Play

जारी मतगणना परिणाम – पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्वसभामुख ‘रेडजोन’मा

गुरुकुल खबर


काठमाडौं । आमनिर्वाचनको जारी मतगणना परिणामले पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्वसभामुखलाई ‘रेडजोन’मा पु¥याएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल जारी मतगणनाको प्रारम्भिक परिणामले ‘रेड जोन’मा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मंगलबार दिनभरदेखि राति अबेरसम्म नै पछि पारिरहेका छन् ।

प्रतिनिधिसभामा खनाल इलाम १ बाट नेकपा एकीकृत समाजवादी र बस्नेत नेकपा एमालेबाट उम्मेदवार छन् । यसैगरी, पूर्वउपप्रधामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा पनि ‘रेड जोन’मा पर्ने सम्भावना बढ्दै गएको छ । थापा मकवानपुर १ बाट सूर्य चुनाव चिह्न लिएर उम्मेदवार बनेका हुन् ।

उनी जारी मतगणनामा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डीनासँग पछि परिरहेका छन् । अर्का पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि झापा ३ मा ‘रेड जोन’मा देखिएका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फराकिलो मतान्तरले पछि पारिहेका छन् । त्यस्तै, पूर्वउपप्रधानमन्त्री कांग्रेस नेता विजयकुमार गच्छदार पनि ‘रेड जोन’मा छन् ।

उनी सुनसरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । उनलाई राष्टिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले फराकिलो मतान्तरले पछि पारेका हुन् । उता, एमालेबाट उम्मेदवार बनेका पूर्वसभामुख सुवास नेम्वाङ पनि इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्कासँग फराकिलो मतान्तरले पछि छन् ।

खड्का कांग्रेस इलाम जिल्ला सभापतिसमेत हुन् । अर्की पूर्वसभामुख ओनसरी घर्ती पनि काठमाडौं २ मा ‘रेड जोन’मा छिन् । यो समाचार तयार पार्दासम्म सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित हुने सम्भावना बढेको छ । त्यस्तै, बहालवाला ऊर्जामन्त्री पम्फा भुषाल, खानेपानीमन्त्री उमाकान्त चौधरी, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत ‘रेड जोन’मा पर्ने सम्भावना बढेको छ । यसैगरी, मन्त्री उमेश श्रेष्ठ पनि ‘रेड जोन’मा उक्लँदै छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ भने काठमाडौं ८ बाट पराजित भइसकेका छन् ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरू ईश्वर पोखरेल, महेश बस्नेत, गोकुल बाँस्कोटा, लालबाबु पण्डित, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, उपेन्द्र यादव, भीमसेनदास प्रधान, बिना मगर पनि ‘रेड जोन’मा छन् । काठमाडौं ९ बाट पूर्वमन्त्री कल्पना धमला एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग पराजित भइसकेकी छन्

७ मंसिर २०७९, बुधबार ०८:४५ मा प्रकाशित
Nabintech