Play

नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन – मुन्धुममा शक्तिशाली महिला

गुरुकुल खबर


पोखरा ।‘मुन्धुमका मेन्छाना मध्ये तपाईंको पिय पात्र को हुन्?’ मुन्धु संगीतमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेकी गायिका झुमा लिम्बुलाई रजत राई किराती प्रश्न गर्छन्। मुन्धुममा शक्तिशाली महिला पात्रमध्ये झुमा भन्छिन्, ‘हामीलाई लिम्बु भएर खान, लाउन, तान बुन्न र शक्तिशाली बन्न सिकाउने युमा हुन्। लिम्बुवानको हरेक ठाउँ पुग्दा कतै कतै तेर्सो र ठाडो ढुंगा कतै देख्नुभयो भने बुझ्नुस् कि युमाले तान बुनेकी हुन्।’

मुन्धुम अध्येता शान्तिदेवी राई मरिम्मा पात्र सम्झिन्छिन्, उनका अनुसार जसले सम्पूर्ण कुराको सिर्जना गरिन्।
पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिनको एक सेसन ‘मुन्धुमका मेन्छाना’मा झुमा र शान्तिदेवी मुन्धुममा महिलाको स्थानबारे वर्णन गरिरहेका थिए। कार्यक्रमको सहजकर्ता थिए, रजत राई किराती।

मुन्धुममा महिला

लिम्बु समुदायको मुन्धुममा पुरुषले प्रस्ताव राख्नुपर्छ भन्ने मान्यता छैन। झुमा भन्छिन्, ‘मलाई कोही लिम्बु पुरुष मन प¥यो भने प्रस्ताव गर्नु पर्दैन। तानेर नाचे हुन्छ। पुरुषले पनि हात पकडेर लगेर कुरा गर्न पाइयो। त्यो स्वतन्त्रता भएको संस्कृति हो।’

झुमा आफ्ना दिदीहरूले थुप्रै सोल्टीहरूलाई चिठ्ठी लेखेको स्मरण गर्छिन्। उनी आफ्नो समुदायमा प्रेममा स्वतन्त्रता भएको बताउँछिन्। ‘अहिले हाम्रो समाजमा मैले सम्बन्धविच्छेद गरेँ र फेरि बिहे गर्नुपर्यो भने कन्या हुन्छु। मेरो माइतीमा उही अधिकारमा हुन्छु। त्यसको मतलब राई लिम्बुलाई छाडा भनेको पनि पाउँछु। स्वतन्त्र हुनु भनेको साह्रै जिम्मेवारी काँधमा हुनु हो,’ उनी भन्छिन्।

शान्तिदेवी राई समुदायमा पनि प्रेम स्वतन्त्रता हुने बताउँछिन्। ‘हाम्रो समुदायमाप्रेम अन्य समुदायभन्दा ठीक उल्टो छ। महिलाहरूले आफूलाई मन परेको छ भने प्रस्ताव राख्नुहुन्छ। सुम्निमा पारुहाङमा पनि सुम्निमाले प्रस्ताव राखेको हो नि,’ उनी भन्छिन्।

महिलाको हातमा चाबी

‘मुन्धुममाआर्थिक कुरा र निर्णय प्रक्रियामा महिलाको भूमिका कस्तो हुन्छ,’ रजत प्रश्न गर्छन्।
झुमा आफ्नो समुदायमा छोरी जन्मेदेखि नै सुंगुरको पाठा, बाख्राको पाठा लगायत अन्य सम्पत्ति उनको नाममा राख्ने चलन भएको बताउँछिन्। ‘छोरी १५ वर्षको भइसक्दा आर्थिक हिसाबमा छोराहरूभन्दा सबल हुन्छन्। मेरो घरमा पनि दाइहरूले दिदीहरूसँग पैसा माग्थे,’ झुमा भन्छिन्।

छोरीको विहे गर्दा पनि आर्थिक हिसाबमा बलियो होस् भनेर मुन्धुम समुदायमा रीत लिने चलन छ। झुमा रीत नबुझाई लिम्बुनीसँग बिहे गर्न नपाइने चलन आफ्नो समुदायमा रहेको सुनाउँछिन्।

अन्य समुदायमा माइती बित्यो भने छोराहरूले बार्ने चलन छ। तर लिम्बु समुदायमा माइती बित्यो भने बराबरी बार्ने चलन रहेको उनी बताउँछिन्। घरमा सात्ताको साँचो नै आमा र त्यसपछि बुहारीको हातमा हुने उनी बताउँछिन्।

१० पुष २०७९, आईतवार २२:४४ मा प्रकाशित
Nabintech