चढाएका थिए । बि.सं. २०१६ सालमा तामाको छाना चुहिन थालेपछि जस्ता पाता छाइएको थियो जुन २०२६ सालमा राजा महेन्द्रले फेरी तामाको छाना नै छाउन लगाएका थिए । यस्तै बि.सं. १९६१ मा पाटनका हर्षमान महर्जनले सुनको जलप चढाएको मूल ढोका चढाएका थिए । देशको सबैभन्दा धनि मन्दिरमा पर्ने यो मन्दिरको कूल ७६५९ रोपनी जमिन थियो । अहिले कति बाकि छ थाहा भएन । २०७२ सालको भूकम्पले मन्दिरलाई निकै कमजोर बनाइदिएको थियो । यस पछि नेपाल सरकारको ४ करोड सहयोग तथा भक्तजनबाट ८ करोड संकलन गरेर रु १२ करोड खर्चेर मन्दिर पूननिर्माण भएको छ।

( सुनिल उलक नेपालका दुर्लभ फोटोहरुको संकलक तथा ईतिहासबिदको रुपमा समेत चिनिन्छन, प्रस्तुत सामग्री उनको फेसबुक पेजबाट लिईएको हो  )

२२ पुष २०८२, मंगलवार १०:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा