पोखरा, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रका कतिपय स्थानमा अझैसम्म पनि राहत सामग्री पुग्न सकेको छैन। बाढीले सडक संजाल बिच्छेद गरेपछि रसुवा र नुवाकोटका कतिपय गाउँका बासिन्दाहरुले खाधान्न सामग्रीको अभाव व्यहोर्नुपरेको छ। यस्तो अबस्थामा पोखराबाट बाढी पिडितको लागि राहत सामग्री लिएर नुवाकोटको किस्पांग गाउँपालिका -५ चाम्पानी पुगेका ‘भ्वाइस फर फ्युचर, नेपाल’ (भबिष्यका लागि आवाज, नेपाल) संस्थाका अध्यक्ष कुमार रानाका अनुसार कतिपय गाउँमा खाधान्न सामग्रीको अभावका कारण मानिसहरु भोकभोकै रहनुपर्ने बाध्यात्मक अबस्था छ ।
‘वास्तविक बाढी पिडित वा प्रभावित समक्ष पुगेर राहत सामग्री वितरण गर्ने योजना हामीले बनाएपछि त्यस क्षेत्रमा सम्पर्क गर्दा उनीहरुको चाहना नगद वा पैसा भन्दा खाधान्न र उपभोग्य सामान पाए हुन्थ्यो भन्ने नै थियो। सोही अनुरुप हामीले पोखरा क्षेत्रका केहि साथीहरुबाट संकलित केहि नगदबाट चामल लगायतका खाधान्न सामग्री किनेर दुईवटा गाडीमा लिएर वितरण गरेको हौँ।’ अध्यक्ष रानाले गुरुकुल खबरसंग भने ।

अध्यक्ष रानाका अनुसार ५५ परिवारको लागि ५५ बोरा चामल सहित दाल, कोशेली तेल, नुन, रारा चाउचाउ, हिमाल दालमोठ, सोयाबिन लगायतका बिभिन्न उपभोग्य सामग्री पोखराबाट लगेर नुवाकोटको किस्पांग- ५ चाम्पनीमा वितरण गरिएको हो। रसुवा र नुवाकोटको सिमानामा पर्ने उक्त स्थानमा राहत सामग्री बुझ्नेमा केहि रसुवा जिल्लाका बाढी पिडितहरु समेत रहेका थिए । पोखरा क्षेत्रका केहि व्यक्ति र विदेशमा रहेका केहि नेपालीहरुबाट नगद एबम जिन्सी संकलन गरेर उक्त स्थानमा वितरण गरिएको हो।
चाम्पानीकी सामाजिक कार्यकर्ता संगीता गुरुङसंगको समन्वयपछि पोखराबाट खाधान्न एबम उपभोग्य सामग्री लिएर गएको टोलीले दुई दिन समय लगाएर कठिन यात्रा तय गर्दै स्थानीय गाउँबासीको आबश्यकता अनुरुप ३ लाख रुपैया भन्दा बढी मुल्यको सामान वितरण गरेको हो। उक्त गाउँका एकै परिवार ५ जना सहित ६० भन्दा बढी अहिलेसम्म पनि सम्पर्क बिहिन अबस्थामा रहेको र ४० भन्दा बढी परिवार घरवारविहीन बन्न पुगेका छन ।

खाधान्न सामग्री लिएर गएका भबिष्यका लागि आवाज नेपालका कोषाध्यक्ष राजकुमार गुरुङले बाढीका कारण त्यस क्षेत्रका सर्बसाधारणले अकल्पनीय पीडा भोग्नुपरेको भन्दै बाढी प्रभावित क्षेत्रमा पुगेर हेर्दा मन भक्कानिने मात्र नभएर युगको सबैभन्दा ठूलो त्रासदीपूर्ण घटना भएको जस्तो अनुभुती भएको बताए ।
यसैगरी सोही टोलीमा चाम्पानी पुगेर फर्किएका गणेशमान फाउन्डेसनका गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले बिभिन्न स्थानमा बिभिन्न संस्थाले संकलन गरेको राहत सामग्री सकेसम्म प्रभावित क्षेत्रमै पुर्याउनुपर्नेमा जोड दिए । राहत तथा खाधान्न सामग्री केहि ब्यारेक वा सुरक्षाकर्मीहरु रहेको स्थानमा जम्मा गरिएको भएपनि सडक यातायातको सुबिधा नहुँदा पिडित परिवारसंग राहत सामग्री सहज ढंगले पुग्न नसकेको तिमिल्सिनाले बताए ।
पोखराबाट गएको टोलीमा संस्थाका अध्यक्ष बुद्धिबहादुर राना (कुमार ), कोषाध्यक्ष राजकुमार गुरुङ सहित संस्थाका सदस्यहरु दुर्गा तिमिल्सिना, महेश तिमिल्सिना, पदम बस्टाकोटी ,नरेन्द्र मरासिनी र जीवन हिमाली लागयत रहेका थिए । उनीहरुलाई गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ सहित संस्थाका सदस्यहरुले बिदाई गरेका थिए।

हालै मात्र संघसंस्था दर्ता ऐन अनुरुप दर्ता गरिएको ‘भविष्यका लागि आवाज, नेपाल’ (भ्वाइस फर फ्युचर, नेपाल) संस्थाको अध्यक्ष बुद्धिबहादुर राना, उपाध्यक्षमा माइकल कर्माचार्य, महासचिबमा गंगाधर पराजुली, सचिबमा रेश्मा बैध रहेकी छन भने कार्यसमितिका सदस्यहरुमा जगन बहादुर गुरुङ र शान्ति गुरुङ तथा सल्लाहकारहरुमा आनन्दराज मूल्मी, गणेशबहादुर भट्टराई, बाबुराम गिरि र किरण केसी लगायत रहेका छन।














