Play

राप्रपाको पछिल्लो निर्णयले गण्डकीमा तरङ्ग, कांग्रेसलाई राहत, एमाले माओबादीको सत्तागठबन्धनलाई तनाब

गुरुकुल खबर


पोखरा, राजनीतिक संकट देखिएको गण्डकी प्रदेशमा राप्रपाको पछिल्लो निर्णयले राजनीतिक समाधान दिने सम्भावना बढेको छ। राप्रपाले यस अगाडी गरेको निर्णयमा परिमार्जन गर्दै नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि गण्डकी प्रदेशमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले निरन्तरता पाउने बलियो सम्भावना देखिएको हो।

राप्रपाका प्रबक्ता मोहन श्रेष्ठले गुरुकुल खबरसंग कुरा गर्दै राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने तर तत्काल सरकारमा पनि नजाने निर्णय गरेको स्पष्ट पारे उनले भने – ‘ राप्रपाको कार्यसम्पादन समितिले यसअगाडी गरेको निर्णयमा केहि परिबर्तन गत्रेको छ, यस अगाडी हामीले बिभिन्न प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने अवस्था आएमा परिस्थिति हेरेर निर्णय गर्न सक्ने अधिकार प्रदेशलाई नै दिएको थियो तर आज पार्टीका पदाधिकारीहरुको बैठकले पार्टी तत्काल सरकारमा नजाने तर एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नदिने निर्णय गरेको छ’।

यो निर्णयको कार्यान्वयन प्रभाबकारी रुपमा हुन्छ त भन्ने प्रश्नको जवाफमा उनले प्रबक्ताले भनेको कुरामा शंका किन गर्नुहुन्छ ? भन्दै प्रतिप्रश्न गरे।सरकार बनाउन समर्थन गर्ने अनि सरकारमा नजाने नै हो त भन्ने अर्को प्रश्नको जवाफमा उनले हाँस्दै भने।, ” सरकारमा तत्काल नजाने भन्ने निर्णय भएको छ,  २७ चैत्रमा हाम्रो पार्टीको कार्यक्रम पनि छ, त्यसपछी पार्टीले आबश्यक निर्णय गरेर अगाडी बढ्ने छौं”।

राप्रपाको यो निर्णय संगै गण्डकी प्रदेशमा उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वमा अब बन्ने  सरकारले बिश्वासको मत पाउने सम्भावना बढेको छ।  गण्डकीमा बिश्वासको मत प्राप्त गर्न कम्त्तिमा ३१ जना सांसद चाहिन्छ यो अबस्थामा कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र संसद दिपक मनांगे १ जना संगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीका फणीन्द्र देबकोटा १ जना गरि ३१ जना सांसद पुग्ने अबस्था छ।

देबकोटा माओबादी केन्द्रको चुनाब चिन्हबाट बिजयी सांसद भएकोले पाण्डेलाई समर्थन गरेमा उनलाई कारबाही गर्ने धम्कि माओबादी केन्द्रले दिंदै आएको छ तर भट्टराईले आफ्नो पार्टी छुट्टै रहेको र संबिधानको व्यवस्था अनुसार नै चुनाबम चिन्ह लिएकोले कारबाही गर्न नसक्ने अडान राख्दै  आएका छन् स्वयम् देबकोटाले पनि एमाले र माओबादी सहितको गठबन्धनलाई समर्थन नगर्ने गुरुकुल खबर संग बताउंदै आएका छन्

गण्डकी प्रदेशमा निर्णायक शक्तिको रुपमा रहेको राप्रपाले एमाले सहितको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसंगै एमाले नेता समेत रहेका पूर्व मुख्य मन्त्री खगराज अधिकारीले फेरी मुख्यमन्त्री बन्न गरेको दौडधुप निरर्थक बन्ने सम्भावना छ अधिकारी अहिले पनि राजनीतिक छलफलमा ब्यस्त छन । छलफलमै रहेको समयमा गुरुकुल खबरसंग कुरा गर्दै उनले भने ‘ राप्रपाको पछिल्लो निर्णयका बारेमा राप्रपा मोहन श्रेष्ठजी संग कुरा पनि भयो तर हामी अहिले छलफलमा नै रहेकोले कसरि सरकार बनाउने भन्ने बारेमा स्पष्ट भन्नसक्ने अवस्था बनिसकेको छैन”।

यदि राप्रपा यो निर्णयमा कायमै रहेमा एमालेले आफ्नो भागमा परेको गण्डकी प्रदेश सरकार गुमाउने देखिन्छ र एमाले नेता  अधिकारी फेरी मुख्य मन्त्री बन्ने तत्कालको सम्भावना कम्जोर बनेको छ ।

नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता हरी बहादुर चुमानले भने राप्रपाको निर्णयले गण्डकीमा नया सत्ता गठबन्धन अनुसारको सरकार बनाउन नरोकिने दाबि गरे ” अहिले सुनिएको निर्णय राप्रपाका केहि नेताको व्यक्तिगत निर्णय हुन सक्छ, यसले हामीलाई कुनै असर गर्दैन र कांग्रेस बाहेकको सरकार बन्ने कुरामा शंका छैन “।

हालका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले  बुधबार नै पदबाट राजिनामा दिएपछी गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि चैत २७ गतेसम्मको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन् ।  प्रदेशमा रहेका दलहरुले बहुमत अर्थात ३१ जना सांसद पुर्याएर सरकार गठन गर्न गएमा सोहि अनुसारको सरकार बन्ने छ भने बहुमत पुर्याउन नसकेमा संसदको सबैभन्दा ठुलो दलको नाताले नेपाली काँग्रेसले नै सरकार गठन गर्न पाउने छ।  त्यसपछी १ महिना भित्रमा नया सरकारले बिश्वासको मत लिनुपर्ने हुन्छ।

२१ चैत्र २०८०, बुधबार १९:३० मा प्रकाशित
Nabintech