Play

पोउबासंघको चुनाब: पदाधिकारीमा दुई प्यानल, अध्यक्षमा चार – तर कसको होला त हार ?

गुरुकुल खबर


  • गंगाधर पराजुली

पोखरा, पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभा आज शनिबार पोखरामा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको कारण महाधिबेशनको उधोगी र ब्यबसायीहरुको माझमात्र नभएर बिभिन्न राजनीतिक दल र आम सर्बसाधारणको माझमा पनि उत्तिकै चलेको छ। निजि क्षेत्रको छातासंस्थाको रुपमा रहेको पोखरा उधोग बाणिज्य संघको महाधिबेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले गर्ने आज शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम छ ।

अध्यक्षमा चारजनाको बिचमा प्रतिष्पर्धा 

यसपटकको महाधिवेशनबाट संघको अध्यक्षमा निर्बाचित हुनको लागि अध्यक्ष पदमा मात्र ४ जनाको बिचमा प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूमध्ये गौतम र आचार्यले पदाधिकारीहरुको प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन। नयाँ नेतृत्व लिनको लागि प्रतिष्पर्धामा उत्रिनेहरूमध्ये ३ जना उत्तम, बलराम र शोभा अहिलेको कार्यसमितिको बिभिन्न जिम्मेवारीमा संगै काम गरेका र अर्जुन पोखरेल भने अघिल्ला दुईवटा अधिबेशनमा अध्यक्षमा पराजित भएर तेश्रो पटक पनि अध्यक्ष बन्ने दौडमा लागेका व्यक्ति हुन।

अध्यक्षका आकांक्षीहरु मध्ये एकजना नेपाल बाहिर रहेको बेला तीनजना उमेदवारहरु उत्तम, बलराम र शोभाको बिचमा सहमति कायम गराउन भन्दै संघका केहि पुर्व अध्यक्षहरु सहित केहि अग्रज ब्यवासायीहरुले समेत पहल गरेको थिए । तर अध्यक्ष बन्ने दौडमा लागेका तीनजनाको बिचमा सहमती कायम हुनसकेन । तीनजना मिल्न नसकेको कुरा सार्बजनिक भएपछि बिदेशमा रहेका अर्जुनले तीनजना मध्ये कुनैलाई आँफुसंग मिलाएर चुनाब लडेमा अध्यक्ष जित्नसक्ने अनुमान लगाए । त्यसपछि उनि पनि उमेदवार बन्ने भन्दै अन्तिम अबस्थामा पोखरा आएर चुनाबी अभियानमा लागे, तर उनले पनि आंफ्नो पक्षमा कसैलाई ल्याउन भने सकेनन ।

अघिल्लो पटकको सहमती के थियो ?

यस अगाडीको संघको महाधिबेशनमा संघका बहुमत पुर्व अध्यक्षहरुले एक किसिमको प्रयास गरेर अर्जुन पोखरेलको प्यानल बनाएको थिए। जस अनुसार अध्यक्ष पदमा पोखरेल पराजित भएपनि उनको प्यानलमा रहेका सबै पदाधिकारीहरु कि त निर्बिरोध कि त मतदानबाट निर्बाचित बनेका थिए। अध्यक्षमा पोखरेलको ठाउँमा गोकर्ण कार्की लोकप्रिय मतका साथ निर्बाचित भए । पोखरेलले त्यस भन्दा अगाडी पवन प्रजापती संग पनि अध्यक्ष पदमा प्रतिष्पर्धा गरेर पराजित हुन पुगेका थिए।

अघिल्लो पटक प्यानल बनाएका पुर्व अध्यक्षहरुले यसपटक पनि प्यानल बनाउने प्रयास नगरेका हैनन। तर, अघिल्लो पटक अध्यक्ष पदको उमेदवार अर्जुनलाई बनाउने निर्णय गर्दा तत्कालिन बाणिज्य उपाध्यक्ष उत्तम र तत्कालिन महासचिब बलराम दुबैले बरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए। उत्तमले बरिष्ठ उपाध्यक्ष पद आंफुले पाउनुपर्ने दाबी गरे भने बलरामले पनि आँफु संघको कार्यसमितिमा धेरै कार्यकाल बिभिन्न जिम्मेवारीमा काम गरिसकेकोले आँफु नै बरिष्ठ उपाध्यक्ष बन्न पाउनुपर्ने दाबी गरे । अन्तिममा उनीहरु दुईजनाको बिचमा यस पटक अर्थात ३५ औं महाधिबेशनमा उत्तम बरिष्ठ उपाध्यक्ष र बलराम उपाध्यक्ष बन्ने अनि अर्कोपटक (३६ औं महाधिबेशन) बलराम अध्यक्ष पदमा चुनाब लड्ने र बरिष्ठ उपाध्यक्ष पदमा उत्तमले नै दोहोर्याउने सहमती कायम भयो।

सहमती कायम गराउने प्रयासले सार्थकता पाएन 

सोही सहमती अनुसार सबै पदाधिकारी अगाडी बढ्लान भन्ने अपेक्षा बिपरित एकै कार्यसमितिमा रहेका उत्तम, बलराम र शोभाको बिचमा अध्यक्ष पद नछोड्ने अडान पछि सहमति कायम गराउन पहल गरेकाहरु समेत निराश बन्न थाले। उत्तमले आँफु बरिष्ठ भएकोले रोलक्रम अनुसार आँफुले अध्यक्ष पाउनुपर्ने अडान राखे।

यसैगरी बलरामले आँफु लामो समय संघको बिभिन्न जिम्मेवारीमा रहेको र अघिल्लो पटक भएको सहमती अनुसार पनि आँफु नै अध्यक्ष बन्न पाउनुपर्ने अडान राखे । शोभाले आँफु अध्यक्षको दौडमा धेरै अगाडी बढेको कारण कुनै हालतमा नछोड्ने भन्दै व्यक्तिगत बाहेक अन्य बिषयमा बेवास्ता गरिन । यस्तै बिभिन्न कारणले उनीहरु तिनजनाको बिचमा सहमती कायम गराउने प्रयास केहि समय चलेपनि निरर्थक साबित भयो ।

बलराम नेतृत्वको प्यानलमा को को छन पदाधिकारीका उमेदवार  ? 

तीनजनाको बिचमा सहमती कायम हुन नसकेपछि निरन्तर प्रयास गरिरहेका ७ जना पुर्व अध्यक्ष सहितको टोलीले पुर्व सहमती अनुरुप नै बलरामलाई अध्यक्षको उमेदवारको रुपमा समर्थन गरे । उनीहरुले बलराम प्यानलका उमेदवार समेत जोडेर चुनाबी अभियानमा लाग्न प्रेरित गरे।

उक्त प्यानलमा कार्यसमितिको बिभिन्न जिम्मेवारीमा रहेकाहरुलाई नै समेटिएको छ। जस अनुसार संघमा बलरामको प्यानलको बरिष्ठ उपाध्यक्षको उमेदवार दिनेशचन्द्र बाँस्तोलालाई बनाइएको छ उनले दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष र एक पटक उपाध्यक्ष भएर काम गरिसकेका छन ।

यसैगरी बलरामको प्यानलमा एक कार्यकाल संघको उपसमितिमा मनोनित र अघिल्लो कार्यकालमा सर्बाधिक मत पाएर कार्यसमितिको सदस्यमा निर्बाचित ललितबहादुर कुँवरलाई उधोग तर्फको उपाध्यक्षको उमेदवार बनाइएको छ भने कार्यसमितिमा दुई कार्यकालसम्म सदस्य र एक कार्यकाल कोषाध्यक्ष बनेका मनोज कुमार श्रेष्ठलाई बाणिज्य उपाध्यक्षको उमेदवार बनाइएको छ।

यसैगरी एक कार्यकाल सदस्य र अर्को कार्यकाल उपमहासचिब बनेर काम गरेका सुदीप प्रधानांगलाई महासचिबमा र तिन कार्यकालसम्म सदस्य रहेका प्रदीप राजभण्डारीलाई बलरामको प्यानलको उपमहासचिबको उमेदवार बनाइएको छ। यसैगरी दुई कार्यकाल सदस्य रहेर काम गरिसकेका देबेन्सन प्रजुलाई कोषाध्यक्षको उमेदवार बनाइएको छ ।

शोभा नेतृत्वको प्यानलमा को को छन पदाधिकारीका उमेदवार ?

