पोखरा, नेकपा एमाले प्रदेश सभा संसदीय दलले गठन गरेको छानबिन समितिले पोखराको पदम नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा घुस डिल गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाहीका लागि सिफारिस गरेको छ। तत्कालिन मन्त्री पाण्डे समेत घुस काण्डमा संलग्न रहेको कुरा सार्बजनिक भएपछि एमालेले दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ र प्रदेश कमिटी सचिव धनञ्जय दवाडी सदस्य रहेका थिए।
छानबिन समितिले आफ्नो अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीलाई बुझाउँदै पुर्व मन्त्री पाण्डे र स्वकीय सचिब पौडेलमाथि कारबाहीको सिफारिस गरेको हो। पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका क्रियाकलापमा संलग्न रहेको निष्कर्ष सहित समितिले पार्टी विधान उल्लंघन गरेकाले उनीहरूलाई अनुशासनको कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ।
समितिले बुझाएको प्रतिबेदनमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य पाण्डेलाई प्रदेशसभा संसदीय दलको विधान २०८० को धारा २७ अनुसार थप कारबाही गर्न भनिएको छ। गण्डकी प्रदेशमा नेपाली कांग्रेससँग संयुक्त सरकार गठन गर्दा मन्त्री नियुक्त हुनुअघि र शपथ लिनुअघि एमालेका तर्फका मन्त्रीहरूले हस्ताक्षर गरेको आचारसंहिता अनुसार पनि पाण्डेमाथि थप कारबाहीको सिफारिस गरिएको छ। छानबिन समितिले आगामी दिनमा मन्त्री छनोट गर्दा सम्बन्धित व्यक्तिको व्यवहार र कार्यशैलीलाई विशेष ख्याल राख्नुपर्ने सुझाब पनि दिएको छ।
मन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति र जिम्मेवारीमा पार्टीको प्रदेश कमिटीको सिफारिस र अनुगमनलाई अनिवार्य गरिनुपर्ने, बोर्ड बैठकको छलफल र निर्णयहरूको गोपनीयता र कार्यान्वयनमा गम्भीरतापूर्वक ध्यान दिन एबम नेताहरूले गर्ने भेटघाट र कुराकानीका बखत आसपासमा रहेका अन्य मानिसहरूबारे पनि ध्यान दिनुपर्ने सुझाव समितिले दिएको छ।
पद्म नर्सिङ होमलाई १०० बेडको अनुमति पत्र नवीकरण गर्ने क्रममा मन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले ३० लाख रुपैयाँको सौदाबाजी गरेको आरोप सार्वजनिक भएको थियो। अस्पतालको खाताबाट स्वकीय सचिव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरण बाहिर आए पनि पूर्वमन्त्री पाण्डेले आफूले रकम नलिएको दाबी गर्दै आएका छन्।
यसैबीच प्रदेश सरकारले मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाएको छ भने घटनाको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको छ। तर तत्कालिन सचिब डा. बसौलाले आंफुले पद्म नर्सिंग होममा शैया थप गर्ने बिषयमा कुनै अनियमितता नगरेको दाबी गरेका छन।
गुरुकुल खबरसंगको कुराकानीमा उनले मन्त्रालयले आबश्यक पूर्वाधार र उपकरण सहितको मापदण्ड हेरेर अनुमती दिंदै आएको र उक्त नर्सिंग होमलाई अनुमती दिने क्रममा नपुग केहि उपकरणहरु ६ महिना भित्र ब्यबस्थापन गर्नुपर्ने अन्यथा अनुमती रद्द हुने गरि शर्त सहित अनुमती दिईएको स्पष्ट पारेका छन।
घुस लेनदेन वा कुराकानीको कुरा आँफुलाई केहि थाहा नभएको स्पष्ट पार्दै डा. बसौलाले मन्त्रीले छिटो अनुमती दिने प्रक्रिया अगाडी बढाउन दवाब दिएपछि आंफुले शर्त सहित अनुमती दिने प्रक्रिया अगाडी बढाएको टर घुस लेनदेन वा डिलको बिषयमा केहि थाहा नभएको गुरुकुल खबरलाई बताए ।













