Play

कपडा व्यवसायी एसोसिएसनद्वारा रक्तदान कार्यक्रम

गुरुकुल खबर


पोखरा, कपडा व्यवसायी एसोसिएसन कास्कीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा आयोजित कार्यक्रममा ५२ जना रक्तदाताहरूले रक्तदान गरेका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले व्यवसायीहरूले व्यापार व्यवसायका साथै उत्कृष्ट सामाजिक कार्यहरू समेत गर्दै आइरहेको बताए । कपडा व्यवसायी एसोसिएसन पोखरा उद्योग वाणिज्य सङ्घको उत्कृष्ट वस्तुगत सङ्घका रूपमा स्थापित भैसकेको उल्लेख गर्दै उनले यसका गतिविधिहरू स्मरणयोग्य रहेको बताए ।

व्यवसायीहरूको छाता संस्थाका हैसियतले सङ्घ व्यवसायीका तमाम समस्याहरूको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्ध रहेको बताए । बजारमा उत्पन्न कठिनाइ लगायत राज्यका तर्फबाट हुनु पर्ने नीतिगत सुधार तथा सहजिकरणमा आफूहरू निरन्तर लागि रहेको उनले सुनाए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, फ्लोरिङ एन्ड फर्नेसिङ व्यवसायी सङ्घ कास्कीका अध्यक्ष जीवन प्रकाश श्रेष्ठ, थोक व्यवसायी सङ्घका अध्यक्ष टिकाराम सुवेदी, कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष दुर्गा बराल, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्ष इन्द्र अर्याल लगायतले व्यवसायीक समस्याहरूको समाधानका लागि एकीकृत प्रयासमा जोड दिए ।

एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताए । नियमित कार्यक्रमका रूपमा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको उनले बताए ।

संस्था अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेल र सञ्चालन संस्थाका सचिव एवं कार्यक्रमका संयोजक पूर्ण बहादुर थापाले गरेका थिए ।

३१ असार २०८०, आईतवार १७:०७ मा प्रकाशित
Nabintech