बलरामको प्यानल तयार भएपछि उक्त प्यानलमा पर्न नसकेका एबम कार्यसमितिमा सदस्य रहेर काम गरेका ब्यबसायीहरुलाई समेटेर शोभाले अर्को प्यानल सार्बजनिक गरिन। उनको प्यानल दुईजना पुर्व अध्यक्षहरुको निर्देशन अनुसार बनेको भनिएपनि यस बारेमा ति पुर्व अध्यक्षहरुले अझैसम्म मुख खोलेका छैनन ।

शोभाको प्यानलमा बरिष्ठ उपाध्यक्ष राखिएका टिकाराम सुबेदी यस भन्दा अघिल्लो कार्यकालमा मनोनित सदस्य थिए भने उधोग उपाध्यक्ष राखिएका सौगात थापा अघिल्लो कार्यकालमा मनोनित र अहिलेको कार्यकालमा निर्बाचित सदस्य रहेर काम गरेका ब्यबसायी हुन।

बाणिज्य तर्फका उपाध्यक्षका उमेदवार भीम गौतम भने संघमा दुईपटक लगातार कार्यसमितिको सदस्यमा निर्बाचित भएर काम गरिरहेका ब्यबसायी हुन । महासचिब पदका उमेदवार तारानाथ ढुंगाना बिगतमा एक पटक सदस्य भएर काम गरेपनि महासचिब पदको चुनाबमा बलराम आचार्यसंग पराजित भएपछि संघको राजनीतिमा त्यति सक्रिय देखिएका थिएनन।

यसैगरी कोषाध्यक्षका उमेदवार जिबनप्रकाश श्रेष्ठले बस्तुगत संघबाट प्रतिनिधित्व गर्दै एक कार्यकाल मनोनित र अर्को कार्यकाल निर्बाचित सदस्य रहेर काम गरेको छन भने यादव प्रसाद पोखरेल अघिल्लो कार्यकालमा सदस्य पदका अर्का उमेदवार बिनोद केसीलाई १ मतले पछाडी पारेर सदस्य निर्बाचित भएका थिए ।

बलरामको प्यानल भत्काउने प्रयास असफल

बलराम आचार्य नेतृत्वको प्यानल बनेको कुरा सार्बजनिक भएपछि अध्यक्ष पदका अन्य आकांक्षी अर्जुन लगायत केहिको प्रयासमा आचार्य नेतृत्वमा बनेको प्यानल भत्काउने प्रयास समेत गरिएको थियो । आचार्य नेतृत्वमा बनेका पदाधिकारीका उमेदवारहरुलाई तानेर आंफ्नो प्यानल बनाउने प्रयासमा सबैजसो अध्यक्षका आकांक्षीहरु प्रयासरत रहे । तर आचार्य नेतृत्वको प्यानल नफुट्ने निर्णयमा पुगेपछि शोभाले अर्को प्यानल बनाउन पुगिन भने अर्जुन र उत्तम एक्लाएक्लै चुनाबी अभियानमा दौडिनुपर्ने बाध्यता सिर्जना भएको हो ।

बस्तुगत र औधोगिक तर्फका ५ सदस्य निर्बिरोध

संघको कार्यसमितिको सदस्यमा केहि निर्बिरोध भएपनि केहि भने चुनाबी दौडमा छन वस्तुगत संघको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र औद्योगिक तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सदस्य निर्बिरोध निर्बाचित भएका छन । वस्तुगत संघ तर्फबाट सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल निर्बिरोध भएका छन भने औद्योगिक तर्फबाट पीताम्बर अधिकारी सदस्य बनेका छन ।

पदाधिकारीमा प्यानल बाहेकका एक्ला उमेदवार

कार्यसमितिको पदधिकारीका उमेदवारहरु मध्ये रामचन्द्र तिमिल्सिना एक मात्र त्यस्ता उमेदवार हुन,  उनि कुनै समूह अर्थात प्यानलमा जोडिएका छैनन । पदाधिकारीका अन्य उमेदवारहरु भने कि त बलरामको प्यानलमा जोडिएका छन कि त शोभाको प्यानलमा जोडिएका छन।

१० सदस्यका लागि १३ उमेदवार 

खुला सदस्यतर्फ १० जना चाहिनेमा १३ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका उम्मेदवारहरूमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी हुन् ।

