पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा आफ्नै निवासमा अराजक समुहको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिको उपचारमा अझै केहि दिन लाग्ने भएको छ । कांग्रेस सभापति देउवा र उनकी धर्मपत्नी तथा तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यस्थिति खतरामुक्त भएपनि अझै एक साता उपचारको लागि बस्नुपर्ने अबस्था रहेको बुझिएको छ ।
जेनजी आन्दोलनको क्रममा बुढानिलकण्ठस्थित देउवाको आफ्नै निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले गरेको आक्रमणबाट गम्भीर घाइते बनेका देउवा दम्पत्तीले अझै एक साता उपचारको लागि अस्पतालमा नै रहनुपर्ने चिकित्सकहरुले जनाएका हुन । प्रदर्शनकारीहरूले देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालहरुमा प्रशस्त देखिन्छ ।
चिकित्सकका अनुसार प्रदर्शनकारीहरुको जत्थाले गरेको आक्रमणमा सभापति देउवा र आरजुको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । दुबैजनाको गर्धन र शरीरको पछाडीको भागमा धारिलो हतियार, सिसा र लाठिले प्रहार गरेकोजस्तो चोट रहेको चिकित्सकलाई उद्दृत गर्दै एक कांग्रेस नेताले जानकारी दिए।
उनका अनुसार सभापति देउवाको गर्धन र ढाडमा चोट रहेको र उनकी धर्मपत्नी आरजु देउवाको गर्धन लगायत शरिरमा अन्य भागमा पनि चोट रहेको छ। उनको अनुहारमा आक्रमणकारीले मुक्का प्रहार गरेको कारण अनुहार सुन्निएको र निलडाम पनि रहेको छ ।
भिडिओहरूमा देखिएअनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र प्रवेश गरेर उनीहरु रहेको कोठामै पुगेर आक्रमण गरेका थिए । आक्रमणका कारण उनीहरुको शरीर रक्ताम्य बनेको सामाजिक संजालमा आएका तस्बिर र भिडिओमा स्पष्ट देखिन्छ।
तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि एक युवाले पछाडिबाट लात्तीले हानेको भिडिओ समेत सामाजिक सञ्जालमा देखिन्छ भने त्यसबेला आरजु सम्हालिन नसकेर भुइँमा लडेको देखिन्छ । भदौ २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण र घर, गाडी लगायतमा आगजनी भएको थियो ।
देउवा निवास भित्र पुगेका प्रदर्शनकारीहरुले देउवा दम्पतिलाई आक्रमण गरेर घाइते बनाउनुको साथै घरमा तोडफोड, लुटपाट र आगजनी गरेर ध्वस्त बनाएका छन आन्दोलनकारीहरुको जत्थाले घरका सबै कोठामा रहेका बिभिन्न सामानहरु र त्यहा रहेको धनमाल समेत लुटेर लाग्नुको साथै घरमा र गाडीमा आगजनी गरेर पूर्णरुपमा क्षति पुर्याएका छन ।
लामो समयसम्मको प्रयास पछि केहि सर्बसाधारण र सुरक्षकर्मीहरुको पहलमा गम्भीर घाइते अबस्थामा रहेका देउवा दम्पतिलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरि उपचारको लागि अस्पताल लागिएको थियो ।
सम्बन्धित समाचार ..
जेनजी आन्दोलनकारीबाट कुटिएका देउवा दम्पतिको स्वास्थ्य खतरामुक्त, सुरक्षित स्थानमा उपचार जारी















