Play

शिवालय माविमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला

गुरुकुल खबर


पोखरा, कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।

राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रशिक्षक प्रकाश देवकोटाले सहजीकरण गरेका थिए ।

उनले बालविकास कक्षादेखि कक्षा १२ सम्मका सबै विषयका लागि आवश्यक सामग्री निर्माणसम्बन्धी सिपमा आधारित कार्यशाला सञ्चालन गरेका थिए । शिक्षकले आधारभूत ज्ञान र सिप हासिल गरेपछि विद्यार्थीहरूलाई नै प्रयोग गरेर शैक्षणिक सामग्री निर्माण गर्नुपर्नेमा देवकोटाले जोड दिए ।

पाठ्यपुस्तकका आधारमा मात्र होइन, शैक्षणिक सामग्रीका आधारमा अध्यापन कार्य गर्ने हो भने सिक्दिनँ भन्ने विद्यार्थीले पनि थाहै नपाई सिक्न सक्ने भन्दै देवकोटाले शैक्षणिक सामग्रीबिना कक्षाकोठामा नजान शिक्षकहरूलाई आग्रह गरे । कार्यशालाको दोस्रो दिन विषयगत समूहमा निर्मित सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।

सैद्धान्तिक पढाइभन्दा माथि उठेर सिकाइ सहजीकरण गर्नका लागि तालिमबाट प्राप्त ज्ञान र सिपले ठुलो भूमिका खेल्ने सहायक प्रधानाध्यापक ऋषिराम ओझाले धारणा राखे । आफूले लिएका तालिममध्ये सम्झनलायक तालिम यस पटक लिन पाएको आधारभूत तह इनचार्ज विश्वनाथ सुवेदीले प्रतिक्रिया दिए ।

तालिम अत्यन्तै उपयोगी भएकाले यसलाई अन्य सरकारी निकायले पनि निरन्तरता दिनुपर्ने अङ्ग्रेजी विभागका संयोजक बुद्धिराम विश्वकर्माले बताए । उनले आफ्नो जीवनकै सर्वाधिक प्रभावकारी तालिमका रूपमा कार्यशालालाई चित्रण गरे ।

राइट फर चिल्ड्रेनकी शिक्षा अधिकृत मञ्जुकुमारी थापाले संस्थाले पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेकाले कस्तो होला भन्ने लागेको अवस्थामा कल्पना गरेभन्दा राम्ररी तालिम सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले संस्थालाई प्राप्त प्रस्तावनाहरूमध्ये शिवालयको प्रस्तावना फरक खालको भएकाले स्विकृत गरिएको बताइन् ।

यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सकेसम्म गाउँपालिकाको सहयोगमा र नभए विद्यालयले अन्य स्रोत जुटाएर भए पनि यस वर्ष शैक्षिक प्रदर्शनी गरिने जानकारी दिए ।

विद्यालयले हालै अङ्ग्रेजी माध्यमको सिकाइ सहजीकरण सिप विकाससम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको थियो । सो तालिम विद्यालयमै गठित अङ्ग्रेजी विभागको संयोजनमा भएको थियो ।

१० असार २०८०, आईतवार २१:३४ मा प्रकाशित
Nabintech