उनीहरू मध्ये ८ जनाले आँफुहरुको संयुक्त टिम बनाएको प्रचार गरिरहेका छन जसमा अमृत पोखरेल, सूर्यराज घिमिरे, दुर्गा बराल, नबिन नापित, मनोहरी पौडेल, राम कंडेल, कमलबहादुर सुनार, र भानुभक्त अधिकारी हुन। सदस्यका उमेदवारहरु मध्ये ८ जनाको समुहका उमेदवारले आँफुहरु कुनै पनि गुट वा प्यानलमा नरहेको प्रचार गरेपनि त्यसमध्येको ५ जनाको समूहले बलराम आचार्य अध्यक्ष रहेको प्यानलको लागि सहयोग गरिरहेको चर्चा समेत चलेको छ ।

आचार्यको प्यानलमा रहेका पदाधिकारीहरुसंग व्यक्तिगत रुपमा जोडिएर उनीहरुले पनि प्यानलको प्रचार प्रसारमा सहयोग पुग्ने गरि काम गरेको कतिपयको भनाई छ सदस्यका केहि उमेदवार शोभा गौतमको प्यानलमा समेत जोडिएको बताईएको छ ।

अध्यक्षमा चुनाब जित्ने चारजनाकै दाबी

चुनाबी अभियानको अन्त्यतिर आइपुग्दा अध्यक्ष पदमा उमेदवारी दिएका चारजनाले आंफ्नो बिजय निश्चित रहेको दाबी गरिरहेका छन। अध्यक्षका उमेदवार अर्जुन पोखरेलले आँफु दुई पटकसम्म अध्यक्ष पदमा पराजित भएकोले यस पटक सहानुभुतीको मत पाउने दाबी गर्छन। उनले आँफुलाई अन्य उमेदवारको तुलनामा नेतृत्व गर्न सक्ने र उधोगी व्यवसायीको समस्या बोल्न सक्ने व्यक्तित्वको रुपमा प्रस्तुत गर्दै आएका छन।

यसैगरी अर्का उमेदवार उत्तममान बुद्दाचार्यले आँफु रोलक्रम अनुसार नै अध्यक्षको उमेदवार बनेको भन्दै आंफ्नो ब्यापारिक पृष्ठभूमीले पनि चुनाब जित्न सहज हुने दाबी गर्दै आएका छन ।

अर्का उमेदवार बलराम आचार्यले आँफु संघको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको कारण मात्र नभएर संघका अधिकांश पुर्व अध्यक्ष र अग्रज ब्यबसायीहरुको समर्थन आँफुलाई रहेको र आंफ्नो प्यानलमा रहेका साथीहरुको मतदाता ब्यबसायीहरुमाझ राम्रो प्रभाव रहेको कारण अध्यक्ष सहित सबैजसो साथीहरुको जीत निश्चित रहेको दाबी गर्छन ।

यसैगरी शोभा गौतमले आँफु अधिकांश मतदाताकोमा पुगेको र उनीहरुले आँफुलाई मत दिने बिश्वास दिएको भन्दै संघको इतिहासमा हालसम्म महिला अध्यक्ष बन्न नसकेकोले आँफु पहिलो महिला अध्यक्ष बन्ने दाबी गरिरहेकी छन।

मतदातासंग अझै पुगेका छैनन् उमेदवारहरु 

आज शुरु हुने महाधिबेशन अन्तर्गत भोलि आइतबार मतदान हुने भएपनि कतिपय मतदाता समक्ष उमेदवारहरु अझै पुग्नसकेका छैनन। संघका एक मतदाता निराजन अधिकारीले गुरुकुल खबरसंग भने, “जसले मत माग्छ, त्यसलाई मत दिने सोच बनाएर बसेको छु, तर अझैसम्म कुनै उमेदवारले न त भौतिक रुपमा नै भेटेर मत मागेका छन,  न त फोन गरेर नै मत मागेका छन, त्यसैले मतदान गर्न जान पनि त्यति उत्साह छैन।”

उनको जस्तै बिचार अर्का मतदाता राजबहादुर गुरुङको पनि छ, ‘सबै जसो उमेदवारहरु चिनेजानेको साथीभाइ जस्तै छन, तर उनीहरुले मतदाताको रुपमा अझैसम्म म संग मत मागेका छैनन। उनीहरुको यस्तो प्रवृति देख्दा उमेदवारहरु मतदाता ब्यबसायी भन्दा बाहिर रहेका  आमसर्बसाधारण संग भेट्ने र मत माग्ने काममा समय खर्च गर्नमा ब्यस्त भएका हुन कि भन्ने लागेको छ।”

को बन्ला त अबको अध्यक्ष ?

