Play

क्याम्पस भवन बनाउन देउसी भैलो खेलिने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्थ यही कात्तिक २४ गतेदेखि ३० गतेसम्म देउसीभैलो गरिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०६९ सालमा स्थापित दक्षिण पोखराको एक मात्र सामुदायिक क्याम्पसले विभिन्न आरोह अवरोहका बीच १० वर्ष पार गरिसक्दा पनि आफ्नो भवन नहुँदा समस्या भोग्नुपरेको वास्तविकतालाई दृष्टिगत गरी भवन निर्माणका लागि देउसीभैलो गर्न लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

दिगो आर्थिक स्रोत र भौतिक पूर्वाधारको अभावमा क्याम्पस संकटमा पर्दै गएको उल्लेख गर्दै उनले क्याम्पसको अस्तित्व र पहिचान टिकाउनुु जरुरी रहेको बताए ।

सरस्वती टिका बहुमुखी क्याम्पसको जीवन रक्षाको निम्ति र दीर्घकालसम्म यस क्याम्पसलाई जीवन्त बनाउन शैक्षिक गतिविधि सञ्चालन गर्न क्याम्पसको जग्गा दर्ता प्रकृया, एक करोडसम्मको अक्षयकोष, आठ कोठे पक्की भवनको निर्माण तथा आगामी वर्षहरूमा बि.बि.ए लगायतका प्राविधिक विषयहरू सञ्चालन गर्न सहयोग जरुरी रहेको उनले बताए ।

क्याम्पसको स्थापनाका लागि झन्डै ४९० जना सेनेटर सदस्यहरू संगठित भई विश्वविद्यालय तहको चार वर्षे बि.बि.एस. तथा सामाजिकी तथा मानविकी शास्त्र संकायका कक्षाहरू सञ्चालन भैरहेको क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले बताए ।

क्याम्पसले आर्थिक तथा भौतिक संरचना विकासका अभावका वावजुत पनि शैक्षिक उपलब्धी हासिल गर्ने सन्दर्भमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए ।

दक्षिण पोखराको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक गहना र सिंगो फुस्रेखोला र सेती नदी पारीका कृष्ति, निर्मलपोखरी, भरतपोखरी, स्याङ्जाको टक्सार, तनहुँ र पोखराको २९ र ३० नं. को वडा समेतलाई केन्द्रित गरि सेवा प्रदान गरिरहेको उनको भनाई छ ।

कार्यक्रम अन्तर्गत प्रत्येक दिन २.०० बजेदेखि विभिन्न स्थान विशेष निर्धारण गरी दैउसीभैलो गरिने जनाइएको छ । जस अन्तर्गत कात्तिक २४ गते पोखरा–२१ दुवारदेखि लप्सीकुनासम्म, २५ गते पोखरा–३३ ठूूलढुुङ्गा चोकदेखि शान्ति टोलसम्म, २६ गते पोखरा–३३ का शान्ति टोल, चिसापानी, आदर्शटोलमा देउसीभैलो गरिने भएको छ । त्यस्तै २७ गते पोखरा–३३ आदर्श टोलदेखि सिस्ने, तोरीचौर, २८ गते पोखरा–३३ महाकालीचोकदेखि बसपार्कसम्म, २९ गते पोखरा–३३ बसपार्कदेखि तोरीपेल्ने चौतारा र ३० गते पोखरा–३३ शिववस्तीमा देउसीभैलो गरिने जनाइएको छ ।

प्रत्येक दिनमा गरिने देउसीभैलोका लागि सञ्चालक समितिका सहजकर्ता तोकिएको जानकारी दिदै अध्यक्ष बरालले स्थानीय व्यवस्थापनमा स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लब, सहकारी र बन समुुहलाई जिम्मा लगाइएको बताए ।

क्याम्पसको यस अभियानमा वडा कार्यालय, पोखरा महानगरपालिका, प्रदेश सभा सदस्य एवम् संघीय सांसद, स्थानीय समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमी एवम् सम्पूर्ण राजनीतिक व्यक्तित्व र आम सर्वसाधारणलाई साथ र सहयोगका लागि अपिल गरिएको छ ।

 

२३ कार्तिक २०८०, बिहीबार १४:३८ मा प्रकाशित
Nabintech