Play

नेउबामहासंघको चुनाबमा ७३ पदमा १३७ को उमेदवारी: गण्डकी प्रदेशबाट को को छन चुनाबी मैदानमा ?

गुरुकुल खबर


काठमाडौँ, निजि क्षेत्रको छाता संस्थाको रुपमा चिनिएको नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको साधारण सभा र महाधिबेशन सोमबार शुरु भएको छ । महासंघको कार्यसमितिको पदाधिकारी र सदस्यसहित बिभिन्न पदमा ७३ जना आबश्यक पर्नेमा १ सय ३७ उम्मेदवार चुनाबी मैदानमा उत्रिएका छन् ।

महासंघ विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएकोले बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुने भएको छ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।

महासंघका अनुसार २१ वैशाखमा साधारणसभा तथा महाधिबेशनको उद्घाटन कार्यक्रम र २२ वैशाखमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचन हुने कार्यक्रम तय गरिएको अनुरुप साधारणसभा शुरु भएको हो । वरिष्ठ उपाध्यक्षदेखि विभिन्न उपाध्यक्ष र सदस्य पदसम्म प्यानलगत प्रतिस्पर्धा चर्को देखिएको कारण यसले नै बिजय प्राप्त गर्छ भनेर सहजै अनुमान गर्न समेत कठिनाई रहेको बताइन्छ।

निर्वाचनअघि सदस्यता सम्बन्धी विवादले साधारण सभा तथा महाधिबेशन प्रक्रिया अवरुद्ध भएको थियो। केही वस्तुगत संघको सदस्यता र मताधिकारको विषय अदालतसम्म पुगेपछि साधारणसभा रोकिएको थियो। पछि नयाँ संघलाई सदस्यता दिने तर निश्चित समयसम्म मताधिकार नदिने सहमतिपछि मार्ग प्रशस्त भएको हो।

साधारणसभाले जिल्ला नगरतर्फ दुई उपाध्यक्ष, वस्तुगततर्फ एक र एसोसिएटतर्फ एक गरी चार उपाध्यक्ष चयन गर्नेछ । त्यस्तै, जिल्ला नगरतर्फबाट सदस्यमा ३१ जना, वस्तुगततर्फ १७ जना र एसोसिएटतर्फ १९ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा छुट्टाछुट्टै प्यानल बनाएर दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

महासंघको वर्तमान व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले गर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि नेतृत्वमा पुग्ने निश्चित छ। उनी वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पछि महासंघको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्।

संघको संशोधित विधानमा भने अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिएको कारण पोखराका श्रेष्ठले विधानको हालको ब्यबस्था अन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति बन्ने भएका छन। साथै संशोधित विधानले संरचनागत परिवर्तन ल्याउँदै महिला सहभागिता र नेतृत्व विस्तारमा जोड दिएको छ।

वरिष्ठ उपाध्यक्षका आकांक्षीद्वय हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित चुनावमा होमिएका छन् । ढकाल प्यानललाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वैद्य प्यानललाई हालका बरिष्ठ उपाध्यक्ष एबम अबका अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको देखिन्छ । उनीहरू दुवैले खुला रूपमा आ–आफ्ना प्यानललाई भोट माग्दै आएका छन् । यद्यपि, सहमतिको प्रयास भैरहेको पनि बताइएको छ ।

ढकालको प्यानलमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, महिला उपाध्यक्षमा कमला श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षहरूमा उमेश डालमिया र कल्पना गैरे रहेका छन् । वैद्य प्यानलमा वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा रहेका छन् ।

समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार कुल २ हजार १ सय ५३ मतदाता रहेका छन् । जसमध्ये जिल्ला नगरतर्फ १ सय २९ मतदाता, वस्तुगततर्फ १ सय २४ मतदाता, द्विराष्ट्रियतर्फ ८ र एसोसिएटतर्फ १ हजार ८ सय ९२ मतदाता रहेका छन् । मतदाताको संख्या ठुलो रहेको कारण बढी निर्बाचनमा एसोसिएट समूहको मत निर्णायक हुने अनुमान गरिएको छ।

निर्वाचनमा होमिएका उपाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ र कार्यसमिति सदस्यका उम्मेदवारले १ लाख रुपैयाँ उमेदवारी दर्ता शुल्क बापत बुझाउनुपर्ने र निर्वाचनमा सहभागी प्रतिनिधिले ४ हजार रुपैयाँ रजिष्ट्रेसन बापत बुझाउनुपर्ने ब्यबस्था गरिएको छ ।

यस पटकको निर्वाचनमा उम्मेदवारी शुल्क उल्लेख्य रूपमा बढाइएकाले पनि बहस सिर्जना भएको छ। महँगो उमेदवारी दर्ता शुल्कले प्रतिस्पर्धा महँगो बन्दै गएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

गण्डकी प्रदेशबाट उपाध्यक्ष उमेदवारी दिएका कोइरालाको उमेदवारी फिर्ता अरु को को छन ?

