- गंगाधर पराजुली / पोखरा
कुनै बेला संगीतको राजधानी भनेर पोखराको चर्चा हुन्थ्यो, पोखराका कलाकार सांगीतिक समूह तथा ब्याण्डहरु आफ्नो गीत संगीत प्रस्तुत गर्न देश विदेश पुग्न समेत भ्याई नभ्याई हुन्थ्यो। तर, अहिले समय त्यस्तो छैन । पोखराबाट गीत संगीत र कला क्षेत्रमा उदाएका अधिकांश कलाकारहरु आफ्नो उमेरका कारण, पारिवारिक अवस्थाका कारण वा आर्थिक अवस्थाका कारण गीतसंगीतको क्षेत्रमा निष्क्रिय जस्तै बस्नुपर्ने अबस्था सिर्जना हुनपुगेको छ ।
बिशेषगरि २०५० को दशक शुरु हुँदैगर्दा अर्थात सन् नब्बेको दशकमा पोखरामा सांगीतिक समूह (ब्याण्ड) जन्माउने क्रम निकै बढेको थियो । गीत संगीतमा रुची हुने एउटा टोलका ४/५ जना युवा साथिहरु मिल्यो, ४०/५० हजार रुपैया संकलन गर्यो, ब्याण्डको नाम जुरायो अनि गीतको एल्बम बजारमा सार्बजनिक गर्यो। यो क्रम केहि बर्षसम्म निरन्तर चल्यो। येही क्रममा कतिपय ब्याण्डहरुले आफुलाई स्थापित गराउन सफल भए र निरन्तरता समेत दिंदै गए पनि अधिकांश ब्याण्ड वा सांगीतिक समुहमा रहेका सदस्यहरु आफ्नो व्यक्तिगत, पारिवारिक वा ब्यबहारिक कारणले गर्दा सांगीतिक कर्मबाट टाढा रहन पुग्दा पोखराको सांगीतिक क्षेत्र नै सुस्ताउन पुगेको महशुस हुनपुग्यो ।
२०/ २२ बर्षको युवा अबस्थामा स्व. प्रबिण गुरुङ लगायतका सिनियर कलाकारसंगको संगतका कारण गीत संगीतको क्षेत्रमा लागेका नबिन गुरुङ त्यसबेलाको चर्चित मध्येको एक लेकाली ब्याण्डका सदस्य हुन। गायन,संगीत र गीत रचना समेत गर्ने नबिनले पनि आफ्नो उमेरको १२/१५ बर्ष लेकाली ब्याण्डमा सक्रिय रहेर गीत संगीतमा बिताए । तर, त्यहि ब्यान्डमा लागेर मात्र जिबन चल्न नसक्ने भएपछि उनि पनि विदेशिए ।
विभिन्न मुलुकमा पुगेर एक दशक बढी काम गरेर स्वदेश फर्केका उनलाई अहिले पनि आफ्नो ब्याण्ड र पोखराको गीत संगीतको क्षेत्रलाई पुरानै अबस्थामा फर्काउने मन छ। तर, उपयुक्त बाताबरण भने पाउन नसकेको बताउछन् र भन्छन, उमेरले ५० काटियो, तर संगीतको रहर मरेको छैन।
नबिन गुरुङकै जस्तो पिडा त्यसबेला सांगीतिक क्षेत्रमा लागेर पहिचान बनाएका र पछिल्लो समय सांगीतिक क्षेत्रमा करिब निष्क्रिय जस्तै बनेका अरुलाई पनि छ। ‘कुनै बेला पोखरा ब्याण्डहरुको राजधानी मानिन्थ्यो, ९० को दशक र त्यसपछि पनि पोखराका ब्याण्डहरुले देश विदेशमा आफ्नो कला तथा गीत संगीत प्रस्तुत गर्न जान समेत भ्याईनभ्याई हुने गर्थ्यो। तर अहिले पोखराको संगीत क्षेत्र सुस्ताएको छ ।
पोखरा सागीतिक कलाकार संघका निबर्तमान अध्यक्ष सुनील थापा पनि त्यो कुरा स्वीकार गर्छन। “नब्बेको दशकमा गीत संगीतमा सक्रिय भएर लागेका साथीहरु अहिले उमेरले ५० काटेका छन्। घर परिवार, पेशा ब्यबसाय अनि कमाउनको लागि विदेश जानुपर्ने बाध्यता जस्ता कारणले गीत संगीतको क्षेत्रमा पहिले जस्तो निरन्तरता दिन सक्ने अबस्था रहेन। जसका कारण पोखराको गीत संगीत क्षेत्र सुस्ताउन पुग्यो ।” थापाले गुरुकुल खबरसंग भने ।
त्यसबेलाका कतिपय गीतहरु कालजयी मानिन्छन। सबैले सुन्न रुचाउने र गीतको अर्थ बुझेर समेत आमश्रोताले गीतको रचना सहित कलाकारहरुलाई प्रशंशा गर्थे । तर अहिले त्यस्तो अबस्था छैन, कतिपय गीतको शब्द नै आम श्रोतको लागि अप्रिय लाग्ने अनि संगीत पनि झर्रो लाग्ने गरेको समेत सुनिन्छ।
यसबाहेक पछिल्लो समय लोक तथा दोहोरी गीतप्रति आम श्रोता र दर्शकको चासो बढेको कारण पनि यस किसिमका ब्याण्डहरु केहि ओझेलमा परेको महशुस सबैले गरेका छन। यसका साथै मुलुकको राजनीतिक अस्थिरताको सिकार समेत पोखरेली ब्याण्डहरु बन्न पुगेको मान्न सकिन्छ।
पोखरा सांगीतिक कलाकार संघका निबर्तमान अध्यक्ष समेत रहेका कन्दरा ब्याण्डका सुनील थापा भन्छन। ‘पहिलेको गीत संगीत कानले सुने पछि मनमष्तिस्कमा लामो समयसम्म बसिरहन सक्थ्यो, तर अहिलेको गीतसंगीत कानबाट भित्र पस्न समेत नसक्ने खालको भएको छ।
गीतसंगीत प्रतिको आकर्षण कम देखिनुमा त्यसबेला गरिने सिर्जना र अहिलेको सिर्जनाले समेत प्रभाव पारेको बताउछन, डीमर्चा ब्यान्डका भास्करध्वज श्रेष्ठ। उनि भन्छन- त्यस बेला कुनै गीत रचना गर्दा वा लिरिक्स बनाउँदा मन मस्तिष्कबाट नै डुबेर बनाउने प्रचलन थियो, तर अहिले हतारमा र शब्दको मर्म नबुझी बनाउने प्रचलन बढेकोले पनि केहि समस्या देखिएको हो।
श्रेष्ठसहित उनको ब्याण्डले बिभिन्न मुलुकमा आफ्नो प्रस्तुतिलाई भने निरन्तरता दिंदै आएको र केहि समय अगाडी कतारमा पनि ब्याण्डको प्रस्तुति रहेको उनले सुनाए ।अहिले पनि सबै जसो ब्याण्डहरु आफ्नो किसिमले विभिन्न स्थानमा प्रस्तुति दिन हिंडिरहेको उनले जानकारी दिए। ‘कुनै ब्याण्ड तिब्र गतिमा दौडिएको देखिएपनि अन्य ब्याण्डहरुपनि आफ्नो किसिमले श्रोता र दर्शकहरुमाझ पुग्ने क्रम भने जारी छ’- श्रेष्ठले भने।
विदेश यात्राको क्रममा कन्दरा ब्याण्डले पनि हालै सांगीतिक विश्व यात्राको नाम दिएर बेलायत, अष्ट्रेलिया, कतार लगायतका मुलुकमा पुगेर आफ्नो प्रस्तुति दिएको’ कन्दराका सुनील थापाले जानकारी दिए।
देश भित्र र बाहिर वा पोखरा क्षेत्रमा विभिन्न समयमा प्रस्तुति दिने क्रम केहि ब्यान्डको रहेपनि २०४५ देखि २०६० सम्म खुलेका अधिकांश ब्याण्डहरु भने अहिले सुस्ताएकै हालतमा छन भन्दा अत्युक्ति हुँदैन। त्यो समयमा कन्दरा, डीमर्चा, लेकाली, मध्यान्ह, ब्रोसिस, देउराली, भेगाबोन्ड ब्यान्ड, नेपथ्य, मनसाय, मोफसल, पखेरी, पछ्येउरी, पिस ह्याँग्की लगायत धेरै ब्यान्डले पोखराबाट आफ्नो पहिचान देश भित्र र बाहिर स्थापित गर्न सकेका थिए।
तर, अहिले आमसर्बसाधारणको मन छुने गरि नयाँ ब्याण्ड आउन नसकेको र पुराना ब्याण्डमा रहेका सदस्यहरु समेत बिबिध कारणले अलग हुँदैजाने अवस्था रहेकोले त्यसबेलाका गीतसंगीत सुनेर आनन्द लिन चाहनेहरु समेत बन्चित बन्नुपरेको अबस्था छ ।
पोखराका स्थापित ब्याण्डमा रहेका कलाकारहरु भन्छन, “हाम्रो उमेर बढेर अभ्यास केहि घटेको भएपनि रहर घटेको छैन। संगीतको रहर घट्दा पनि घट्दैन, तर बिभिन्न बाध्यता र समस्याका कारण हाम्रो कलालाई नियमित रुपमा उजागर गर्न नसक्दा पोखरामा चलेका र स्थापित भएका ब्याण्डहरु पुरै हराए भन्नचाहिं हुँदैन।”
यसैबीच पोखरामा २०४५ पछि अर्थात सन १९९० को दशकको आसपासमा खुलेका ब्याण्डहरु एबम त्यसबेलाको संगीतलाई पुनर्ताजगी गराउने उद्देश्यका साथ पोखरामा ‘ब्याक टु नाइन्टिज’ को नाम दिएर बिशेष सांगीतिक कार्यक्रम हुने भएको छ। ‘ ब्याक टु नाइन्टिज, बिराशतलाई फर्केर हेर्दा’ भन्ने कार्यक्रममा पोखराका तिनै ब्याण्डका गीतलाई तिनै कलाकारले पोखरेलीहरु माझ प्रस्तुत गरेर पुरानै माहोल सिर्जना गर्ने प्रयास गर्ने भएका छन ।
पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिबार साँझ पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा नब्बेको दशकमा उदाएर देश बिदेशमा चर्चा कमाउन सफल सातवटा ब्यान्डहरुले आफ्ना गीतहरु प्रस्तुत गर्नेछन। कार्यक्रममा कन्दरा ब्याण्ड (विवेक श्रेष्ठ), डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्यान्ड (प्रकाश राना), मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोन्ड ब्यान्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहनेछ । कतिपय ब्याण्डहरु सम्पर्कमा नआएको, कतिपय ब्याण्डहरु अस्तित्वमा नै नरहेको र कतिपयले चाहना नदेखाएको कारण पनि ब्याण्डहरुको संख्या सिमित हुन पुगेको आयोजकले जनाएका छन।
उक्त कार्यक्रम सम्बन्धमा जानकारी दिने उद्देश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले नब्बेको दशकमा पोखराका ब्यान्डले देश, विदेशमा कला र संगीतमार्फत ध्यान तानेको तर पछिल्लो समय व्यस्तता र बाध्यताका कारण पहिचान समेत गुम्ने हो कि भनेझैं सुस्ताउदै गएको बताए। फेरि एक पटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि पुरानो विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं । उनले भने ।
सुस्ताउदै गरेका पुराना सांगीतिक ब्यान्डहरुको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य छ है भन्ने सन्देश दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिए पनि व्यवहारिक रुपमा लागू नभइरहेको सन्दर्भमा यस कार्यक्रम मार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो।’ उनले भने, ‘कार्यक्रममार्फत पोखरालाई रिब्रान्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्ने, गीत संगीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको छ ।’
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब एबम संयोजक मनकुमार श्रेष्ठले कार्यक्रमको लागि आबश्यक तयारी करिब पुरा भएको जानकारी दिए। हामीले कार्यक्रममा पोखरासहित पोखरा आउने आन्तरिक र बाह्य पर्यटकहरुलाई पनि कार्यक्रममा सहभागी गराउनको लागि आबश्यक तयारी गरेका छौं। यसले पोखराको संगीत देश भित्र र बाहिर समेत पुर्याउने हाम्रो चाहना पुरा हुन सक्छ- श्रेष्ठले भने। उनका अनुसार गीत संगीतको क्षेत्रमा सहयोग पुगोस भन्ने उद्धेश्यले प्रवेश शुल्क दुई सय रुपैया निर्धारण गरिएको भएपनि शुल्क तिर्न नसकेर कार्यक्रम हेर्न नपाउने अबस्था भने हामीले आउन दिंदैनौ, इछ्या र चाहना भएका र पैसा नहुने पनि प्रवेश गरेर कार्यक्रम हेर्न पाउने ब्यबस्था गरिनेछ ।
पैसा नभएर टिकट काट्न नसक्नेहरु, कार्यक्रमको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीसंग जोडिएकाहरु सहित अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरु संग प्रवेश टिकट नलिईने तर हाम्रो संगित र संस्कृतिको बारेमा जानकारी भने दिने लक्ष आयोजकले राखेको छन। कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी सुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमबाट २५ लाख संकलन गर्ने लक्ष राखिएकोमा लक्ष अनुरुप विभिन्न व्यक्ति र संस्थाबाट आस्वाशन समेत प्राप्त भैसकेको बताउदै श्रेष्ठले भने तिन लाख रुपैया बचत गरेर कलाकार अक्षयकोषमा राख्ने योजना बनाइएको छ।