पोखरा, पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन अन्तर्गतको मतदान आज बिहान ८ बजेबाट शुरु हुँदैछ। सामान्य प्रक्रिया मिलाउने र केहि तयारीका कारण अबको केहि समयमा मतदान हुने निर्बाचन समितिका संयोजक दामु अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार आइतबार बिहान ८ देखि साँझ ५ बजेसम्म गैह्रापाटनस्थित संघ परिसरमा मतदान हुनेछ । मतदान आइतबार साँझ सकिएपनि मतगणना भने सोमबार गरिने बताइएको छ। अहिले मतदानस्थल गैरापाटनमा मतदाता र समर्थकहरु जम्मा हुने क्रम बढ्दै गएको छ।
जारी महाधिबेशनबाट संघको अध्यक्ष बन्नको लागि बलराम आचार्य, शोभा गौतम, उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल चुनावी मैदानमा छन् । संघका सदस्य रहेका २ हजार ७ सय ३१ जनाले मतदान गर्न पाउने भएपानी बिगतमा जस्तो उत्साह यस पटक नदेखिएको कारण केहि कम मत खस्ने अनुमान गरिएको छ। चुनाबी दौडमा बलराम आचार्य र शोभा गौतमको नेतृत्वमा पदाधिकारीहरुका दुईवटा प्यानल बनेको छन भने अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्य एकल रुपमा अध्यक्षको प्रतिष्पर्धामा देखिएका छन।
मतदान नजिकिंदै जाँदा प्यानलमा रहेका केहि उमेदवारले प्यानल छाड्ने चर्चा समेत चलेको छ। प्यानलको अध्यक्ष छाडेर अर्को अध्यक्षलाई समर्थन सहित मतदान गरेमा चुनाबी नतिजा कसको पक्षमा जान्छ भनेर सहज अनुमान गर्न समेत नसकिने अबस्था छ। चारजना अध्यका उमेदवारहरुबिचको कडा प्रतिष्पर्धा भैरहंदा प्यानल भत्किने आशंका र चर्चासंगै पदाधिकारीको नतिजा समेत मिश्रित रुपमा आउन सक्ने सम्भावना पनि व्यक्त गरिन थालेको छ। यस्तो अबस्था सिर्जना भएमा संघको आगामी चुनाबमा समेत बिश्वासको संकट बढ्ने कतिपय उमेदवारको चिन्ता छ।
उमेदवारहरु को को छन ?
बलराम आचार्य नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षको उमेदवार दिनेशचन्द्र बाँस्तोलालाई बनाइएको छ। उनले दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष र एक पटक उपाध्यक्ष भएर काम गरिसकेका छन । यसैगरी बलरामको प्यानलमा एक कार्यकाल संघको उपसमितिमा मनोनित र अघिल्लो कार्यकालमा सर्बाधिक मत पाएर कार्यसमितिको सदस्यमा निर्बाचित ललितबहादुर कुँवरलाई उधोग तर्फको उपाध्यक्षको उमेदवार बनाइएको छ भने कार्यसमितिमा दुई कार्यकालसम्म सदस्य र एक कार्यकाल कोषाध्यक्ष बनेका मनोज कुमार श्रेष्ठलाई बाणिज्य उपाध्यक्षको उमेदवार बनाइएको छ।
यसैगरी एक कार्यकाल सदस्य र अर्को कार्यकाल उपमहासचिब बनेर काम गरेका सुदीप प्रधानांगलाई महासचिबमा र तिन कार्यकालसम्म सदस्य रहेका प्रदीप राजभण्डारीलाई बलरामको प्यानलको उपमहासचिबको उमेदवार बनाइएको छ। यसैगरी दुई कार्यकाल सदस्य रहेर काम गरिसकेका देबेन्सन प्रजुलाई कोषाध्यक्षको उमेदवार बनाइएको छ ।
शोभा गौतमको प्यानलमा बरिष्ठ उपाध्यक्ष राखिएका टिकाराम सुबेदी यस भन्दा अघिल्लो कार्यकालमा मनोनित सदस्य थिए भने उधोग उपाध्यक्ष राखिएका सौगात थापा अघिल्लो कार्यकालमा मनोनित र अहिलेको कार्यकालमा निर्बाचित सदस्य रहेर काम गरेका ब्यबसायी हुन।बाणिज्य तर्फका उपाध्यक्षका उमेदवार भीम गौतम भने संघमा दुईपटक लगातार कार्यसमितिको सदस्यमा निर्बाचित भएर काम गरिरहेका ब्यबसायी हुन ।
महासचिब पदका उमेदवार तारानाथ ढुंगाना बिगतमा एक पटक सदस्य भएर काम गरेपनि महासचिब पदको चुनाबमा बलराम आचार्यसंग पराजित भएपछि संघको राजनीतिमा त्यति सक्रिय देखिएका थिएनन। यसैगरी कोषाध्यक्षका उमेदवार जिबनप्रकाश श्रेष्ठले बस्तुगत संघबाट प्रतिनिधित्व गर्दै एक कार्यकाल मनोनित र अर्को कार्यकाल निर्बाचित सदस्य रहेर काम गरेको छन भने यादव प्रसाद पोखरेल अघिल्लो कार्यकालमा सदस्य पदका अर्का उमेदवार बिनोद केसीलाई १ मतले पछाडी पारेर सदस्य निर्बाचित भएका थिए ।
