पोखरा, पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ७२ बर्षको इतिहासमा संघको नेतृत्वमा पहिलोपटक महिला पुगेकी छन । पोउबासंघको ३६ औं अधिवेशनमा तिनजना अध्यक्षका उमेदवारहरु ( पुरुष) लाई पछाडी पार्दै संघको नेतृत्वमा पहिलो पटक महिला उमेदवार शोभा गौतम निर्वाचित भएकी छन । संघको साधारण सदस्य लिएको एक दशकको अबधिमा नै नेतृत्वमा पुग्न सफल भएकी उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् । शोभासंग अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्य प्रतिष्पर्धामा थिए । अध्यक्षमा निर्बाचित शोभाले ७ सय ५१, अर्जुनले ६ सय ३७, उत्तमले ६ सय १ र बलरामले २ सय ५३ मत प्राप्त गरेका थिए ।

अध्यक्षमा निर्बाचित शोभा अघिल्लो कार्यकालमा महासचिबको जिम्मेवारीमा थिईन भने उनका निकटतम प्रतिष्पर्धी अर्जुन पोखरेल लगातार तीनपटक अध्यक्षको उमेदवार रहेर पनि पराजित हुन पुगे। यस पटक शोभासंग पराजित बनेका अर्जुन यस अगाडी गोकर्ण कार्की संग र त्यस अगाडी पवन प्रजापतीसंग पराजित भएका थिए। यसैगरी अर्का प्रतिद्वन्दी उत्तममान बुद्धाचार्य अघिल्लो कार्यसमितिको बरिष्ठ उपाध्यक्ष र बलराम आचार्य अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका थिए।
कार्यसमितिमा संगै रहेर काम गरेका उपाध्यक्ष आचार्य र बरिष्ठ उपाध्यक्ष बुद्धाचार्यलाई मात्र नभएर शोभाले यस अगाडी संघको बिभिन्न जिमेवारीमा रहेर काम गरेको अनि तेश्रो पटक पनि अध्यक्षको उमेदवार बनेका पोखरेललाई समेत पराजित गर्न सफल भएपछि शोभालाई प्रत्यक्ष रुपमा एबम सामाजिक संजालबाट धेरैले बधाई दिएका छन।
पोखरा उधोग बाणिज्य केहि महिलाहरुले कार्यसमितिको बिभिन्न जिम्मेवारीमा रहेर यस अगाडी पनि काम गरेका थिए। तर पनि अध्यक्ष पदमा प्रतिष्पर्धा गर्नेमा बिन्दु कोइराला सुबेदी र हीरा भट्टराई मात्र थिए, तर दुबैजना तत्कालिन अबस्थामा पराजित बन्न पुगे । उनीहरुमध्ये भट्टराई अहिले नेपाल उधोग बाणिज्य महासंघको कार्यसमितिको सदस्यको जिम्मेवारीमा छन भने कोइरालाले उधोग बाणिज्य संघको राजनीतिबाट करिब बिश्राम लिएको अबस्था छ।
तर मतदानमा सहभागी हुँदै गरेकी कोइरालाले महिलाको पक्षमा नै लबिंग गरेको थिईन। अधिकांश महिला र साना लगानीमा उधोग ब्यबसाय संचालन गर्नेहरु तथा स्वरोजगार ब्यबसायीहरुको सहयोगमा शोभाले अध्यक्ष पदमा निर्बाचित हुने अवसर प्राप्त गरिन। राजनीतिक रुपमा उनलाई नेपाली कांग्रेस समर्थक व्यवसायीको तुलनामा अन्य दलसंग निकट रहेका ब्यबसायीहरुको समर्थन रहन पुग्यो।

करिब साढे दुई दशक अगाडी पोउबासंघको कार्यालय अगाडिको सानो चिया पसलबाट शोभाको ब्यबसायिक यात्रा शुरु भएको हो। आंफ्नो चिया पसलबाट संघका पदाधिकारी एबम सदस्य र पाहुनाहरुको लागि चिया ओसार्ने गरेकी शोभा अब भने सोहि ठाउँ अर्थात पोखराको जेठो र निजि क्षेत्रको छाता संस्थाको रुपमा स्थापित पोखरा उधोग बाणिज्य संघको नेतृत्व गर्ने स्थानमा पुगेकी छन। यो उनका लागि मात्र नभएर साना र स्वरोजगार ब्यबसायीहरुको लागि समेत गर्बको कुरा हो उनले पछिल्लो कार्यकाल अर्थात महासचिब रहंदा अधिकांश ब्यबसायीहरुसंग प्रत्यक्ष भेटघाट गरेर पनि धेरैको मन जित्न सफल भएको बताइन्छ।
चिया पसलपछि पुष्पाञ्जली ब्युटी पार्लर हुँदै अगाडी बढेको उनको ब्यबसायिक यात्रा हाल सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा अगाडी बढेको उनले बताएकी छन । संघको कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेरा काम गरेकी उनी मानव सेवा आश्रम, लायन्स क्लब र अन्य संघ संस्थाहरूमा समेत सक्रिय रहँदै आएकी छन।अध्यक्षमा निर्बाचित भएपछि शोभाले आंफ्नो जितलाई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएको बताईन । ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ शोभाको भनाई छ।
अन्य पदमा को को निर्बाचित भए ? कसले कति मत पाए ?
