Play

नेपाललाई राजनीतिक प्रयोगशाला बनाउने प्रयास भयो- महासचिब पोखरेल, यस्तै अवस्था रहे एमाले झन् कमजोर बन्छ- सचिब बिष्ट र अर्याल

एमाले सचिब द्वय बिष्ट र अर्यालको भनाइ- पार्टीमा गुटबन्दी बढ्यो, यस्तै भए एमाले अझ कमजोर बन्छ


गुरुकुल खबर


पोखरा,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि नेपालका पुराना दलहरुले केहि गर्न नसकेका कारण देश बनेन भन्ने भाष्य तयार गर्न खोजिएको भन्दै असन्तुष्टी जाहेर गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको उद्घाटन शत्रलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले पुराना दलहरुले गरेनन् भन्दै नया दलहरु स्थापित हुन खोजिरहेको आरोप समेत लगाए ।

एमाले महासचिब पोखरेलले नया पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टी प्रति लक्षित् गर्दै विकास र समृद्धिकालागि बलिया राष्ट्रिय शक्ति आवश्यक परेको बेला जनमत भने विभाजित भइरहेको उल्लेख गरे। ‘ कहिले नया शक्ति त कहिले स्वतन्त्रका नाममा वा अन्य नाममा जनमत विभाजित गर्ने, पार्टीलाई विभाजित गर्ने र नेपाललाई राजनीतिक प्रयोगशाला बनाउने प्रयाश भैरहेको छ”। उनले अमेरिकालगायत विश्वका शक्तिशाली राष्ट्रहरुमापनि पुरानै शक्तिले विकास र समृद्धि हासिल गरिरहेको उल्लेख गर्दै निश्चित नीति र सिद्दान्तको जगमा खडा भएका दलहरुले नै स्थायीत्व प्रदान गर्ने कुरामा जोड दिए ।

महासचिव पोखरेलले माओबादी सहितको वर्तमान गठबन्धन वामपन्थी गठबन्धन नभएको स्पष्ट पार्दै यसलाई समाजबादी  मोर्चा बनाउनु पर्छा भन्ने मान्यतामा समेत आफुहरु नरहेको उल्लेख गरे । उनले कांग्रेसले वामपन्थीमा फाटो ल्याएर आफ्नो भविष्य देख्ने काम गरिरहेको आरोपसमेत लगाए ।

माओवादी केन्द्रलगायतसँगकाे नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो । हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौँ ” पोखरेलले भने  ।  कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उनकाे भनाइ थियाे। नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अगालेर अगाडि बढ्ने प्रतिबद्धतासमेत पोखरेलले ब्यक्त गरे ।

नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको बताउंदै एमाले नेता पोखरेलले  नेपाली युवाले विदेशबाट पठाएको पैसा घरखर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति चिन्ता प्रकट गरे । शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उनले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गरे ।

विसं २०४७ को संविधानमा केही कमजोरी भएकाले पूर्वराजा ज्ञानेन्द्रले तत्कालिन अबस्थामा चलखेल गर्ने बाटो पाएको बताउँदै महासचिव पोखरेलले अहिले पनि पुराना पार्टीलाई कमजोर बनाउन अनेकौँ षड्यन्त्र भइरहेको दाबी गरे ।

एमाले सचिव गोकर्ण विष्टले देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । जबसम्म देशलाई समृद्धितर्फ लैजान सक्दैनाँ, तबसम्म नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जाने क्रम रोकिदैन, विष्टको भनाइ थियो ।

नेकपा एमालेका सचिब  गोकर्ण विष्टले पार्टीभित्र हुने गतिबिधिप्रति अशन्तुष्टी प्रकट गरे । उनले भने-” मनपरे दिसापनि बसाउने र मन नपर्दा श्वासपनि गन्हाउने प्रवृत्ति एमालेमा हाबी छ । पार्टीमा गुट मौलाएको र त्यसको असर कार्यकर्तासम्म पुगेको छ” ,‘

“एउटा कमरेडले अर्को कमरेडलाई टाढा देख्ने अतिवादहरु पार्टीमा बेलाबेला देखिने गरेका छन्, जस्तो कि मन पर्दा फलाना कमरेडको आचीपनि कस्तो बसाको भन्ने र मन नपर्दा फलानो कमरेड त परैबाट आउँदापनि कस्तो ह्वास्स गन्हाएको  । यो प्रकारको अतिवाद र संस्कारबाट माथि उठ्न जरुरी छ । पार्टीमा गम्भीर समिक्षा  हुन सकेन भने पार्टी अझ कम्जोर बन्न सक्छ।” सचिब बिष्टको भनाई थियो

सचिव विष्टले सरकारमा हुँदैमा भुईं छाड्ने र सरकारमा नहुँदैमा आकाश खसेजस्तो नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘सरकारमा हुँदा रामराज्य र नहुँदा आकाश खसेजस्तो गर्ने प्रकारको अतिवाद हाम्रो पार्टीमा छ, यसबाट पार्टी पंक्ति मुक्त हुन जरुरी छ ।’ उनले आर्थिक संकट र न्यून बजेट खर्च भएको चुनौतिपूर्ण घडीमा एमाले सरकारमा गएको बताए । ती चुनौति पार गर्न एमाले सक्षम र सबल हुनुपर्ने भन्दै उनले भने,‘ती चुनौतिहरु पार गर्न सक्यौं भने एमालेको जनमत थपिनेछ, नत्र घट्नेछ ।’

पार्टीका सचिव तथा लुम्विनी प्रदेश ईञ्चार्ज पद्मा अर्यालले अंक गणितका आधारमा सरकारमा बार्गेनिङ गरिरहेसम्म देशमा विकास र समृद्धि सम्भव नभएको बताए । त्यसको अन्त्यका लागि देश ध्रुविकरणमा जानुपर्ने आवश्यक्ता उनले औंल्याए । एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेर देशमा ध्रुविकरण गर्न जरुरी छ,उनले भने,‘एउटा एमालेको नेतृत्वमा वामपन्थी शक्ति र अर्को देशको माया भन्दा अरु कसैको छत्रछायामा चल्ने दक्षिणपन्थी शक्तिका रुपमा ।’

सचिव अर्यालले एमालेमा गुटगत प्रवृत्ति देशैभर झांगिरहेको भन्दै यस अभ्यासले एमालेलाई गलत ठाउँमा पुर्याउने चेतावनी दिईन् । एमालेका नेता कार्यकर्ता भेट्दा पार्टीलाई बलियो बनाउने भन्दा अर्को नेता कार्यकर्ताको कुरा काट्ने प्रवृत्ति मौलाएको भन्दै उनले भनिन्,‘नेतृत्वका लागि प्रतिष्पर्धा गर्छौं र हार्छौं, तर त्यसको बाछिटाले पछिसम्म हानिरहन्छ । नेतृत्वलाई खुईलाउने गलत प्रवृत्ति पार्टीमा हाबी छ । यसलाई छिटोभन्दा छिटो करेक्सन गर्न जरुरी छ ।’

सो अवसरमा एमाले नेता एबम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, सासद् विद्या भट्टराईलगायतले ११औँ अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । महाधिवेशन दुई दिनसम्म चल्ने छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

१० चैत्र २०८०, शनिबार २२:३७ मा प्रकाशित
Nabintech