Play

‘माईला बा’ तपाइंको शिक्षालाई सधैं हृदयमा राख्नेछु – प्रकाश गुरुङ

गुरुकुल खबर


भावपूर्ण श्रद्दान्जली माइला बा ….

हामीले हाम्रो परिवारको असल अभिभावक गुमाएका छौं। यो क्षण मेरो लागि शब्दहरूमा बयान गर्न गाह्रो छ, किनभने तपाईंबाट पाएको माया, प्रेरणा र सहारा सम्झँदा मन भारी हुन्छ।

माईलाबा ओमप्रसाद गुरुङ सदैब परिवारका लागि समर्पित अनि सबै आफन्तका लागि माया र सहयोगका स्रोत हुनुहुन्थ्यो। उहाँको न्यानो उपस्थितिले परिवारलाई एउटै सूत्रमा बाँधेर राखेको महशुस मलाई भएको छ। म १८ वर्षकै उमेरमा विदेशिए पनि उहाँसँग बिताएका पुराना क्षणहरू अमूल्य छन्। हरेक भेटमा उहाँले परिवारलाई कसरी बलियो बनाउने, कसरी आत्मीयता बढाउने भन्ने सल्लाह दिनुहुन्थ्यो। उहाँको शब्द मात्र होइन, उहाँको कर्मले नै हामीलाई सधैं सिकाइरह्यो, परिवारको माया कति अमूल्य हुन्छ, भनेर ।

     ‘माईला बा ‘ओम प्रसाद गुरुङ 

मेरो कान्छा बाजेको ६ भाइ छोरा, उहाँ माइलाबा । मेरो बाबा एक्ला सन्तान । तर, उहाँले कहिल्यै हामीलाई फरक महसुस हुन दिनुभएन। “हामी सात भाइ हौं, एउटै परिवार हौं” भन्नुहुन्थ्यो । केवल शब्दमा होइन, व्यवहारमा पनि त्यस्तै गर्नुहुन्थ्यो । हामीलाई आफ्नै सन्तानसरह माया गरेर, सधैं हाम्रो भलो चाहनुभयो।

२०१७ सालमा मेरो बाबाको देहान्तको दिन… त्यो दिन मेरो जीवनकै सबैभन्दा कठिन क्षण थियो। रातको एक बजे बाबाले नर्भिक अस्पतालमा अन्तिम सास लिनुभयो । म अस्पतालको भुइँतलामा सुतेको थिएँ । जब यो खबर आयो, मन त्यसै बन्धनमा अड्किएझैं भयो। तुरुन्तै दिदी कृष्ण र भिनाजु क्या. होमबहादुरलाई खबर गरें। उहाँले बाबाको पार्थिव शरीर पोखरा लैजान एम्बुलेन्सको व्यवस्था गर्नुभयो। भूपू अञ्चलाधीश लालकाजी माइलाबाले सुन्नासाथ आफ्ना छोरा कर्णेल अमृतलाई लिएर अस्पताल आइपुग्नुभयो, बाबालाई अन्तिम बिदाइ गर्न।

                      ‘ बा ‘ गणेश बहादुर गुरुङ 

बिहान मिर्मिरेमै हामी बाबाको पार्थिव शरीर लिएर पोखरा लाग्यौं। गाडीमा अगाडि दिदी कृष्ण रुँदै बस्नुभएको थियो, म र भिनाजु बाबाको शरीरसँगै पछाडि। त्यो यात्रा शब्दमा बयान गर्न सक्दिन। गह्रौं मन, अश्रुले भरिएका आँखा र मुटुभित्र गडिरहेको त्यो पीडा……. जिन्दगीभर भुल्न सक्दिन।

त्यही बेला आफन्तले दिएको साथ-सहयोगको महत्त्व महसुस भयो। हामीलाई अँगालो हाल्ने, सम्हाल्ने, अनि हामीसँगै रूने आफन्तहरू… त्यही आत्मीयता नै परिवार हो भन्ने हृदयले अनुभूति गर्यो ।

पोखरा पुग्दा, घरमा सबै आफन्तजन, लामा गुरुहरू पर्खिरहेका थिए। बाबालाई उपचारका लागि काठमाडौँ लगेका थियौं। तर देह त्याग गरेको शरीर मात्र लिएर पोखरा फर्किनुपर्यो । घरको गेट अगाडि गाडी रोकियो । हाम्रो प्रिय बाबा, अब हामीसँग नभएपनि उहाँको सुगन्ध, उहाँको मायाले भरिएको त्यो घर थियो। आमाको अवस्था शब्दभन्दा परको थियो।

बाबाको अन्तिम संस्कारका लागि हामी केही खट्यौं। सबैभन्दा अघि बढेर माइलाबाले नै नेतृत्व लिनुभयो। त्यो क्षणले उहाँले सधैं भन्दै आएको कुरा वास्तविक रूपमा देखायो । “हामी सात भाइ हौं।” उहाँको आँखा, उहाँका हाउभाउ, उहाँको संलग्नता… सबै उहाँको असिमित प्रेमको प्रमाण थिए। आफ्नै रक्तसम्बन्धी दाजुभाइझैं उहाँले मेरो बाबालाई सम्हाल्नुभयो।

म सबैभन्दा जेठो छोरा। मेरो कर्तव्य थियो, तर मेरो भाइ चन्द्र अष्ट्रेलियामा भएकाले आइपुगेको थिएन। त्यो दिन माइलाबाले हामीलाई जसरी साथ दिनुभयो, त्यो म कहिल्यै भुल्न सक्दिन।

आज, जब म तपाईंलाई अन्तिम बिदाइ गर्दै छु, मन एकपल्ट फेरि भारी भयो। माइलाबा, तपाईंले सधैं माया दिनुभयो, सही बाटो देखाउनुभयो, अनि हामीलाई एउटा साँचो परिवारको अर्थ सिकाउनुभयो। तपाईंको अभाव कहिल्यै पूरा गर्न सक्दिन, तर तपाईंको शिक्षालाई सधैं हृदयमा राख्नेछु। हार्दिक श्रद्धाञ्जली! तपाईंको आत्माले शान्ति पाओस्।

तपाईंको छोरा – प्रकाश गुरुङ
( हाल बेलायत )

१८ माघ २०८१, शुक्रबार १२:१४ मा प्रकाशित
Nabintech