Play

बैंकर्स संघले नै खारेज गर्यो ब्याजदरको भद्र सहमति, अब बैंकहरुले आफूखुसी ब्याजदर तय गर्ने

गुरुकुल खबर


पोखरा, नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति अब बाट लागू नहुने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमति खारेज गरेको हो ।
भद्र सहमतिलाई कतिपयले ब्याजदर निर्धारणमा बैंकहरुको कार्टेलिङको रुपमा समेत बुझ्दै आएका थिए । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले स्पष्ट पारे ।

आगामी १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल निर्धारण गर्न सक्ने छन् । भद्र सहमति खारेज भए पनि राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाउन वा बढाउन भने छुट पाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम् ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर यस्तो थपघट गर्न सकिने व्यवस्था केन्द्रिय बैंकले गरेको हो ।

हाल सबै बाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । ९.९९ प्रतिशत औसत ब्याजदरको १० प्रतिशत सीमाभित्र रहेर बैंकहरुले १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर तय गर्न उनीहरुले सक्ने छन् ।

संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपको भनदा २ प्रतिशत बिन्दुले ब्याजदर कम कायम गर्नुपर्छ भने व्यक्तिगत मुद्दतिको अधिकतम् ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने निर्देशन राष्ट्र बैंकको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएमा करिब ९ प्रतिशतसम्म झर्न सक्छ भने बढाएमा करिब ११ प्रतिशतसम्म पुग्न सक्छ ।

बैंकहरुसँग करिब १ खर्ब अधिक तरलता रहेको छ भने लगानीयोग्य फण्ड करिब ४ खर्ब रहेको छ । यस्तो अवस्थामा तत्काल कर्जाको माग बढ्ने अवस्था नहुँदा बैंकहरुले निक्षेपको ब्याजदर घटाउन पक्षमा छन् । यस्तोमा अब भद्र सहमति कायम गरेर ब्याजदरमा कार्टेलिङ गर्ने भन्दा बजार विश्लेषण गरेर ब्याजदर तय गर्ने जिम्मा बैंकहरुलाई नै छोड्ने निर्णय बैंकर संघले गरेको छ ।

हाल स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्दै आएकोमा बैंकहरूले आगामी १ साउनबाट भने ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न सक्छन् । यसले तरलतामा केही कमी हुनेछ । तर, अहिले देखिएको अधिक तरलता स्थानिय तहको सञ्चित कोषमा रहको ५० प्रतिशत मात्रै निक्षेप गणना गर्दा पनि कुनै असर नपर्ने विश्लेषण रहेको एक बैंकरले बताए । २६ असारमा बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुग्दा औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८१.६९ प्रतिशत कायम भएको छ ।

२८ असार २०८०, बिहीबार १३:१२ मा प्रकाशित
Nabintech