Play

आख्यानकार सरस्वती प्रतिक्षाको उपन्यास ‘स्व’ को पोखरामा गृह बिमोचन

गुरुकुल खबर


पोखरा । काठमाडौंमा गत हप्ता विमोचन गरिएको साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ को शनिबार गृहविमोचन गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र तीर्थ श्रेष्ठले ‘स्व’ को गृह विमोचन गरे ।

विमोचनपछि श्रेष्ठले पोखराबाट पाठकमाझ अब्बल पुस्तक आएको बताए । बौद्धिकताको फराकिलो बाटोबाट उपन्यास लेखिएको उनको भनाइ छ । श्रेष्ठले भने, ‘नेपाली आख्यानमा स्वको उपस्थिति दरिलो छ ।’

लेखक गनेस पौडेल र साहित्यकार रिता अधिकारीले पुस्तकको परिचर्चा गरेका थिए । कलाकार अनुप बराल र दिया मास्केले उपन्यासको अंश वाचन गरे ।

पोखरेली युवा सांस्कृतिक परिवारले ‘स्व’ को गृह विमोचनको चाँजोपाजो मिलाएको हो । ७ वर्षअघि प्रतीक्षाले ‘नथिया’ उपन्यास लेखेकी थिइन् । पाठक र समीक्षकको प्रतिक्रियाले हौसिएकी उनको यो दोस्रो उपन्यास हो ।

समाज, दर्शन र चिन्तनलाई पुस्तकमा समेटेको सरस्वती प्रतीक्षाको भनाइ छ । बौद्ध दर्शनको स्वादसहितको उपन्यास लेखेको उनले बताइन् । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको ‘स्व’ २९६ पृष्ठ लामो छ ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार कार्यक्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

१० असार २०८१, आईतवार ०८:१२ मा प्रकाशित
Nabintech