Play

स्याङ्जाका कांग्रेस नेता खगेन्द्र रेग्मीको निधन

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रेग्मीको बिहान सवा ५ बजे आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिकास्थित गेझवासमा भएको हो । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालयमा राखिने भएको छ ।

जिब्रोको क्यान्सरको उपचार गराइरहेका उनी पछिल्लो समय काठमाडौंबाट घर फर्केका थिए । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति रेग्मी राष्ट्रिय सभाका पूर्व सदस्य समेत हुन् ।

बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई २०१७ पुस १ गते राजा महेन्द्रले अपदस्थ गरेपछि रेग्मी राजनीतितर्फ आकर्षित भएका थिए ।

लामो समय शिक्षण पेसामा समेत आबद्ध रहेका रेग्मी समानान्तर रुपमा राजनीतिमा समेत क्रियाशील रहे । मनकामना मावि, त्रिभुवन आदर्श मावि, दहथुम माविमा उनले लामो समय गणित र विज्ञान विषय पढाए । राजनीतिक स्वार्थको चपेटामा परेका उनी करार शिक्षकका रुपमा कार्यरत रहे । रेग्मी अहिले पनि खगेन्द्र सरका नामले जिल्लामा पुकारिन्छन् ।

बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा होमिएका रेग्मी यातायात र सञ्चारका कुनै पनि साधन उपलब्ध नभएका बेला जिल्लाका हरेक बस्तीमा पुगेर पार्टीको संगठन सुदृढीकरण गर्ने व्यक्ति रहेको लेखक तथा साहित्यकार कमल कोइराला बताउँछन् । खगेन्द्रको आत्मकथा ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ का सम्पादक समेत रहेका कोइरालाले लेखेका छन्,‘उनले निर्माण गरेको संघर्षको बलियो जगमा निर्मित नेपाली कांग्रेसरुपी घरमा पछिल्ला पुस्ताका नेताले सामान्य रङरोगन मात्र गरेका हुन् ।’

सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ २७ गते उनीमाथि माओवादीले गोली हानेका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उनी पटकपटक जेल परे । जेल परेका बेला उनलाई चरम यातना दिइएको रेग्मीले आफ्नो पुस्तकमा लेखेका छन् ।

उनका पिता देवीप्रसाद माता नोनाकुमारी हुन् । आमा नोनाकुमारीबाट जन्मेका १३ सन्तानमध्ये खगेन्द्र तेस्रो हुन् । दाजु रेशम, भाइ अनन्त, दिदी महालक्ष्मी र बहिनी शान्तको बाल्यकालमै निधन भएको थियो ।

खगेन्द्रका भाइहरु श्रीकान्त, नरेन्द्र, भुपेन्द्र, राजेन्द्र हुन् । गृहसचिव भइसकेका श्रीकान्तको २०७८ सालमा निधन भइसकेको छ । बहिनीहरु कृष्णकुमारी, शान्ता, सीता, कल्पना, बिन्दु छन् ।

खगेन्द्रकी अर्की आमातिर ७ भाइ र बुद्धिप्रसाद, बेदप्रसाद, यादवराज, विमलप्रसाद, लुप्तनारायण, दीर्घनारायण, विश्वप्रसाद हुन् भने बहिनीहरु इवकुमारी, शारदा, तोताकुमारी र मुना हुन् । उनीहरुमध्ये वेदप्रसाद, मिमलप्रसाद, दीर्घनारायण, लुप्तनारायण र शारदाको निधन भइसकेको छ । (ईआदर्शसमाजबाट) 

१ जेष्ठ २०८१, मंगलवार ०८:३३ मा प्रकाशित
Nabintech