Play

पृथ्वीचोकमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ कार्यालय भवन, ग्राहकको संख्यासंगै कारोबारमा बृद्दी

गुरुकुल खबर


पोखरा, पोखराको पृथ्वीचोकमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयले नयाँ भवनबाट सेवा सुरु गर्नलागेपछि ग्राहक तथा सेवाग्राहीको समेत आकर्षण बढ्दैगएको छ। सेवाग्राहीको आकर्षणले संख्यात्मक बृद्दीसंगै बैंकको कारोबार समेत बढेको शाखा कार्यालयले जनाएको छ।

राष्ट्रिय बाणिज्य बैंक नेपाल सरकारको स्वामित्वम संचालित बैंक हो। यसले बिभिन्न आरोह अबरोह पार गर्दै हाल नेपालका बाणिज्य बैंकहरु मध्ये सक्षम र बलियो बैंकको रुपमा स्थापित भएको छ। राष्ट्रिय बाणिज्य बैंक करिब छ दशक अगाडी स्थापना भएको हो ।

राष्ट्रिय बाणिज्य बैंकको पृथ्वीचोक शाखाले गत माघ १ गतेबाटआफ्नो सेवा सहित सम्पूर्ण कारोबार पृथ्वीचोकस्थित आफ्नै नयाँभवनबाट शुरु गरेको हो । उक्त भवन सुबिधा सम्पन्न रहेको र त्यहाँ १ सय वटासम्म कार पार्किंग गर्नमिल्ने पार्किंगस्थल समेत रहेकोले पछिल्लो समय पोखराका अधिकांश सेवाग्राहीले बाणिज्य बैंकको पृथ्वीचोक शाखा कार्यालयबाट सेवा लिन शुरु गरेकाछन। राष्ट्रिय बाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय समेत सोहि भवनमा रहेको छ ।

“हामीसंग पांच रोपनी क्षेत्रफलमा १ सय वटा गाडी अट्नसक्ने पार्किंगस्थल सहित नयाँ र आधुनिक सुबिधासम्पन्न भवन छ। भवनको ग्राउण्ड फ्लोरमा नै कार्यालय रहेको र कर्मचारीले पनि राम्रो सेवा दिईरहेकोले सेवाग्राहीको आकर्षण बढ्दै गएको छ”। राष्ट्रिय बाणिज्य बैंक पृथ्वीचोक शाखाका प्रबन्धक हरिराम पराजुलीले गुरुकुल खबरसंग भने । प्रबन्धक पराजुलीका अनुसार सेवाग्राहीको संख्या बढेसंगै बैंकिंग कारोबारमा समेत वृद्धि भएको छ ।

उनका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यसवर्ष ऋण लगानीमा १० प्रतिशत भन्दा बढी र रकम डिपोजिटमा २० प्रतिशत भन्दा धेरै प्रगति भएको छ । बैंकको उक्त शाखाले अन्य शाखा सरह ऋण लगानी र अन्य सेवा ग्राहकलाई दिंदैआएको भएपनि हाल लकरको संख्या बढाएर चार सय पुर्याउन लागिएको छ। जसका कारण सुन चांदीका गरगहना लकरमा राख्नचाहनेहरुको संख्या अझ बढ्ने निश्चित छ ।

उक्त शाखाबाट आमसर्बसाधारणहरुसंगै पोखरा क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालयले पनि सेवा लिने गरेका छन।  शनिबार बाहेक अन्य सार्बजनिक बिदाको दिन समेत उक्त शाखाले सेवा दिने भएकोले पनि बैंकको कारोबार र आकर्षण बढेको प्रबन्धक पराजुलीले जानकारी दिए ।

“यो शाखा पोखरा क्षेत्रका सरकारी कार्यालयले कारोबार गर्ने प्रमुख शाखा हो। कोष तथा लेखा नियन्त्रण कार्यालयले यहि शाखाबाट कारोबार गर्ने भएकोले पनि बिभिन्न सरकारी कार्यालयहरु र पोखरा महानगरपालिका सहित अन्य प्रादेशिक कार्यालयहरुले यहि शाखाबाट कारोबार गर्ने गरेको छन” शाखा प्रबन्धक पराजुलीको भनाइ थियो । यसका साथै गण्डकी प्रादेशिक कार्यालय समेत एकै भवनमा रहेको र प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सहयोगी भावना सहित समन्वय र निर्देशन प्रभावकारी हुँदा शाखाका काम कारबाही प्रभावकारी बन्दै गएको पराजुलीले बताए ।

शाखाले सुन कर्जा लगानीलाई समेत प्राथमिकतामा राखेको छ। सोहि कारण पनि ४ सय वटा लकर छिट्टै संचालनमा ल्याउन लागेको प्रबन्धक पराजुलीले बताए । शाखाले पर्यटन. कृषि, सहुलियतपूर्ण कर्जा, ब्यबसायिक कर्जा र पेशाकर्मी कर्जा लगायतका बैंकिंग सेवा प्रदान गरिरहेको छ । शाखाले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उनीहरुको तह अनुसार बिना धितो पेशाकर्मी कर्जा उपलब्ध गराउंदै आएको छ ।

पोखरामा राष्ट्रिय बाणिज्य बैंकको पृथ्वीचोक शाखा सहित महेन्द्रपुल, अमरसिंहचोक, पार्दी, लेकसाइड र तालचोकमा शाखा संचालन भैरहेका छन् भने पोखराको हरिचोक बगरमा शाखा संचालनमा ल्याउने तयारी भैरहेको छ।

हाल पृथ्वीचोक शाखाको रुपमा संचालित शाखा पहिले पार्दिमा संचालनमा थियो । माओबादीको शसस्त्र आन्दोलनका क्रममा सुरक्षाको कारण देखाएर पार्दिमा रहेको शाखालाई पृथ्वीचोकमा स्थानान्तरण गरिएको थियो ।  पछिल्लो समयमा नयाँबजारमा आफ्नै नयाँ कार्यालय भवन बनाएर सोहि भवनबाट शाखाको सेवा संचालन हुन लागेको हो । पार्दीमा भने केहि समय अगाडी नया शाखा संचालन गरिएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय अन्तर्गत ३१ वटा शाखा गण्डकी प्रदेश भित्र संचालनमा रहेका छन भने देशका ७ वटा प्रदेशका ७७ वटा जिल्लामा २ सय ८७ भन्दा बढी शाखा संचालनमा छन । यसका साथै बैंकले करिब ५० वटा एक्सटेन्सन काउन्टर, करिब १ सयवटा शाखा रहित बैंकिंग र २ सय ५० बढी एटिएमबाट सेवा दिइरहेको बुझिएको छ ।

२९ चैत्र २०८०, बिहीबार १६:४८ मा प्रकाशित
Nabintech