Play

सहकारीमा शुद्दिकरण आबश्यक, सहकारी ठगलाई राजनीतिक सरक्षण नदिऔं- मन्त्री जिसी

प्रभातफेरी र रक्तदान सहित उत्कृष्ट काम गर्ने सहकारीहरू पुरष्कृत, सभागृह गेटमा पिडितको धर्ना


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका भुमि व्यवस्था तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले सहकारी संस्थामा सुद्धिकरण आबश्यक रहेको बताएका छन्। ६७ औं सहकारी दिवसका अबसरमा जिल्ला सहकारी संघ कास्कीले आयोजना गरेको बिशेष समारोहलाइ सम्बोधन गर्दै मन्त्री जिसीले देशका विभिन्न शहरहरुमा शाखा खोलेर ठुला सहकारी अभियन्ता हौँ भन्नेहरु नै अहिले राष्ट्रिय ठगको रुपमा जनतामाझ चिनिएको बताए ।

उनले भने, “अब सहकारीहरुमा सुद्धिकरण आबश्यक छ, पहिले गोरा मान्छे देख्ने बित्तिकै अमेरिकन भनिए जस्तो अहिले सहकारी अभियन्ताहरुलाई जनताले राष्ट्रिय ठगको रुपमा लिन थालेका छन,  तसर्थ अब जनताले बाहिरबाट आएर सहकारी संचालन गरि बढी ब्याज दिन्छौं भन्नेलाई राम्रोसंग चिन्न आबश्यक छ ।”

देशमा ३१ हजारभन्दा बढी सहकारी रहेको भएपनि विभिन्न बहानामा ठगि गर्ने सहकारीको संख्या नगन्य रहेको बताउंदै उनले केहि सहकारीको कारण अरु धेरै र राम्रा सहकारीमा समेत समस्या उत्पन्न हुन लागेको भन्दै चिन्ता प्रकट गरे ।

यसै सन्दर्भमा मन्त्री जिसीले गाउँको सानो पुंजीलाई एकीकृत गर्ने, सानो कामको लागि साहुकोमा ऋण लिनुपर्ने अबस्थाको अन्त्य गर्ने र महँगो ब्याज तिर्नुनपर्ने जस्ता फाइदा सहकारीबाट हुने भएपनि कानुनको छिद्रलाई प्रयोग गरेर  सुर्यदर्शन र इमेज लगायतका केहि सहकारीहरूले जनताको पुंजी अपचलन गरेको स्पष्ट पारे।  शेयरसदस्य नै नभएको व्यक्तिलाई लगानी गर्ने र त्यस्तालाई राजनीतिक संरक्षण समेत दिने काम भएको भन्दै मन्त्री जिसीले यस किसिमको बिकृति हटाउनुपर्नेमा जोड दिए ।

जनताको पुँजीको संरक्षण गरी अपचलन हुन नदिन बाणिज्य बैंकहरुको ऋण प्रबाहको अवस्था हेर्ने कर्जा सूचना केन्द्र जस्तै निकाय बनाएर प्रभाबकारी अनुगमन गर्नुपर्ने उनले बताए । एकैजना मानिस १० वटा सहकारीको शेयर सदस्य बन्ने र सबैबाट ऋण लिने प्रबृत्ति अन्त्य हुनुपर्नेमा मन्त्री जिसीले जोड दिए ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीका पूर्व अध्यक्ष प्रभा कोइरालाले अहिले कास्की जिल्ला सहकारी संघमा ७ सय भन्दा बढी सहकारी आबद्द रहेको भन्दै तिनको सरक्षण राम्रोसंग गर्न सहकारी संघलाई आग्रह गरिन । उनले छिटो दौडेर लोटने भन्दा होशियारी पुर्बक हिड्ने तर्फ सहकारी संचालक लाग्नुपर्ने बताईन।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रबिरमण तिवारीले २/४ वटा सहकारीको कारण सबै सहकारीमा बिश्वासको संकट बढ्न थालेको भन्दै पोखरा बाहिरबाट आएर निजि कम्पनि जस्तो गरि संचालित सहकारीको कारण जनता ठगिनुपरेको स्पष्ट पारे ।उनले सहकारीहरु  शुशासनयुक्त र युवा मैत्री हुनुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष एबम ६७ औं सहकारी दिवस मूलआयोजक समितिका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष कमला गिरि, जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने, संघकी उपाध्यक्ष  अम्बिका गौतम आचार्य र महासचिब दिपक बाँस्तोला लगायतले कास्कीमा सहकारी समस्या समाधान गर्न ठुलो जटिलता नभएको र आगामी दिनमा सहकारीको बिकास संख्यात्मक भन्दा पनि गुणात्मक हुनुपर्नेमा जोड दिएका थिए ।