पोखरा उधोग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोलाले १४ सय ८१ मत ल्याउदै विजयी भए भने उनका प्रतिद्वन्दी टिकाराम सुबेदीले ७ सय ६० मत प्राप्त गरे । महासचिबमा सुदिप प्रधानाङ्गले १ हजार २ सय २ मत ल्याउदा तारानाथ ढुंगानाले १ हजार ४२ मत प्राप्त गरे । संघको उद्योग तर्फको उपाध्यक्ष्मा सौगात थापाले १ हजार २ सय ७१ मत प्राप्त गर्दा ललित बहादुर कुँबरले ९ सय ७३ मत प्राप्त गरे ।
बाणिज्य तर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ १ हजार ६५ मत प्राप्त गदै विजयी बन्दा भीम गौतमले ९ सय १९ मत प्राप्त गरे । कोषाध्यक्षमा देबेन्द्र प्रजुले १ हजार ४ सय ३९ मत ल्याउदै विजयी भए भने जिबनप्रकाश श्रेष्ठले ७ सय ७७ मत प्राप्त गरे । उपमहासचिब पदमा प्रदीप राजभण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गदै बिजयी बने भने यादव प्रसाद पोखरेलले ६ सय ५८ मत र रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरे ।खुला सदस्यतर्फ १० जना चाहिनेमा १३ जनाको उम्मेदवारी परेको थियो ।
खुला सदस्यमा दुर्गा बरालले १ हजार ७ सय ४८ मत, अमृत पोखरेलले १ हजार ७ सय ३१ मत, निर्मला चापागाईले १ हजार ५ सय ८०, गोविन्दबहादुर केसीले १ हजार ४ सय ८७ मत, रामेश्वर अधिकारीले १ हजार ४ सय ७७, मनोहरी पौडेलले १ हजार ४ सय ७६, भानुभक्त अधिकारीले १ हजार ४ सय ७६ दिलीपकुमार श्रेष्ठले १ हजार ४ सय ४७ मत, रामप्रसाद कँडेलले १ हजार ४ सय ३५ र कमल बहादुर सुनारले १ हजार ४ सय २४ मत प्राप्त गर्दै विजयी भए ।
सदस्यका उमेदवारहरु नबिन नापीतले १ हजार ३ सय ४३, हरिप्रसाद अधिकारीले १ हजार ३ सय ४३ र सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत मात्र प्राप्त गरेकोले सदस्यमा निर्बाचित हुने अबसरबाट बन्चित रहन पुगे।

कस्तो थियो चुनाबी माहोल ?