उपमहासचिब पदका उमेदवार रामचन्द्र तिमिल्सिना भने कुनै पनि प्यानलमा देखिएका छैनन यसैगरी खुला सदस्यतर्फ १० जना चाहिनेमा १३ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका उम्मेदवारहरूमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी हुन् ।
उत्कृष्ट बिधार्थी सहित बिभिन्न व्यक्तित्वलाई सम्मान
शनिबार शुरु भएको संघको ३६ औं महाधिबेशन एबम ७२ औं वार्षिक साधारण सभा उद्घाटनका अवसरमा कास्कीका बिभिन्न क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीलाई लक्ष्मी विद्या पदक प्रदान गरिएको थियो । लक्ष्मी विद्या पदक–२०८२ बाट स्नातकोत्तर (एमबिए) तर्फ जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक (बिबिए) तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना र स्नातक (बिबिएस) तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापालाई सम्मान गरिएको थियो।

लक्ष्मी ग्रुपका निर्देशक समेत रहेका नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले उनीहरुलाई पदक र पुरस्कार वितरण गरे । स्नातकोत्तरमा उत्कृष्ट हुनेलाई २५ हजार र स्नातक तहमा उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई माला, दोसल्ला, ताम्रपत्र र विद्या पदक प्रदान गरिएको थियो ।
सोही समारोहमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। यस्तै, संघका उत्कृष्ट कर्मचारीहरू सहायक निर्देशक सुनील क्षेत्री, सूचना अधिकृत वासुदेव मिश्र र प्राविधिक सहायक टीकाराम सुवेदीलाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सम्मानित बिधार्थी ज्योती तामांगले सम्मानका कारण जीवनमा अगाडि बढ्न थप हौसला र ऊर्जा मिलेको बताइन । पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं पदक सञ्चालन समिति सदस्य अमृतलाल श्रेष्ठले सम्मानित विद्यार्थीको परिचय दिँदै हालसम्म ७६ विद्यार्थी यो पदकबाट सम्मानित भइसकेको बताए ।
हिजोका करोडपति अहिले चाउचाउ र चिउरा मागेर खाने अबस्थमा छन – अध्यक्ष श्रेष्ठ
यस अगाडी महाधिवेशन एबम साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले रसुवा र भोटेकोशी क्षेत्रका बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि उद्योगी व्यवसायीलाई मन फुकाएर सहयोग गर्न आग्रह गरे। ‘हिजोका करोडपतिहरू बाढीका कारण अहिले चाउचाउ र चिउरा मागेर खाने अवस्थामा पुगेका छन, पुनर्निर्माणका लागि महासंघले सरकारसँग मिलेर काम गर्ने छ, तपाईं सम्पूर्ण व्यवसायीहरूले पनि मनकारी भएर सहयोग गर्नूस्।’ उनले सहयोगका लागि विश्वका ७० वटा उद्योग वाणिज्य संघलाई पत्र लेखेर अपिल गरिसकेको श्रेष्ठले जानकारी दिए।

नेपाल उधोग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताए। ‘राजनीतिक उथलपुथल वा प्राकृतिक विपद्मा सधैं उद्योगी व्यवसायी नै समस्यामा पर्छन्,’ उनले भने, ‘त्यसैले लगानी सुरक्षाको वातावरण निर्माणमा नेतृत्वले भूमिका खेलोस्।’ उनले पर्यटन क्षेत्र तहसनहस हुने अवस्थामा पुगेकाले पोखराको अर्थतन्त्रमा पर्ने असरबारे चिन्तन गर्न आवश्यक रहेको औंल्याए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ति गएको क्षेत्रबाहेक अन्य ठाउँ सुरक्षित रहेको सन्देश विश्वभर दिनुपर्ने बताए। संघका अध्यक्ष गोकर्ण कार्कीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे। कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष नरेश कँडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमबहादुर गुरुङ, पोखरा महानगरपालिका आर्थिक महाशाखाका प्रमुख मनहर कडरिया र गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले शुभकामना व्यक्त गरेका थिए।
सम्बन्धित समाचार ..
पोउबासंघको चुनाब: पदाधिकारीमा दुई प्यानल, अध्यक्षमा चार – तर कसको होला त हार ?