यसपटक गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट बिभिन्न पदमा १० जनाले उमेदवारी दिएकोमा एक जनाको उमेदवारी फिर्ता भएको छ । पोखरा उधोग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका सन्जिब बहादुर कोइरालाले जिल्ला नगर उद्योग बाणिज्य संघबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएकोमा अन्तिम अबस्थामा उनले आंफ्नो उमेदवारी फिर्ता गरेका छन। कोइराला गण्डकी प्रदेश उधोग बाणिज्य संघका पनि पुर्व अध्यक्ष हुन।

कोइरालाले महासंघको उपाध्यक्ष बन्नको लागि देशका बिभिन्न जिल्ला तथा नगर उधोग बाणिज्य संघमा पुगेर आंफ्नो चुनाबी अभियान अगाडी बढाएको भएपनि अन्तिम अबस्थामा उमेदवारी फिर्ता गरेको कारण उक्त पदमा गण्डकी प्रदेशको तर्फबाट उमेदवारी परेको छैन। दुई जना चाहिने उक्त पदमा अब झापाका उमेश डालमिया, दार्चुलाकी कल्पना गैरे, रुपन्देहीका कृष्णप्रसाद शर्मा र धुलिखेलका दिलसुन्दर श्रेष्ठसहित चार जनाको बिचमा प्रतिष्पर्धा हुँदैछ।

लेखनाथ उधोग बाणिज्य संघका छत्रधर आत्रेय सहित तिनजना बीच प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यमा प्रतिष्पर्धा 

जिल्ला नगर उधोग बाणिज्य संघहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १५ जना कार्यसमिति सदस्यहरुको लागि जम्मा २२ जनाको बिचमा चुनाबी प्रतिष्पर्धा हुने भएको छ। त्यसमध्ये गण्डकी प्रदेशका बिभिन्न जिल्लाका ३ जनाले उमेदवारी दिएका छन।

पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेयले पनि सोहि पदमा उमेदवारी दिएका छन। उनि लेखनाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेकोले लेखनाथ र पोखराका उधोगी ब्यबसायी उनलाई जिताउन सक्रिय भएर लागेको बताइन्छ।

यसैगरी बाग्लुंगका युवराज भण्डारी र नवलपुरका डासुराज पोखरेल पनि जिल्ला नगर उधोग बाणिज्य संघको तर्फबाट कार्यसमिति सदस्य पदमा चुनाबी प्रतिष्पर्धामा रहेका छन ।

 जिल्ला नगरबाट महिला सदस्यमा पोखरा उधोग बाणिज्य संघकी हिरा भट्टराईको उमेदवारी 

महासंघको कार्यसमितिमा जिल्ला तथा नगर उधोग बाणिज्य संघबाट प्रतिनिधित्व गर्ने सदस्यमा महिलाहरुको तर्फबाट २ जना निर्बाचित हुने ब्यबस्था गरिएकोमा पोखरा उधोग बाणिज्य संघको तर्फबाट हिरा भट्टराईले उमेदवारी दिएकी छन।

उक्त पदमा भट्टराईसहित नुवाकोटकी गीता अमात्य, भक्तपुरकी रोशनी मैया, काठमाडौँकी सुष्मा महरा श्रेष्ठ गरि ४ जना महिलाको उमेदवारी परेको छ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई सदस्यको लागि पांचजना बीच प्रतिष्पर्धा हुँदै 

नेपाल उधोग बाणिज्य महासंघमा बिभिन्न जिल्ला र नगर उद्योग बाणिज्य संघको तर्फबाट प्रतिनिधित्व हुनेगरी हरेक प्रदेशबाट दुई दुई जना निर्बाचित हुने ब्यबस्था गरिएकोमा गण्डकी प्रदेशबाट आबश्यक दुई सदस्य पदमा पांच जनाको उमेदवारी परेको छ।

जसअनुसार मध्यबिन्दु नवलपुरका ओमप्रसाद पौडेल, वालिंगका चेतनारायण श्रेष्ठ, देबचुली नवलपुरका धर्मराज बस्याल, तनहुँका पबिन्द्र कुमार श्रेष्ठ र म्याग्दी उधोग बाणिज्य संघका सुबिन्द्र श्रेष्ठ चुनाबी मैदानमा उत्रिएका छन ।

२१ बैशाख २०८३, सोमबार १३:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा