Play

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सवको तयारी, तिस प्रतिशत सम्म छुट दिईने

घोडा दौडदेखि भलिबल र बास्केटबल प्रतियोगिता पनि हुने, एक लाख रुपैयासम्म पुरस्कार


गुरुकुल खबर


पोखरा, स्वदेशी एबम बिदेशीहरु माझ पर्यटकीय गाउँको रुपमा परिचित कास्कीको घान्द्रुक गाउँमा यही चैत्रको अन्तिम साता पर्यटन महोत्सब हुने भएकोछ।  घान्द्रुक गाउँ अन्नपूर्ण गाउँपालिकाको  वडा न १० र ११  मा पर्छ ।

पोखरालाई सरकारको स्तरबाट पर्यटकीय राजधानी घोषणा  भैसकेको भए पनि सरकारको तहबाट बिशेष कार्यक्रम तय नभएको अबस्थामा घान्द्रुकमा हुने महोत्सवले पनि पर्यटकीय गतिबिधि बढ्ने अपेक्षा गरिएको छ। महोत्सब यही चैत्र २७ गते बाट ३० गते सम्म संचालन हुनेछ ।

महोत्सव अवधिमा घान्द्रुक जाने पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने निर्णय घान्द्रुक पर्यटन व्यवस्थापन समितिले गरेको छ । यस किसिमको छुटसंगै घान्द्रुक पुग्ने पर्यटकको संख्या अझ बढ्ने बिश्वास गरिएको छ।  घान्द्रुक पर्यटन ब्यबस्थापन समितिले गत वर्षदेखि पर्यटकीय गतिबिधि बढाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

महोत्सबको अबसरमा त्यहाँ विभिन्न खेलकूद प्रतियोगिताहरु पनि हुनेछन्।  प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई भने खाना र बस्नको लागि प्रति व्यक्ति ६ सय रुयैयाँ मात्र निर्धारण गरिएको छ ।

घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । घान्द्रुकमा पर्यटक पुग्ने सिजनमा एकै दिनमा  १ हजार ५ सय भन्दा बढी पर्यटक समेत पुगेको जानकारी घान्द्रुकका राजनीतिक एबम सामाजिक कार्यकर्ता ललित गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए ।

महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिन महोत्सबको आयोजना गरिएको आयोजकको भनाई छ ।

महोत्सव बारेमा जानकारी दिन बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित पर्यटक भित्राउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको बताए ।

उनले महोत्सवमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, चक्रीय पदमार्ग दौड प्रतियोगिता, ठेलो प्रतियोगिता र म्युजिकल प्रतियोगिता आयोजना गरिने समेत बताए ।

क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नछन् ।

पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार पुरुष भलिबलतर्फ सहभागिताका लागि दर्ता शुल्क ५ हजार र महिलातर्फ ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

महोत्सवका संयोजक अमृत लामा गुरुङले खुल्ला बास्केटबल प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । उनका अनुसार टिम दर्ताका लागि ५ हजार रुपैयाँ लाग्ने छ  ।

यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।

महोत्सवको हरेक दिन बेलुका विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले बताए । उनका अनुसार महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछ । महोत्सवको अन्तिम दिन लोक तथा दोहोरी गायक राजु परियारको प्रस्तुती रहने उनले बताए ।

 

१५ चैत्र २०८०, बिहीबार १८:१६ मा प्रकाशित
Nabintech