Play

राष्ट्रिय सभा निर्वाचन-तीन पदका लागि कांग्रेस, एमाले, माओवादी र राप्रपाबाट आठ जनाको उम्मेदवारी

गण्डकी प्रदेशमा गठबन्धनका उमेदवार जिताउन गठबन्धन दलको निर्णय, उमेदवारी दर्तामा कांग्रेसको झण्डा नरहेको भन्दै कार्यकर्ताको असन्तुष्टी


गुरुकुल खबर


पोखरा, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुको तर्फबाट उमेदवारी दर्ता गरिएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट तिन जना चुनिनेछन् । तीन पदका लागि सोमबार प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा आठ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये दुई सिटमा कांग्रेस र एक सिटमा नेकपा माओवादीका तर्फबाट उमेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको तर्फबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ र अपांगता/अल्पसंख्यक क्लस्टरमा तनहुँका पदमबहादुर परियारले मनोनयन दर्ता गरेका हुन् ।महिला क्लस्टरमा माओवादीकी मनरुपा शर्माले उमेदवारी दर्ता गराएकी छन । उनी पर्वत जिल्लाकी हुन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले तीन वटै क्लस्टरमा उमेदवारी दिएको छ । अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई नेकपा एमालेले उम्मेदवार बनाएको हो।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदवारी दर्ता भएको छ।अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठले राप्रपाबाट उम्मेदवारी दर्ता गराएका छन ।

यसअघि राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ । गण्डकीमा अन्य, महिला र अपांगता/अल्पसंख्यक गरी तीन क्लस्टरका एक–एकजनाको पद रिक्त हुँदै छ । सोही रिक्त पदमा हुने निर्वाचनका लागि दलहरूका उम्मेदवारले सोमबार आ–आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्यहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेको कारण गण्डकी प्रदेशमा तिन पद रिक्त भएको हो । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए।

आसन्न राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यहरु र यो प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुनेछन । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ । मतभारको हिसाबले हेर्ने हो भने गण्डकीमा सत्ता गठबन्धनको पल्लाभारी छ । गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । यो प्रदेशमा ८५ पालिका छन् । पालिकाहरुबाट १ सय ७० मतदाता छन् ।

प्रदेशसभातर्फ ३ हजार १ सय ८० र स्थानीय तहतर्फ ३ हजार २ सय ३० मतभार छ । प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेशम कुल मतभार ६ हजार ४ सय १० छ ।

यसैबिच गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उमेदवारी दिएका गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन भन्दै सोमबार नेपाली काँग्रेस गण्डकी प्रदेशको सभाहलमा गठबन्धन दलका नेताहरुको वैठक सम्पन्न भएको छ ।

वैठकले ५ दलिय गठबन्धनको वैठकबाट मूल आयोजक समिति र उपसमितिहरु गठन गरेको नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बाँस्तोला (मधु)ले जानकारी दिएका छन । प्रवक्ता बाँस्तोलाका अनुसार नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज राज शर्माको संयोजकत्वमा निर्वाचन मूल समिति गठन भएको छ । जसको सदस्यहरुमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल, नेपाल समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष किरण थापा, जनता समाजवादी पार्टी गण्डकी प्रदेशका अध्यक्ष गोपाल गुरुङ र संसदीय दलका नेताहरु पदेन सदस्य रहेका छन ।

त्यसैगरी नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेकोको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा काँग्रेसको तर्फबाट माधवप्रसाद बास्तोला (मधु), नन्दप्रसाद न्यौपाने, माओवादीको तर्फबाट गुणाखर बस्याल, जगन्नाथ खनाल, कुशुम बुढा, नेकपा एकीकृत समाजवादीका तर्फ कृष्ण बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तर्फबाट रविमोहन ढकाल र नेपाल समाजवादी पार्टीका तर्फबाट चित्र सापकोटा रहेको बतांईएको छ ।

वैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचार प्रसार गर्नका लागि जिल्ला जिल्लामा जाने निर्णय समेत गरेको प्रवक्ता बाँस्तोलाले बताए ।गठबन्धन दलको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेल, एकीकृत समाजवादी गण्डकी प्रदेशका स्थायी कमिटी इन्चार्ज तुलबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दुई जना र नेकपा माओवादीको तर्फबाट एक जना उम्मेदवारले सोमवार मनोनयन दर्ता गरेका छन ।। जसमा नेपाली काँग्रेसको तर्फबाट अन्यमा किरणबाबु श्रेष्ठ, अल्पसंख्यक वा अपाङ्गतामा पदमबहादुर परियार र माओवादीको तर्फबाट महिलामा मनरुपा शर्माको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेस पार्टीको झण्डा नदेखिएको भन्दै कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट

उमेदवारी दर्ता गराउन जांदा नेपाली कांग्रेस पार्टीको झण्डा समेत नदेखिएको भन्दै कांग्रेस कार्यकर्ताहरुले असन्तुष्टी प्रकट गरेका छन । कांग्रेसको तर्फबाट दुई जनाको उमेदवारी दर्ता हुंदैछ भन्ने थाहा पाएर हतार हतार निर्वाचन आयोगको कार्यालय नजिक पुगेका एक कांग्रेस कार्यकर्ताले कतै पनि कांग्रेसको झण्डा नदेखिएको भन्दै गुनासो गरे ।

अर्का कांग्रेस कार्यकर्ताले कास्की जिल्लाको पोखरामा उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेकोले कम्तिमा कास्की कांग्रेसको सभापति सहितको टोली झण्डा सहित देखिनुपर्नेमा त्यस्तो नहुंदा दुख लागेको बताए।

स्थानीय जिल्ला समितिले झण्डाको व्यवस्था नगरेको देखेपछि गण्डकी प्रदेश समितिको कार्यालय र प्रदेश सभापति समेत पोखराकै रहेको कारण उनले पनि झण्डाको व्यवस्था गरेका होलान भन्ने कार्यकर्ताको आशा समेत निराशामा परिणत भएको थियो ।

कतिपयले त राष्ट्रिय सभा सदस्यको उमेदवारी दर्ता गराउने किरण श्रेष्ठ स्वयं नै कांग्रेस गण्डकी प्रदेशको महामन्त्री रहेको कारण उनले नै झण्डाको व्यवस्थापन गर्नुपर्थ्यो भनि गुनासो गरे ।

तर उमेदवारी दर्ता गर्न जांदा माओवादीको झण्डा मुनि मात्र कांग्रेसका उमेदवार, नेता र कार्यकर्ता बस्नुपरेको भन्दै आक्रोस समेत पोखेका थिए ।जे होस, यस अगाडीको निर्वाचनमा कार्यकर्ताको जुन उत्साह देखिने गरेको थियो, त्यो खालको उत्साह भने यस पटक कुनै पार्टीमा पनि नदेखिएको प्रत्यक्षदर्शीहरु बताउंछन ।

२३ पुष २०८०, सोमबार २१:०९ मा प्रकाशित
Nabintech