Play

प्रम प्रचण्ड पोखराका बिबिध कार्यक्रममा, ढुक्क भएर लगानी गर्न ब्यबसायीलाई आग्रह

गुरुकुल खबर


पोखरा,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीलाई त्रसित नभइकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्  । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई  पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

“देशमा लगानीको वातावरण बनेको छ । व्यापार व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,” प्रधानमन्त्री प्रचण्डले भने , “पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानून पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै भने , “नेपालमा हामी जुन खालको व्यवस्थामा छौँ, यसले सरकार छिटो छिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।”

देशका विभिन्न स्थानबाट सिधै पोखरा आउनका लागि हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब त्यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीबाट नियमित उडानका लागि सरकारले अवश्य पनि वातावरण बनाइने बताए ।

अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उल्लेख प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाउनुभयो ।

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ : प्रधानमन्त्री

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका छन् ।

पोखरामा युवा उध्धमि संगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गरिने बताए ।

“आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने , “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।”

वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे ।

सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दैै प्रधानमनत्री प्रचण्डले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए  ।

अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दैै प्रधानमन्त्री प्रचण्डले ती थालेका काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण सिर्जना भएको बताए  ।

“गतवर्ष महत्त्वपूर्ण उपलब्धीहरू प्राप्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने , “तर, मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।”

शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्री

प्रधानमन्त्री एवं शहीद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका छन् । सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए।

अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले शहीदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित शहीद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा सरकारले ध्यान दिने बताए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।

३ चैत्र २०८०, शनिबार २३:२९ मा प्रकाशित
Nabintech