सोहि कार्यक्रममा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाका पूर्व अध्यक्ष मेजर तुलसी प्रसाद गुरुंगको स्मृतिमा सहकारीहरुलाई पुरष्कृत गर्ने उद्देश्यले कोष स्थापना गर्न कास्की जिल्ला सहकारी संघलाई १ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेको छ। संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ मैनाले उक्त रकम गण्डकी प्रदेशका सहकारी मन्त्री महेन्द्रध्वज जिसीको उपस्थितिमा संघका अध्यक्ष सावित्री कोइरालालाई हस्तान्तरण गरेकी थिईन ।

सहकारी दिवसकै अबसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट हुने सहकारी संस्थाहरुलाई त्यस अबसरमा पुरस्कार एबम प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सहकारी मन्त्री जिसीले बिजयीहरुलाई पुरष्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । जसअनुसार चैत्र १८ गते आयोजित रक्तदानमा धेरै रक्तदान गर्ने फेवा बचत तथा ऋण सहकारीका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, शुभ सौगात बचत तथा ऋण सहकारीका अध्यक्ष ललित बहादुर बानिया र समग्र महिला बचत तथा ऋण सहकारिका अध्यक्ष सबिना अधिकारी क्षेत्रीलाई पहिलो, दोश्रो र तेश्रो स्थान स्वरूप र पामे बचत तथा ऋण सहकारीका सुर्यमोहन पराजुली समेतलाई सान्त्वना स्वरूप प्रसंसा पत्र प्रदान गरिएको थियो ।

सहकारी दिवसको सन्दर्भमा मंगलबार आयोजीत प्रभात फेरी कार्यक्रममा झाँकी र र्याली प्रदर्शन गरेका सहकारीहरु मध्येमा शुभ सौगात बचत तथा ऋण सहकारी संस्था, समग्र महिला बहुउद्देस्यिय सहकारी संस्था र सयपत्री बचत तथा ऋण सहकारी संस्थाले क्रमश पहिलो दोश्रो र तेश्रो स्थान प्राप्त गरेको कारण सोहि अनुसार प्रसंसापत्र प्रदान गरिएको थियो।  प्रभातफेरीमा ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्थालाइ सान्त्वना स्थान प्राप्त भएको थियो ।

सहकारी दिवसको सन्दर्भमै आयोजित बिध्यालय स्तरीय निबन्ध प्रतियोगितामा मदरल्याण्ड बोर्डिंग स्कुलका साश्वत रेग्मीले प्रथम स्थान तथा अन्य विभिन्न बिद्यालयका बन्दना बिकले दोश्रो,सबिना श्रीपालीले तेश्रो तथा सक्षम बिकले शान्त्वना स्थान प्राप्त गरेका थिए। उनीहरुलाई क्रमश रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो। सहकारी अध्यक्ष समाजका संयोजक दिल्लीराम बरालको संयोजकत्वमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

सहकारी दिवसको अबसरमा आयोजित प्रभात फेरी कार्यक्रम अन्तर्गत पोखरा क्षेत्रका सहकारीका सदस्य र कर्मचारीहरु आफ्नो ब्यानर सहित पोखराको चिप्लेढुंगाबाट र्याली सहित पोखरा सभागृह पुगेका थिए प्रभातफेरीमा पोखराका सैयौं सहकारीको सहभागिता रहेको थियो ।

कार्यक्रमस्थल बाहिर अर्थात् सभागृहको प्रवेशद्वारमा पोखराका विभिन्न सहकारीबाट पिडित सर्बसाधारणहरुले प्लेकार्ड र ब्यानर सहित उपस्थित भएर सहकारी ठगहरुलाई कारबाही गर्न र पिडितको पैसा फिर्ता गर्ने बाताबरण बनाईदिन राज्यपक्ष संग माग गरेका थिए ।

२० चैत्र २०८०, मंगलवार २२:४९ मा प्रकाशित
Nabintech