Play

गोकुल बास्कोटाको चुनाव प्रचार शैली– घर अगाडिको बाटो हेर्ने, ड्याम ड्याम भोट हाल्ने !

गुरुकुल खबर


काठमाडौं , धुलिखेल नगरपालिका वडा नम्बर १ को देवीटारस्थित कालीदेवी मन्दिर प्रांगणबाट गोकुल बास्कोटाको चुनावी घरदैलो अभियानको शुभारम्भ थियो।

बिहीवार बिहान साढे ९ बजेको समयमा शुरू पहिलो चुनावी सभामा गोकुलले ५ मिनेटभन्दा लामो भाषण गरेनन् ।

‘म भाषण गर्दिनँ, काम गर्ने हो । पाँच वर्ष अगाडि आउँदा बाटोको कुरा गर्नुभएको थियो, बाटो आइसकेको छ । तीन महिनामा ७ किलोमिटर पिच नै हुन्छ । सिँचाइको लागि बजेट बनाएको हो, गठे (गठबन्धन सरकार)ले काट्यो । एमालेको सरकार आएपछि फेरि आउँछ । रक क्लाइम्बिङको काम शुरू हुन्छ । मेरो कुरा सुनियो, अब ड्यामड्याम सूर्यमा भोट हाल्ने,’ बास्कोटाले आफ्नो कुरा छोट्याउँदै भने, ‘चुनावपछि शुरूमा यहीँ आएर सिन्दुर हाल्ने होल

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बास्कोटा काभ्रे– २ बाट एमालेको उम्मेदवार छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईं गोकुलका प्रतिस्पर्धी छन् । २०७४ सालको चुनावमा कांग्रेसका मधु आचार्यलाई पराजित गरेर गोकुल सांसद बनेका थिए ।

कालीदेवी मन्दिरको कार्यक्रम सकेर स्कूल डाँडामा रहेको वडा नम्बर १ को निर्वाचन कार्यालय उद्घाटन गरे । ‘नमस्कार, ल्हासो, फ्याफुल्ला । कुरा केही छैन । पाँच वर्षमा पनि काम गरेको हो, अब फेरि विकासको काम गर्ने हो,’ त्यहाँको कार्यक्रममा पनि गोकुलले सम्बोधन गरेनन् ।

पहिलो दिनको कार्यक्रम धुलिखेल नगरपालिकाभित्रको विकट भनेर चिनिने वडा नम्बर १ देवीटार र २ को रविओपीमा थियो ।

रविओपीलाई एमालेको गढ मानिन्छ । गोकुल आउने भनेपछि सडकको बीचमा स्वस्तिक चिह्न र पानीका घडासहित महिलाहरू माला लिएर बसेका थिए ।

‘धेरै भन्नु छैन, घर अगाडिको बाटो हेर्ने ड्याम ड्याम सूर्यमा भोट हाल्ने !’ एक स्थानीय महिलालाई नमस्कार फर्काउँदै बास्कोटाले भने ।

एक दर्जनभन्दा बढी स्थानमा उनी गाडीबाट झर्दै फूलमाला लगाउन व्यस्त भए । केही कार्यकर्ताले हिँडेर जान प्रस्ताव गरे पनि गोकुल मानेनन्।

‘गाउँ–गाउँमा बाटो पुगेको छ, किन हिँडेर जाने ? बाटो कस्तो भएको छ भनेर हेर्न पनि गाडीमा जानुपरेन ?,’ कार्यकर्तालाई आफ्नै शैलीमा  जवाफ दिए ।

जनताको घरमा सूर्यमुखी खुर्सानीसँग खाना

बिहान साढे ११ बजेतिर केही सहयोगीसहित खाना खान उनी धावा दोर्जेको घरमा पुगे । खाना खाने घरमा एमालेका केही कार्यकर्ता जम्मा भएका थिए ।

उनीहरूले स्थानीय तह निर्वाचनका केही प्रसंग कोट्याए । केहीले गोकुलसँग सेल्फी खिचे र केहीले टिकटक बनाउन भ्याए ।

केहीबेर कुरेपछि खाना तयार भयो । खाना सादा थियो । काउली र आलुको तरकारी, मुसुरो र मास मिसाएको दालको पातलो झोल तथा टमाटर र सोयाबिन मिसाएको अचार । गोकुलले तामाङ भाषामा खुर्सानी मगाए । धावाकी श्रीमती केही खुर्सानी लिएर आइन् ।

‘खुर्सानी खाएपछि दिनभर निद्रा लाग्दैन, हिँड्न बोल्न पनि जाँगर लाग्छ । यो लोकल सूर्यमुखी खुर्सानी हो,’ चुनाव चिह्नसँग मिल्दोजुल्दो खुर्सानीको नाम सुनाए ।

खाना खाएलगत्तै फेरि उनी अन्य कार्यक्रममा सहभागी भए । ‘२ बजे बनेपामा कार्यक्रम छ । साढे ३ बजे धुलिखेलको कार्यक्रममा सहभागी हुनुपर्छ । कतै पनि लामो कार्यक्रम नराख्नू,’ बास्कोटा सहयोगीहरूलाई फोनबाट यस्तो निर्देशन दिइरहेका थिए ।

रविओपीको चुनावी सभालाई सम्बोधन गरेर उनी बनेपामा पत्रकार सम्मेलनका लागि हिँडे ।

सभामा संक्षिप्त सम्बोधनका क्रममा उनले प्रतिस्पर्धी उम्मेदवारले यस क्षेत्रमा समाधान भइसकेको पानीको समस्या समाधान गर्ने आश्वासन दिएर गएकोमा कटाक्ष गरे । ‘शिव हुमागाईंले रविओपीको खानेपानीको समस्या समाधान गर्ने भन्नुभएछ । यहाँ ४ सय धारा मैले उद्घाटन गरिसकेको छु । अब उहाँले के गर्नुहुने हो ?’ बास्कोटाले प्रश्न गरे ।

यो सभामा बास्कोटाले माओवादीले चुनावअघि नै केही गुमाइसकेको टिप्पणी गरे । ‘हामीले २०७४ सालमा माओवादीलाई ६६ सीट दिएका थियौं, अहिले ४६ मा चित्त बुझाउनुभयो, २० सीट त प्रचण्डले देउवालाई चढाइसक्नुभयो,’ बास्कोटाले भने, ‘अब हामीचाहिँ पराल र छ्वालीको सहारा नलिने । एमाले एक्लैको सरकार बनाउने । मेरो कुरा धेरै लामो छैन, मंसिर ४ गते गठबन्धनलाई ढलाउने, एमालेलाई जिताएर सरकार बनाउने ।’

शिक्षक प्रदेशमा, विद्यार्थी प्रतिनिधिसभामा

गोकुलको प्यानलबाट प्रदेश सभामा उम्मेदवार छन्, कुमार खकुरेल । खकुरेलले बास्कोटालाई स्कूलमा भूगोल पढाए भने स्कूलबाहिर राजनीति ।

‘कुमार सर मेरो गुरु हो, मेरो अनुहार सम्झेर उहाँलाई भोट दिनू,’ आफ्ना राजनीतिक गुरुलाई भोट माग्दै बास्कोटा भन्छन् ।

मण्डनदेउपुरको डेडीथुम्का मावि महादेवस्थानमा खकुरेलले बास्कोटालाई भूगोल विषय पढाएका थिए ।

हरेक कार्यक्रममा बास्कोटा खकुरेललाई भोट माग्न छुटाउँदैनन् । खकुरेल एमाले काभ्रेका पुराना नेता हुन् ।

खकुरेलले आफ्नो विद्यार्थी देशको चर्चित नेता बनेको र उनैको प्यानलबाट चुनाव लड्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

‘गोकुल कमरेड मेरो विद्यार्थी हो, विद्यार्थीकालमै उहाँमा मैले धेरै क्षमता देखेको थिएँ । अहिले उहाँकै प्यालनबाट चुनाव लड्दैछु,’ खकुरेलले भने, ‘गोकुल कमरेडले पाँच वर्षमा गरेको कामका कारण मलाई भोट माग्न सजिलो भएको छ ।’

धुलिखेल २ का ८७ वर्षीय एकनाथ न्यौपाने चुनावी सभाको रमाइलो हेर्न आएका थिए । कार्यक्रम शुरू हुनुअघि स्पिकरमा ‘बाटाघाटा र पानीका धारा, गोकुल नै हुन् जनताका सहारा’ भन्ने गीत जोडले बजाइएको थियो ।

धान स्याहार्ने र आलु रोप्ने समयमा पनि मानिसहरू चुनावी घरदैलो शुरू भएको दिन सभामा उपस्थित थिए ।

‘पञ्चायत खारेज भएदेखि यो गाउँमा कांग्रेसले जितेको छैन । चुनाव कसले जित्छ भन्न सकिन्नँ । म गोकुलको भाषण सुन्न आएको हुँ,’ न्यौपानेले भने ।

आँखाअगाडि परिवर्तन देखेका मतदाताले चटक मन पराउँदैनन्– बास्कोटा

देशका अन्य क्षेत्रमा उम्मेदवारहरू मतदातालाई ढोग्दै, खेतबारीमा गएर काम सघाएजस्तो गरिरहेका बेला गोकुलको भोट माग्ने शैली भने अलि पृथक देखियो ।

मतदातासँग ठाडठाडै भोट मागेकोबारे सोधिएको प्रश्नमा बास्कोटाले आफ्ना मतदाताले चटक मन नपराउने बताए ।

‘यो ठाउँलाई काँठ पनि भन्छन् । यहाँका जनतालाई चटक मन पर्दैन । मैले नमस्कार नगरेको भए पो ठाडो भयो भन्नु हुन्थ्यो । मैले गरेको काम उहाँहरूलाई थाहा छ । आँखैअगाडि परिवर्तन महसूस गर्नुभएको छ,’ बास्कोटाले लोकान्तरसँग भने ।

विगतमा गरेको कामका कारण मतदाताले आफूसँग प्रश्न नगरेको उनी दाबी गर्छन् ।

‘पाँच वर्षअगाडि यहाँ आउँदा उहाँबाटै हिँड्दै आएको हो । पाँच वर्षअगाडि कतिपय घरमा शौचालय समेत थिएनन् । थाप्लोबाट नाम्लो हटाइदिने, कम्मरबाट गाग्री छुट्याइदिने काम भएको छ,’ बास्कोटाले भने ।

सामाजिक सञ्जालमा भइरहेको ‘नो नट अगेन’ अभियानप्रति टिप्पणी गर्दै गोकुलले भने, ‘नेपाल टेलिकमलगायत इन्टरनेट प्रदायकले कमाएका छन्, राज्यलाई राजस्व पनि बढ्ला । त्यस्ता अभियानले यहाँका मतदातालाई कुनै फरक पार्दैन ।’

लोकान्तर अनलाईनबाट

१८ कार्तिक २०७९, शुक्रबार २२:०६ मा प्रकाशित
Nabintech