अध्यक्षका उमेदवारहरुले जे जसरी आंफ्नो पक्षमा नतिजा आउँछ भनेर दाबी गरेपनि जीत कसको होला भनेर ठ्याक्कै भन्न सकिने अबस्था भने छैन। करिब २७ सय मतदात रहेको संघको यसपटकको निर्बाचनमा २३ सयको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ। अध्यक्षका चारजना उमेदवारहरुको बिचमा तिब्र प्रतिष्पर्धा भएमा अर्थात ५ सय मतभन्दा बढी मतसबैले पाएमा ७ सय भन्दा बढी मत प्राप्त गर्ने उमेदवारले नै अध्यक्ष पदमा चुनाब जित्ने अबस्था रहेको छ।

यदि कुनै उमेदवारहको मत ५ सय भन्दा पनि कम आउने अबस्था रहेमा १ हजारको हाराहारीमा मत पाउने उमेदवारले नै अध्यक्ष पदमा बिजय प्राप्त गर्नसक्ने देखिन्छ। थोरै मत पाएर पनि चुनाब जित्ने अबस्था सृजना भएको कारण राजनीतिक, जातीय, भौगोलिक, ब्यबसायिक विधा र नातागोता लगायत बिभिन्न बहानामा आंफ्नो मत सुरक्षित गर्ने अभियानमा अध्यक्षका उमेदवारहरु लागेका छन।

पोखरा उधोग बाणिज्य संघको संस्थापन जस्तै देखिने बलराम आचार्यको प्यानलमा राखिएकाहरु पोखरा क्षेत्रमा रहेका बिभिन्न ब्यबसायिक एबम सामाजिक संघसंस्थामा समेत सक्रिय रहेकाहरु परेको र अधिकांश पुर्व अध्यक्षहरुको समर्थन रहेकोले आचार्यको प्यानललाई बलियो प्यानलको रुपमा लिईएको छ। प्यानल बनाउन लागेकाहरुको समर्थन र पदाधिकारीहरुले एक अर्काको साथ दिएमा सोही प्यानलका सबैजसो उमेदवारको जीत हुन सक्ने बताइन्छ।

तर, प्यानलमा रहेका उमेदवारहरुको बिचमा बलियो गठबन्धन कायम नरहेमा वा अन्तर्घातको अबस्था देखिएमा सोभा, उत्तम वा अर्जुनमध्ये जो कोहि पनि अध्यक्ष बन्न सक्ने मात्र नभएर त्यसको असर पदाधिकारीमा पनि पर्ने सक्ने देखिन्छ। अन्तर्घातको अबस्था आयो भने त्यसको असरले आचार्य प्यानलका केहि पदाधिकारीको ठाउँमा अन्यले नै विजय प्राप्त गर्नसक्ने सम्भावना रहेको कतिपयको भनाई छ।

२०११ सालमा स्थापना भएर  ७ दशक लामो यात्रा पार गरेको पोखरा उद्योग वाणिज्य संघले पोखराको पोखराको भौतिक, शैक्षिक र सामाजिक बिकासमा महत्वपुर्ण भूमिका निर्बाह गर्दै आएको छ । विशेष गरी पोखरामा विश्वविद्यालय स्थापना, पोखरामा औद्योगिक क्षेत्रको स्थापना, विमानस्थल निर्माण, सडक पहुँच विस्तार र पर्यटकीय गन्तव्यका रूपमा पोखरालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन संघको भूमिका महत्वपुर्ण मानिन्छ । पोखराको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन मेला र महोत्सबको आयोजना पोखरा उधोग बाणिज्य संघले नै शुरु गरेको हो।

सम्बन्धित समाचार ..

पोउबासंघमा आचार्य नेतृत्वको प्यानल निश्चित, औपचारिक घोषणाको तयारी

२० भाद्र २०८३, शनिबार ११:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा