Play

फ्रान्समा एलो एण्ड युथ आन्दोलन हिंसात्मक: पांच लाख बढी मानिस प्रदर्शनमा, दुईहजार बढी पक्राउ

गुरुकुल खबर


काठमाडौँ, फ्रान्समा महँगी र सार्वजनिक सेवाको कमजोर अवस्थाविरूद्ध भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेको छ प्रदर्शनका क्रममा हिंसामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या २ हजार नाघेको छ। शनिबार फ्रान्सको राजधानी पेरिससहित विभिन्न सहरमा भएको प्रदर्शनको क्रममा आगजनी, तोडफोड, लुटपाट र सुरक्षाकर्मीसँग झडप भएको थियो। ती घटनामा ६ सयभन्दा बढी प्रहरी, सुरक्षाकर्मी र अग्निनियन्त्रक घाइते भएका छन् भने एक प्रदर्शनकारीको मृत्यु भएको छ।

स्थिति गम्भीर बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आइतबार उच्च सरकारी अधिकारीहरूको आपतकालीन बैठक बोलाएका छन।यसअघि शनिबार राति प्रधानमन्त्री लेकोर्नुले करिब १ हजार २ सय जना पक्राउ परेको बताएका थिए। आइतबार बिहान गृहमन्त्री लरेन्ट नुनेजले यो संख्या १ हजार ८ सय पुगेको जानकारी दिएका थिए। आइतबार दिउँसो सार्वजनिक पछिल्लो विवरणमा पक्राउ पर्नेको संख्या २ हजार नाघेको र घाइते सुरक्षाकर्मी तथा अग्निनियन्त्रकको संख्या ६ सयभन्दा बढी पुगेको उल्लेख छ। गृहमन्त्री नुनेजका अनुसार यो प्रारम्भिक विवरण भएकाले संख्या अझै बढ्न सक्छ।

राजधानी पेरिसमा मात्रै ८५५ जना पक्राउ परेका छन्। तीमध्ये ५५७ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पेरिसको अभियोजन कार्यालयले जनाएको छ। प्रदर्शनका क्रममा पेरिसमा एक व्यक्तिको मृत्यु भएको छ। प्रारम्भिक विवरण अनुसार प्रदर्शनका क्रममा उनी अचानक ढलेका थिए। उनको मृत्यु हृदय तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि भएको बताइएको छ। यद्यपि मृत्युको वास्तविक परिस्थिति स्पष्ट भइसकेको छैन। अभियोजन कार्यालयले घटनाको अनुसन्धान थालेको छ।

शनिबारको प्रदर्शनमा फ्रान्सभर करिब ५ लाख ५० हजार मानिस सहभागी भएको सरकारी अनुमान छ। तर प्रदर्शन आयोजकहरूले यो संख्या करिब ८ लाख रहेको बताएका छन्।अधिकांश ठाउँमा प्रदर्शन शान्तिपूर्ण भए पनि केही प्रमुख सहरमा हिंसात्मक समूहहरू तोडफोड र लुटपाटमा संलग्न भएको समाचार संस्थाहरूले जनाएका छन्।

पेरिसको प्रसिद्ध प्लास द ला रिपब्लिक आसपासका क्षेत्रमा गाडी जलाइएका थिए भने पसलहरूका सिसा फुटाइएका थिए। प्रदर्शनको भोलिपल्ट आइतबार त्यहाँ जलेका गाडी, फुटेका सिसा र तोडफोड गरिएका संरचना हटाउने काम भइरहेको थियो। मध्य फ्रान्सको लिमोज सहरमा १९औं शताब्दीमा बनेको ऐतिहासिक नगरपालिकाको भवनमा आगजनी हुँदा छानाको भाग भत्किएको छ। मार्से, लियोँ, बोर्डो, लिल लगायतका सहरमा पनि सार्वजनिक भवन र व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ।

