Play

आयोन ब्राण्डको इभी कारभित्र जलेर मृत्यु हुने को हुन ? ढोका अटोलक हुँदा निस्कन नपाएको प्रहरीको आशंका

गुरुकुल खबर


चितवन, चितवनको भरतपुरमा शुक्रबार बिहान ईभी गाडीमा आगलागी भएर मृत्यु हुनपुगेका गाडी धनी चितवनका शैक्षिक व्यक्तित्व अमर पराजुली रहेको खुलेको छ। बिहान ६ बजेतिर सडकमा गुड्दै गरेको अबस्थामा आगो लागेर जलेको बा. प्र. ०१–०३०– च ५५७९ नम्बरको इभी कारभित्र रहेका पराजुलीले नै आफ्नो कार हाँकेको खुलेको छ ।

प्रहरीले टिकौलीको जंगल कट्ने बित्तिकै रहेको सीसी क्यामराको फुटेज हेरेर गाडी पहिचान गर्नुका साथै यातायातमा रहेको अभिलेख हेरेर सवारीधनी पहिचान भएको जनाएको छ । ५६ बर्षीय पराजुली भरतपुर महानगरपालिका – १२ का स्थायी बासिन्दा हुन् ।

उनी नारायणी विद्या मन्दिर शिवघाटका पूर्वसञ्चालक पनि रहेको खुलेको छ । उनले चलाउँदै गर्दा आगो लागेको गाडी जिएसी आयोन ब्राण्डको इभी हो । उक्त कारभित्र रहेका अमर पराजुलीको जलेर ज्यान गएको छ भने गाडी पनि पूर्ण रुपमा क्षतीग्रस्त अबस्थामा पुगेको चितवन प्रहरीले जनाएको छ ।

भरतपुर ९ वसन्तचोकका घनश्याम पौडेलले कुश काट्न निस्किएका समयमा बिहान पौने ६ बजेतिर पूर्व–पश्चिम हाइवेमा टिकौली जंगलतर्फ जान लाग्दा करिब ५ सय मिटर परबाट एउटा गाडी धुवाँको मुस्लोसहित हुइकेर आइरहेको देखेका थिए । हेर्दाहेदै गाडी सडकको दायाँबायाँ लर्खरिँदै वसन्तचोकमा रहेको इभी चार्जिङ स्टेशन अगाडि मूल सडकमा आइपुगेको र पछाडिमात्रै बलेको गाडी चार्जिङ स्टेशन नजिक आइपुगेपछि अगाडि पनि बल्न थालेको धनश्यामले बताएका छन।

‘त्यसपछि मूल सडकको डिभाइडर नाघेर गाडी बायाँतर्फको सर्भिस लेनतर्फ उफ्रियो र छेउको सिमेन्टको कुर्चीमा ठोक्किएपछि त्यहीँ रोकिएर ह्वार्रह्वार्रर्ती बल्न सुरु गर्‍यो’ उनले भने। आगो कसरी सुरु भयो र गाडी जल्यो भन्ने निष्कर्षमा प्रहरी पुगिनसकेको भए पनि गाडीको पछाडिको भागबाट आगो लागेको सीसीक्यामराको फुटेजबाट पनि देखिएको छ ।

गाडीमा आगो लाग्नासाथ गाडी भित्र रहेका अमर पराजुली किन बाहिर निस्किएनन् भन्ने प्रश्न सबैतिरबाट उठेको छ । कतिपयले यसलाई आत्मदाहको रुपमा समेत चर्चा गरेका छन । तर चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल भन्छन्, ‘इभी गाडीमा भित्रबाट ढोका अटो लक हुने भएकोले खोल्न नसकिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जलिरहेको गाडी देख्ने स्थानीयले पनि चालकले ढोका खोल्न प्रयत्न गरेको जस्तो देखिएको बताएका छन्। भरतपुर ९ का स्थानीय खगेन्द्र पौडेलले आफू मर्निङ वाकमा निस्किदा गाडी आगोको मुस्लोसहित उडेको जस्तो स्पीडमा आएको बताए । उनले भने, ‘आगोले निसास्सिएपछि निस्किन प्रयत्न गरेको जस्तो चाहीँ देखिएको थियो । तर, आगो यति ठूलो थियो कि हामी स्थानीयले सहयोग गर्नसक्ने अवस्था नै भएन ।’

२६ भाद्र २०८३, शुक्रबार १८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा