Play

राष्ट्रिय सभा चुनावका लागि समन्वय गर्न सत्ता गठबन्धनको संयोजकमा लेखक

गुरुकुल खबर


माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ।

१९ सिट भागबन्डा गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले साझा उम्मेदवार तय गरेका थिए।

पुस २३ गते सत्ता गठबन्धनका तर्फबाट १९ जना उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन्। गठबन्धनसहित विभिन्न पार्टीबाट १९ सिटका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति २०८० गठन गरेका हुन्।

बुधबार बसेको बैठकले लेखकको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र जसपाका नेता मनिष सुमन सदस्य रहेको समन्वय समिति गठन गरेको हो।

बुधबारको बैठकले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र ७७ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको केशवराज जोशीले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

२५ पुष २०८०, बुधबार २०:०७ मा प्रकाशित
Nabintech