काठमाडौँ, भोटेकोशीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा रहेका विभिन्न सातवटा जलविद्युत् आयोजनाका सुरुङहरुमा सम्पर्क बिहिन अबस्थामा रहेकाहरुको संख्या अझै एकिन हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले रसुवा र नुवाकोटका बिधुत आयोजनास्थल र जलविद्युत् सुरुङमा फसेका कर्मचारी सहित ८ सय ९८ जना मानिस सम्पर्कविहीन भएको जनाएको छ।
प्रारम्भिक विवरण अनुसार सुरुंग र आयोजनास्थलमा ७ सय ११ जना सम्पर्क बिहिन रहेको बताइएको थियो। तर, पछिल्लो समय नेपाली सेनाले बिभिन्न बिधुत आयोजनामा दैनिक डिउटीमा खटिने प्राविधिक र कर्मचारीको सिफ्ट विवरणका आधारमा १ सय २१ जना मात्र सुरुङमा फसेको आशङ्का गरेको जनाएको छ ।
बिभिन्न सुरुंग र बिधुत आयोजनास्थलमा सम्पर्क बिहिन भएको भनिएकाहरुको खोज तथा उद्वारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र विदेशबाट आएका सुरुङ विशेषज्ञहरूले गरेको खोज तथा उद्धारको क्रममा ३ जनाको जीवित अबस्थामा र ४ जनाको शव भेटिएको नेपाली सेनाको भनाई छ।
रसुवाको टिमुरेदेखि नुवाकोटको बेत्रावतीसम्म निर्माण सम्पन्न भएका र निर्माणाधीन आयोजनाका सुरुङमा खोज तथा उद्धार गर्ने क्रममा सम्पर्क बिहिन अबस्थामा रहेकाहरु मध्ये ७ जनाको (३ जना जीवित र ४ जनाको शव) उद्वार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । भोटेकोशीमा भदौ १० मा बाढी आएपछि कतिपय सुरुंगमा उद्वार गर्ने कार्य भैरहेको भएपनि कतिपयमा अझैसम्म उद्वार कार्य समेत शुरु हुन सकेको छैन ।
चिलिमे जलविद्युत् आयोजना स्थलमा भने अहिले सम्म पनि उद्वारको काम शुरु हुन सकेको छैन भोटेकोशीले कटान गरेसँगै एमआई–१७ हेलिकप्टर अवतरण गर्ने स्थान पनि नभएपछि स्याफ्रुबेँसीदेखि चिलिमेको सुरुङसम्म भारी उपकरण (‘हेभी इक्युपमेन्ट’) लैजाने प्रयास भइरहेको छ ।
सडकमार्गमा खसेको ठुलो ढुङ्गालाई उद्धारकर्मीहरूले विस्फोट गरेर हटाएको र सडक बनाएर ठुला उपकरण लैजाने प्रयास भइरहेको छ। उद्धारकर्मीहरू चिलिमेको ११५ मिटरभित्र सुरुङमा पुगेर मिनी एक्स्काभेटरमार्फत भग्नावशेष (डेब्रिज) हटाउँदै खोजीकार्य भइरहेको सहायक रथी प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिएका छन। चिलिमेमा सेना र भारतीय उद्धारकर्मीहरूले काम गरिरहेका छन।
उद्धारकर्मीहरूले भदौ १९ मा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेका थिए । नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले त्यहाँबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरेका हुन् । त्यसपछि उक्त हाइड्रोपावरबाट भैरहेको उद्वारकार्यको थप प्रगति सार्बजनिक भएको छैन सेनाले बाढी प्रभावित सातवटा सुरुङमा खोजी कार्य जारी राखेको छ ।
रसुवाको लाङटाङ खोला हाइड्रोपावरबाट दुई जनाको शव निकालिएको र त्यहाँ ४१ जना सम्पर्क बिहिन अबस्थामा रहेको बताइएको छ। सोही हाइड्रोपावरमा पोखराका अभिषेक आचार्य प्रोजेक्ट सिभिल इन्जीनियरका रुपमा कार्यरत रहेकोमा हालसम्म उनको मात्र नभएर अन्यको अबस्थाको बारेमा समेत जानकारी प्राप्त हुन् सकेको छैन ।

इन्जिनियर आचार्यका बुवा अनिरुद्र आचार्यसहित परिवारका सदस्यहरुले निरन्तर छोरा अभिषेक सहित अन्यको उद्वारको लागि निरन्तर हारगुहार गरिरहेका छन। उनीहरुले सरकारले उद्वारको प्रक्रियालाई तिब्रता दिनुपर्ने र उद्वारको निम्ति आबश्यक उपकरण र जनशक्ति प्रयोगमा गम्भीर बन्नुपर्ने खाँचो औंल्याए ।
सुरक्षाकर्मीहरूले भदौ २० गतेको दिन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङको २२५ मिटरभित्रबाट चिनियाँ नागरिक लुआइतोलाई जीवितै उद्धार गरेका थिए । भोटेकोशीको बाढीका कारण फसेकाहरूको खोजी तथा उद्धारका लागि अहिले सातवटा सुरुङमा काम भइरहेको सहायकरथी बस्नेतले बताए ।
कुन हाइड्रोपावरमा सम्पर्क बिहिन कति र उद्वार भएका कति ?
१. रसुवागढी जलविद्युत् आयोजनाः सम्पर्कविहीन– ९३ जना, तर हालसम्म कोहि नभेटिएको
इप्पानका अनुसार रसुवागढी आयोजनास्थलबाट ९३ जना सम्पर्कविहीन भएका छन् । टिमुरेस्थित यस आयोजनाको सुरुङमा आयोजनाका प्रतिनिधि र सेनाका उद्धारकर्मीहरू ‘पावरहाउस’ को ‘कन्ट्रोल रुम’ सम्म पुगेर खोजी गरिरहेका छन् ।
२. रसुवा भोटेकोशी जलविद्युत् आयोजनाः सम्पर्कविहीन– ४ जना, हालसम्म १ जनाको शव भेटिएको
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ रोङ्गास्थित यस आयोजनाको सुरुङमा एक जनाको शव भेटिएको छ । ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा उक्त शव भेटिएको हो । थप खोजीकार्य जारी छ ।
३. लाङटाङ खोला जलविद्युत् आयोजनाः सम्पर्कविहीन– ४१ जना, हालसम्म २ जनाको शव भेटिएको
२० मेगावाट क्षमताको र परीक्षण चरणमा रहेको यस आयोजनामा संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले जनाएको छ । यस आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको थियो ।
४. चिलिमे जलविद्युत् आयोजनाः सम्पर्कविहीन– ८ जना, तर हालसम्म कोहि नभेटिएको
२२ मेगावाट क्षमताको यस आयोजनामा भारतीयसहितका उद्धारकर्मीहरूले ६ मिटरका ठुला पाइप प्रयोग गरेर हिँड्न मिल्ने बाटो तयार गरेका छन् । स्याफ्रुबेँसीदेखि चिलिमेको सुरुङसम्म भारी उपकरण लैजान सडकमा रहेको ठूलो ढुङ्गालाई उद्धारकर्मीहरूले विस्फोट गरेर हटाएका छन् । सुरुङमा भग्नावशेष हटाउँदै उद्धारकर्मी ११५ मिटरभित्र प्रवेश गरेको सेनाले जनाएको छ ।
यहाँ भारतीय सुरुङ विशेषज्ञहरूले पनि काम गरिरहेका छन् । सुरुङभित्र उकालो र ओरालो ‘बेन्ड’ क्षेत्रमा उद्धारकर्मीहरू पुगेका छन् । त्यहाँ विस्फोट गर्न नमिल्ने भएपछि ठूला उपकरण लैजान खोजिएको सैनिक प्रवक्ता बस्नेतले जानकारी दिए ।
५. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाः सम्पर्कविहीन– ३३२ जना, हालसम्मा १ जनाको जीवितै उद्धार
विपद्का कारण रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन ‘अपर त्रिशूली–१’ आयोजनामा कार्यरत कर्मचारी र मजदुरसहित ३३२ जना सम्पर्कविहीन भएको दाबी गरिएको छ । २१६ मेगावाट क्षमताको यो आयोजना नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले बनाइरहेको छ ।
त्यहाँ चिनियाँ, नेपाली सेना र कोरियन सुरुङ विशेषज्ञ टोली उद्धारमा खटिएको छ । सुरुङको २२५ मिटरभित्रबाट एक जना चिनियाँ नागरिक लुआइतोलाई उद्धारकर्मीले जीवितै उद्धार गरेका थिए । अहिले उद्धारकर्मीहरू सोही सुरुङको ४०० मिटरभित्र पुगेर खोजीकार्य जारी राखेका छन् ।
६. त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाः सम्पर्कविहीन– ४२ जना, हालसम्ममा २ जनाको जीवित उद्धार, १ जनाको शव
उद्धारकर्मीहरूले भदौ १९ मा यस आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेका थिए । नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले त्यहाँबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरेका हुन् । यस आयोजनाको पावरहाउस र सुरुङमा सेनाका ३४ जना, सशस्त्रका ४ जना र आयोजनाका इन्जिनियरहरू पनि खोज तथा उद्धारमा जुटेका छन् ।
७. त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाः सम्पर्कविहीन– १९१ जना, तर हालसम्म कोहि नभेटिएको
यस आयोजनामा खोज तथा उद्धारका लागि १०१ जना सैनिक परिचालन गरिएको छ । आयोजनाका प्राविधिकहरूसमेत मिलेर तीनवटा एक्स्काभेटरले खनेर खोजी गरिरहेका छन् । २३ फिटसम्म खन्दा पनि त्यहाँ केही फेला परेको छैन । उद्धारकर्मीहरूले आयोजनाको कार्यालय र आवास गृह क्षेत्रमा खोजीकार्य जारी राखेका छन।












