Play

मानव सेवा आश्रमको भवन निर्माणका लागि पोखरामा हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आगामी पुस १२ गते पोखरा प्रदर्शनी केन्द्रमा बृहत ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न नेपथ्य व्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट आयोजना गरिएको हो ।

कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम गरी आर्थिक सङ्कलन अभियान अन्तरगत शुरु हुन लागेको महिनाव्यापी नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र पारिएको आश्रमको कास्की शाखाले जनाएको छ ।

उक्त लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु भइ काठमाडौँमा पुस १६ गते समापन हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कन्सर्ट हुने छ ।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

यसैगरी पोखरा आश्रमले आगामी माघ २० गतेदेखि श्रीमत् भागवत ज्ञानमहायज्ञ आयोजना गरी आर्थिक सङ्कलन गर्ने योजनासमेत बनाएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

पोखराको यो शाखा मानव सेवा आश्रमको नवौँ शाखा हो । विसं २०७४ साल चैत १७ मा पोखरा महानगरपालिका १७ छोरेपाटनमा आश्रमले शाखा विस्तार गरेको थियो । पोखरा महानगरपालिकालाई केन्द्रविन्दु बनाई गण्डकी प्रदेशभरी रहेको सडक मानवहरुको नियमित उद्दार तथा व्यवस्थापन हुँदै आएको छ । लक्ष्मी (आमा) र नारायण (बुबा)हरुको छुट्टाछुट्टै सेवा केन्द्रबाट सेवा प्रदान भइरहेको छ ।

हाल आश्रममा १०२ जना पुरुष र ६३ जना महिला गरी १६५ जनाले सेवा प्राप्त गरिरहकf छन । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र गण्डकी प्रदेशमा रहेका केही स्थानीय तहहरुको पनि साथ र सहयोग प्राप्त भए पनि त्यो पर्याप्त छैन । मुख्यतया पोखराका नगरवासी, लायन्स, रोटरी, जेसीज, सहकारी संस्था, युवा क्लब, आमा समुहहरु र देश÷विदेशमा रहेका परोपकारी मनहरुको योगदान रहँदै आएको छ ।

भाडाको घरमा सुरुवात भएको सेवालाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका वडा नं २५ हेम्जा बाबियतरामा लक्ष्मी नारायण सनातन संस्कार प्रतिष्ठनको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त भएपछि आफ्नै भवन निर्माण कार्य शुरु गरिएको हो।

सो क्षेत्रमा गुरुयोजना तयार गरी मानवसेवा आश्रम, मानवता अध्ययन केन्द्र, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ तिर्थयात्रीहरुका लागि धर्मशाला, शाश्वतग्रामलगायतका बृहत र मानवीय संवेदनालाई जोड दिने भौतिक संरचना निर्माण हुँदैछ ।

हालसम्म मानवसेवा आश्रम भवनको ४० प्रतिशत र लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । आश्रमको निर्माणपछि यहाँ २०० जना सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिनेछ । हालसम्म गण्डकी प्रदेश सरकारको रु दुई करोड, पोखरा महानगरपालिकाको रु ५० लाख, स्थानीय परोपकारी व्यक्तिहरुको रु एक करोड, अन्य स्थानीय पालिकाहरुको रु १५ लाख सहयोग प्राप्त भइ भवन निर्माण जारी छ । तर अझै पनि भवन निर्माण सम्पन्न गर्न ठुलो धनराशी आवश्यक भएकाले परोपकारी मनहरुको सहयोगको खाँचो छ ।

खाना, नाना, र छानाको अभावमा सडकपेटीमा रहनु नपर्ने अवस्था सिर्जना गर्ने संकल्पका साथ सुरु भएको यो अभियानलाई पूर्णता दिन पोखरा महानगरवासी तथा देश विदेशमा रहेका परोपकारी मनहरुले खुलेर योगदान गनेमा आफू विश्वस्त रहेको आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।

 

१८ कार्तिक २०७९, शुक्रबार १२:११ मा प्रकाशित
Nabintech