Play

पोखरा-१२ का सामुदायिक बिद्यालयमा संस्कार शिक्षा पाठ्यक्रम लागु गरिंदै

गुरुकुल खबर


पोखरा, नागरिक तहमा नैतिक शिक्षा र संस्कारयुक्त शिक्षाको अभाव महशुस भैरहेको बर्तमान समयमा पोखरा महानगरपालिका वडा न १२ ले भने आफ्नो वडाभित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ ।

वडा नं. १२ भित्रका सबै सामुदायिक विद्यालयहरुको कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको बताइएको छ । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा. केएन स्वामीले तयार पारेको संस्कार शिक्षा अन्य केही स्थानीय तहहरुले लागू गर्ने तयारी गरिरहेका बुझिएको छ ।

पोखराको अमरसिंह मा.वि. ले यही शैक्षिकसत्रदेखि संस्कार शिक्षा सुरु गरिएको गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । पहिलो चरणमा कक्षा ७ र ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको छ ।

अन्य निजी विद्यालयहरुमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । ‘हाम्रो संस्कार, संस्कृति, परम्परा र संरक्षण गर्दै त्यसलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो, त्यहि कारणले हामीले वडाका सामुदायिक बिद्यालयमा संस्कार शिक्षा लागु गर्ने निर्णय गरेका हौँ।’ – वडाध्यक्ष बास्तोलाले भने ।

चालु शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोला र डा. केएन स्वामीबीच छलफल पनि भएको थियो । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।

पोखरा महानगरपालिका वडा नं. १२ भित्र ३ वटा सामुदायिक विद्यालयहरु छन् । यी विद्यालयमा ४ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको बुझिएको छ।

५ जेष्ठ २०८१, शनिबार १२:३२ मा प्रकाशित
Nabintech