यसपटकको चुनाबमा शोभा र बलरामको नेतृत्वमा पदाधिकारीहरुको प्यानल बनेको थियो भने अर्जुन र उत्तमले एकल रुपमा अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने प्रचार भएको थियो । तर, शोभाको प्यानल बनाउने र प्यानलमा रहनेहरुले इमान्दारी पुर्वक आंफ्नो प्यानलमा मतदान गरेको भएपनि बलराम नेतृत्वको प्यानल बनाउने ७ जना पुर्व अध्यक्षहरुमध्ये सम्भवत एकजना पुर्व अध्यक्ष बाहेक अन्य पुर्वअध्यक्षहरु मतदानको अघिल्लो दिन देखि नै बलराम बाहेक अन्य उमेदवारको प्रचारमा जुटेका थिए।
बलरामलाई अध्यक्षको उमेदवार बनाउन निर्णय गर्ने ७ जना पुर्व अध्यक्षहरु मध्ये केहि शोभाको पक्षमा, केहि उत्तमको पक्षमा र केहि अर्जुनको पक्षमा देखिएको र बलरामको प्यानलमा रहेका अधिकांश पदाधिकारीहरु समेत अर्जुनको पक्षमा लागेको कारण मतदान हुनु अगाडी नै बलरामको माहोल कमजोर देखिएको थियो। अर्जुनलाई पोखराका ठुला ब्यबसायीको रुपमा चिनिने केहि र केहि पुर्व अध्यक्षको समर्थन रहेपनि उनको लागि मत पुग्न सकेन। यसबाहेक पोखरा उधोग बाणिज्य संघको इतिहास जोडिएको परम्परागत शक्ति आन्तरिक बिबाद अनि केहि पदाधिकारीका उमेदवारको स्वार्थका कारण नेतृत्व लिने अबस्थामा पुग्नसकेन।
पोखराका ठुला ब्यापारी वा बिग हाउसेस भनेर चिनिनेहरु र अधिकांश पुर्व अध्यक्षहरुको समर्थन रहेको भनिएका उमेदवारलाई यसपटक साना ब्यबसायीहरुको मतले ठुलो धक्का दिएको छ। बास्तबिक ब्यापारीको रुपमा चिनिएका र पोखरा उधोग बाणिज्य संघको स्थापनादेखि लामो समयसम्म संस्थाको लागि योगदान दिएको भन्नेहरुलाई पनि यसपटक कडा धक्का पुगेको छ। तर, तल्लो तहबाट उठेर ब्यबसायसंगै बिभिन्न संघसंस्थामा क्रियाशील रहेकी अनि साना र स्वरोजगार ब्यबसायीको चाहना अनुरुप शोभाको बिजयले त्यस्ता ब्यबसायीहरुमा नयाँ उत्साहको संचार पनि हुनपुगेको छ।
बलराम प्यानलका सबै पदाधिकारी बिजयी हुँदा ललित कुँवर भने पराजित
कार्यसमितिमा निर्बाचित पदाधिकारी मध्ये ललित कुँवर बाहेक सबैजना बलराम आचार्य नेतृत्वको प्यानलमा नाम रहेकाहरु नै हुन। उनीहरुले मतदानको अघिल्लो दिनसम्म पनि प्यानलमा रहेका उमेदवारले दायाँबायाँ नगर्ने प्रतिबद्दता सामुहिक रुपमा व्यक्त गरेका थिए तर मतदानको दिन भने त्यस्तो अबस्था देखिएन। बलरामको प्यानलमा रहेकामध्ये दुईजना बाहेक अन्य पदाधिकारीले बलरामलाई मत समेत नदिएको टिप्पणी कतिपयले गरेका छन।
उधोग तर्फको उपाध्यक्षका उमेदवार रहेका ललित बहादुर कुँवर पनि आंफ्नो प्यानल प्रति इमान्दार रहंदा उनको नाम अध्यक्ष बलरामलाई मतदान गर्न भनि बनाइएको उमेदवारको लिस्टमा मात्र समाबेश भयो। तर, ललितका प्रतिद्वन्दी सौगात थापाको नाम शोभा गौतमको आधिकारिक प्यानलमा त रहेको थियो नै, त्यसबाहेक उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेललाई मतदान गर्न भनि बनाइएको लिस्टमा सौगातको नाम राखिएको थियो।

यसका साथै बलरामको प्यानलमा रहेका केहि पदाधिकारीको समर्थन समेत अध्यक्षमा अर्जुन र उधोग उपाध्यक्षमा सौगातलाई मिलेपछि ललित कुँवर चौतर्फी घेराबन्दीमा परेका थिए। सौगात थापाको पक्षमा सबैतिरको मत ल्याउन संघका पुर्व अध्यक्ष बिन्दु कुमार थापाले अध्यक्षका सबैजसो उमेदवार र अबको महाधिबेशनमा अध्यक्ष बन्न खोजेकासंग समेत रातारात सहमती कायम गरेको चर्चा चलेको छ । यसका बाबजुद कुँवर २९८ मतले मतले मात्र उपाध्यक्षमा पराजित हुन् पुगेका थिए। कुँवरलाई ९७३ र थापालाई १ हजार २७१ मत प्राप्त भएको थियो।