फ्रान्सको व्यापार तथा वितरण महासंघका अध्यक्ष अलेक्जान्द्र बोम्पारले करिब १ हजार ५ सय व्यापारिक प्रतिष्ठान प्रभावित भएको र क्षति करोडौं युरो बराबर हुन सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन्। प्रदर्शन हिंसात्मक बनेपछि फ्रान्स सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। पेरिस, मार्से र लियोँका नगरप्रमुखहरूले हिंसा रोक्न पर्याप्त सुरक्षा व्यवस्था नभएको भन्दै प्रधानमन्त्रीसँग छलफल गर्न माग गरेका छन्।

विपक्षी दलहरूले पनि सरकारको आलोचना गरेका छन। वातावरणवादी नेतृ मरिन तोन्देलिए लगायतका नेताहरूले हिंसा नियन्त्रण गर्न असफल भएको भन्दै गृहमन्त्री नुनेजको राजीनामा मागेका छन्। दक्षिणपन्थी नेसनल र्‍यालीका नेताहरूले पनि उनको राजीनामा माग गरेका छन्। तर प्रधानमन्त्री लेकोर्नु र गृहमन्त्री नुनेजले हिंसामा कट्टर वामपन्थी समूह र लुटपाटमा संलग्न आपराधिक व्यक्तिहरूको भूमिका रहेको आरोप लगाएका छन्। यी आरोपहरूबारे अनुसन्धान जारी छ।

राष्ट्रपति म्याक्रोंले पनि हिंसात्मक गतिविधिको निन्दा गर्दै सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने बताएका छन्। फ्रान्समा पछिल्लो विरोध प्रदर्शनको सुरूआत विद्यालयमा शिक्षक अभाव र कमजोर शैक्षिक सुविधाविरूद्ध विद्यार्थीहरूले थालेको आन्दोलनबाट भएको थियो। सेप्टेम्बरदेखि जारी विद्यार्थी आन्दोलनमा पछि श्रमिक संगठन, महँगीबाट प्रभावित नागरिक र अन्य सामाजिक समूहहरू जोडिएका हुन्।

खाद्यान्न, इन्धन तथा दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य, सार्वजनिक सेवाको कमजोर अवस्था र सामाजिक असमानताप्रति असन्तुष्टि बढ्दै जाँदा आन्दोलन देशव्यापी बनेको हो। फ्रान्समा यसअघि पनि महँगी र सामाजिक असमानताविरूद्ध ‘येलो भेस्ट’ आन्दोलन भएका थिए। पछिल्लो प्रदर्शनमा उक्त आन्दोलनसँग सम्बन्धित समूहहरू पनि सहभागी छन्। शनिबारको हिंसापछि फ्रान्समा अब सरकारले सार्वजनिक सुरक्षा कसरी कायम गर्छ र महँगी तथा सार्वजनिक सेवाको अवस्थाबारे आन्दोलनकारीले उठाएका मागलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न अहिले उब्जिएको छन ? यसैसन्दर्भमा राष्ट्रपति म्याक्रोंको आइतबार रातिको सम्बोधनलाई यही कारण महत्त्वका साथ हेरिएको छ।

प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। नकाब लगाएका प्रदर्शनकारीले प्रहरीमाथि विभिन्न वस्तु प्रहार गर्नुका साथै पटाका र आतसबाजी प्रयोग गरेका थिए। पेरिसमा सडक किनारमा पार्क गरिएका कैयौँ गाडीमा आगजनी गरिएको थियो। दक्षिणी सहर सेन्ट-एटिएनमा प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग गरिने ग्रिनेड विस्फोट हुँदा १७ वर्षीय प्रदर्शनकारीको हात छुट्टिएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्। घटनाको कारणबारे अनुसन्धान गर्न सरकारी प्रहरी निरीक्षण निकाय आइजीपीएनलाई निर्देशन दिइएको स्थानीय अभियोजन कार्यालयले जनाएको छ।

फ्रान्सका गृहमन्त्री नुनेजले घाइते युवकलाई लागेको चोट प्रहरीको ग्रिनेडबाट भएको हुन सक्ने जानकारी प्राप्त भए पनि त्यसको पुष्टि भइनसकेको बताएका छन्। उनले घटनाबारे अनुसन्धान हुने बताए। यसअघि अक्टोबर ५ मा लेन्स सहरमा भएको अर्को प्रदर्शनका क्रममा प्रहरीको स्टन ग्रिनेड विस्फोट हुँदा १५ वर्षीय किशोरको हात छुट्टिएको थियो।

प्रदर्शनका क्रममा लियोँ सहरको केन्द्रमा रहेको पर्यटक सूचना केन्द्रमा आगजनी गरिएको थियो। मार्से र लिल सहरका नगरपालिकाका भवनमा प्रवेश गरेका प्रदर्शनकारीले तोडफोड गरेका थिए। लिमोज सहरको १४३ वर्ष पुरानो टाउन हलमा समेत आगजनी भएको छ। स्थानीय अधिकारी मौरिस बारातका अनुसार आगलागीबाट भवनको ठूलो हिस्सा क्षतिग्रस्त भएको छ। भवनको छत तल्लो तलामा खसेको र बाहिरी भागको करिब दुईतिहाइ नष्ट भएको उनले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार नकाब लगाएका प्रदर्शनकारीले नगर भवनबाहिर प्रहरीको गाडीमा आगजनी गरेपछि भवनका झ्याल फुटाएर भित्र प्रवेश गरी आगो लगाएका थिए। अधिकारीहरूले घटनालाई ऐतिहासिक सम्पदामाथिको ठूलो क्षति भनेका छन्। मार्सेमा हर्मेसको बुटिक, लिलमा एप्पलको पसल, निसका विभिन्न पसल र पेरिसमा मोबाइल फोन पसलसहित दर्जनौँ व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको समाचार संस्था एएफपीले जनाएको छ।

पेरिसका मेयर इमानुएल ग्रेगोयरले प्रदर्शनकारीको ठूलो हिस्सा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न चाहेको बताएका छन्। तर, तोडफोडका घटनाले उनीहरूको आन्दोलनलाई बदनाम गरेको उनको भनाइ छ। पेरिसको पूर्वी र उत्तरी क्षेत्रमा भएको प्रदर्शनमा सहभागी हजारौ| मानिसले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामा माग्दै नाराबाजी गरेका थिए।

१९ वर्षीय प्रदर्शनकारी लुइसले प्रदर्शनका बेला प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको आरोप लगाए। प्रहरीको व्यवहारका कारण अहिले प्रदर्शन गर्नसमेत डर लाग्ने अवस्था आएको उनको भनाइ थियो। विद्यार्थीहरूको आन्दोलनका क्रममा किशोरहरू घाइते हुनु र हजारौं मानिस पक्राउ पर्नुले प्रदर्शनकारीमा प्रहरीप्रतिको आक्रोश बढेको बताइएको छ।

फ्रान्समा बढ्दो महँगीका कारण प्रदर्शनले राष्ट्रपति म्याक्रों र उनको सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ। अबको करिब छ महिनामा हुने राष्ट्रपतीय निर्वाचनबाट नयाँ राष्ट्रपति चयन गर्ने तयारी भइरहेका बेला देशव्यापी अशान्ति बढेको हो। आठ वर्षअघि इन्धनमा कर बढाउने सरकारी योजनाको विरोधमा सडक आन्दोलन गरेको ‘एलो भेस्ट’ आन्दोलनले यसपटक विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गर्दै ‘एलो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो। विद्यार्थी आन्दोलनसँगै राजनीतिक अनिश्चितता बढिरहेका बेला शनिबारको हिंसात्मक घटनाले फ्रान्सको सुरक्षा अवस्था र सरकारको चुनौती थप जटिल बनाएको छ।

२ कार्तिक २०८३, आईतवार २१:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा