Play

पोखराको प्राकृतिक पुल ओझेलमा, पोखरा उपत्यकाको उत्पत्तिको अवधिमा पुल निर्माण भएको अनुमान

गुरुकुल खबर


गण्डकी, असोज १९ गते । पर्यटकीय नगरी पोखराको मध्यभागमा अवस्थित आश्चर्य लाग्दो प्राकृतिक पुल ओझेलमा परेको छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै बनेको प्राकृतिक पुल उजागर हुन नसक्दा ओझेलमा परेको हो ।

पोखरा महानगरपालिका–१७ महतगौडा र वडा नं १५ टुटुङ्गालाई जोड्ने सेतीनदीमाथि अवस्थित हजारौँ वर्ष पुरानो प्राकृतिक पुल उचित प्रचारप्रसारको अभावमा पर्यटकीय गन्तव्य बन्न सकेको छैन ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको आसपासमा रहेका हिमताल फुट्दा भीषण बाढीसँगै आएको माटो, बालुवा, गेग्र्यान, चट्टान र वनपैदावारका कारण पोखरा उपत्यकाको उत्पत्ति भएको र सोही अवधिमा पुल निर्माण भएको सजिलै अनुमान गर्न सकिने भूगर्भविद् प्रा डा कृष्ण केसी बताउछन ।

“२०६९ साल वैशाख २३ गते सुक्खा समयमा आएको हिमपहिरोका कारण सेतीनदीले बगाएर ल्याएको नदीजन्य वस्तु र पोखराको भूबनोटको प्रकृति मिल्दोजुल्दो भएको हुँदा उक्त तथ्यले पुष्टि हुन्छ ।” पोखराको उत्पत्तिका क्रममै सेतीनदीको दायाँबायाँ जमिनमा धाँजा फाटेर विपरीत दिशाबाट एकै साथ ढलेका ठूल्ठूला दुईवटा चट्टान एकापसमा जोडिएको र नदीको चिसो पानीले तल्लो भाग खोलेर निकास बनाएपछि जोडिएको उपल्लो भागले पुलको आकार लिएको हुन सक्ने डा केसीको अनुमान छ ।

सेतीनदीको माथिल्लो भागमा पुल त बन्यो तर दुवै किनारामा फाटेका धाँजाबाट आवतजावत गर्न नसकिने भएपछि फुस्रेखोलाबाट सामूहिकरूपमा काठ र डोरीको सहायताले बोकेर ल्याएका लामालामा ढुङ्गाका छपनी राखेपछि आवतजावतमा सुविधा पुगेको र सोही अवधिदेखि उक्त पुल ढुङ्गेसाँघुको रूपमा परिचित भएको स्थानीय ज्येष्ठ नागरिक चन्द्रकान्त भण्डारी बताउछन ।

पहिला धाँजा फाटेको स्थानबाट फड्कँदा कतिपयले ज्यानै गुमाएको स्मरण गर्दै उमेरले ९६ वसन्त पार गका भण्डारी भन्छन, “देवदेवताको वासस्थान र ऋषिको तपोभूमि तथा सेतीनदीको पहिलो पुल भएको कारण यस स्थानमा परापूर्व कालदेखिनै माघे सङ्क्रान्ति दिन ढुङ्गे साँघु मेलासमेत लाग्दै आएको छ ।”

समुद्री सतहबाट आठ सय मिटरको उचाइमा रहेको सो प्राकृतिक वरदान करिब तीन सय फिट उचाइ र ९० मिटर चौडाइ रहेर पिरामिड आकारको सो पुलको झण्डै दुई सय फिटमा सानो जङ्गल रहेको छ । उक्त स्थानबाट प्राकृतिक पुलको भू बनोटको स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ । सो स्थानमा तीन दशक अघि शिवमन्दिर निर्माण गरी मूर्तिसमेत प्रतिस्थापन गरिएको छ ।

ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्त्व बोकेको उक्त पुलबाट मानिस मात्र होइन यातायाताका साधनसमेत निर्वाधरूपमा ओहोरदोहोर गर्दै आएको ढुङ्गे साँघु पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष शिवराम भण्डारीले जानकारी दिए ।

पछिल्लो समय धाँजा फाटेको दुवै स्थान एक्स्काभेटर सहायताले पुरेपछि उक्त पुलबाट ठूला तथा साना यातायातका साधन निर्वाधरूपमा ओहोरदोहोर गरे पनि पुलको संरक्षणका लागि स्थानीय पहलमा ठूला साधन निषेध गरिएको उनको भनाइ छ ।

पोखरा–१७ का वडासदस्यसमेत रहनुभएका भण्डारी भन्छन, “यस क्षेत्र आसपासमा तीनै तहका सरकारको सहयोगमा आवश्यक भौतिक संरचना निर्माणसँगै सौन्दर्य अभिवृद्धि गर्न जोड दिँदै आएको भए पनि पुलको तल्लो भागसम्म पुग्नका लागि बाटो निर्माण गर्न आवश्यक छ ।”

गण्डकी प्रदेश सरकारले यस वर्ष प्राकृतिक पुललाई बीचभागमा पारेर पदमार्ग(फुटट्र्याक) निर्माणका लागि रु १० लाख विनियोजन गरेको बताउँदै उनले यसबाट पुलको आसपासको सार्वजनिक जग्गा संरक्षण गर्दै पार्कको रूपमा विकास गरिने तयारी भएको जानकारी दिए ।

अमेरिकाको भर्जिनिया राज्यमा रहेको प्राकृतिक पुल विश्वको सातौँ आश्चर्यमध्ये एक भएको दाबी गरिएको छ । जुन पुल दुई सय १५ फिट उचाइ र ९० फिट चौडाइ रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त पुल हेर्नका लागि नेपाललगायत विश्वका हजारौँ पर्यटक जाने गरेका छन् ।

प्रकृतिप्रदत्त उपहारको आवश्यक सम्भाव्यता अध्ययन अनुसन्धान गरी संरक्षण, सम्वद्र्धन र विकाससँगै उचित प्रचारप्रसार गर्दै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सके पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास भई थप पर्यटकीय गन्तव्य बन्नुका साथै यस क्षेत्रको विकास र रोजगारीमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

उक्त क्षेत्रमा प्राकृतिक पुलसहित सीताघाट, पिपलको बोटको चौतारामा सीताको पाइला, ऐतिहासिक सदाशिव हरिहर मन्दिर, अकलादेवी मन्दिर, रामसीता मन्दिर, पोखरा वृद्धाश्रम, परोपकार महासङ्घ, बञ्जिजम्प, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलगायतका धार्मिक एवं पर्यटकीयस्थल रहेका छन् ।

बासुदेव पौडेल

२१ आश्विन २०७९, शुक्रबार १२:०३ मा प्रकाशित
Nabintech