Play

बझांगको प्रदेश सभामा एमालेका भण्डारी बिजयी,राप्रपा,जसपा, जनमत, नेमकिपाका सहित आठ उमेदवारको धरौटी जफत

गुरुकुल खबर


पोखरा, सुदुरपश्चिम प्रदेशको बझांगको प्रदेश सभा क्षेत्रमा सम्पन्न उपनिर्वाचनमा नेकपा (एमाले) का उमेद्वार बिजयी भएका छन।सोमबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। भण्डारीले ११हजार ६सय १३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३सय ४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८ सय ३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २हजार ५ सय १४ मत ल्याएका छन।

प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। प्रदेश सभा उपनिर्वाचनमा सहभागी नेकपा (एकीकृत समाजवादी) सहित ८ जना उम्मेदवारको भने धरौटी जफत भएको छ। मत गणनाअनुसार एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार ५सय १४ मत ल्याएका थिए।

जबकि यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत, नेपाल मजदुर किसान पार्टीलगायत ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।

आयोगका अनुसार प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी  दर्ता गर्दा पाँच हजार रुपैयाँ धरौटी लाग्नेछ। महिला, दलित अल्पसंख्यक वा आर्थिक रुपले विपन्नहरूले धरौटी रकममा आधा छुट पाउँछन्। सदर मतको १० प्रतिशत कटाउनले उमेदवारले मात्र उक्त धरौटी रकम फिर्ता पाउँने ब्यबस्था छ ।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।

प्रदेश सभामा निर्वाचित भण्डारी काे हुन् ?

भण्डारी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँका स्थायी बासिन्दा हुन्। ५७ वर्षीय भण्डारीका बुवा र हजुरबुवा पनि राजनीतिमा थिए। आमाबुवाले खेतीकिसानी गरेर आफूलाई हुर्काएकाे उनले बताए। उनी अहिले बुवाकाे शाेकमै छन्। यही वैशाख ११ गते उनका बुवाकाे निधन भएको थियाे। चुनावकाे प्रचारप्रसारमै रहेका बेला उनले बुवाकाे अन्तिम संस्कार गर्न परेको थियो।

उनका बुवा पन्चायत कालमा वडा सदस्य भएका थिए। पल्लाघरका बाजेपनि गाउँमा प्रधानपञ्च भएका थिए। जेठाबुवाका छोरा पनि गाविस अध्यक्ष थिए। उनीहरूकाे प्रेरणाले आफुले पनि राजनीतिको बाटाे राेजेकाे भण्डारी बताउँछन्।

गाउँबाट एसएलसी दिएर कानुन विषय पढ्न काठमाण्डौं गएका उनी क्याम्पस पढ्ने बेलामा अनेरास्ववियुमा आबद्ध भए। भण्डारी २०५४ मा गाविस अध्यक्ष भएका थिए।

‘काठमाण्डौंमा डिग्री पढ्दै गर्दा स्थानीय चुनावमा प्रचारप्रसार गर्न गाउँ आएका बेला मलाई घरमै आएर गाविस अध्यक्षको टिकट दिए,’ भण्डारीले भने, ‘उसलाई दिए जितिने भयो भनेर मैले पाएँ। त्यो बेला त फोन पनि थिएन। मलाई थाह थिएन। घरमा टिकट दिनआएपछि पाे बल्ल थाहा पाएँ।’

गाविस अध्यक्ष हुँदा उनी गाविस राष्ट्रिय महासंघको बझाङ जिल्ला अध्यक्ष पनि भए। त्यसपछि उनी युवा संघको जिल्ला अध्यक्ष भएका थिए।

२०६९ मा एमालेकाे जिल्ला कमिटीकाे सचिव भएका भण्डारी २०७८ मा अध्यक्ष भए। अहिले पनि भण्डारी नेकपा एमाले बझाङका अध्यक्ष हुन्।

‘२०५४ पछि मैलेँ चुनाव लड्ने अवसर पाएकाे थिइन, सिनियर नेता हुनुहुन्थ्यो। गतवर्ष प्रदेशमा दावी गरेको थिएँ, तर टिकट पाइन,उपनिर्वाचनमा भने जिल्लाबाट तीन जनाको नाम गएकोमा मैले पाएँ,’ उनले भने।

१७ बैशाख २०८१, सोमबार २०:५१ मा प्रकाशित
Nabintech