Play

दसैँभरि धेरै बज्ने दश गीत, जुनले नेपालीहरुको मन छुने गरेको छ

गुरुकुल खबर


दसैँ आउनु अगावै रेडियो÷टिभीमा मङ्गलधुन बज्न थाल्दछ । त्यसैगरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्त्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन् । धेरै दसैँ गीतहरु बज्ने गरे पनि दसैँभरि धेरै बज्ने यी दश गीतले नेपालीहरुको मन छुने गरेको छ । 

विछोडको पीडा नसकी खप्न दसैँको बेलामा…

दसैँसम्बन्धी गीत भन्ने बित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीहरुको दसैँ झल्काउने आलाप बजेपछि दसैँ आइसकेको अनुभूति हुन्छ । यो गीत दसैँसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कोलकातामा नारायण गोपाल र दिलयमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दसैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै एफएम रेडियोले दसैँमा बजाउने गरेका छन् ।

नमुछे आमा दहीमा टीका…

दसैँ आउने वित्तिकै रेडियो÷टिभीहरुमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत विसं २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजाहरु राखेर गाएपछि यो गीत दसैं गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाई लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यसर्थमा पनि मनछुने बनेको थियो ।

दसैँ नै हो कि यो मेरो दशा फर्की आएको… 

यो गीत पनि दसैँको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्ह्युु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवादसमेत हालेर बनेको यो गीत दसैँको आइडी जस्तै बनेको छ।

यसपालि दसैँमा ठूलो दाजु आउने रे…

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कुल पोखरेलको सम्झनामा अन्य गायकहरुले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दसैँमा मज्जाले सम्झाउने गीत हो यो गीत । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाहरुले समेत खुब मन पराउने गरेका छन् ।

यो दसैँमा म घर आइन…

नेपाली लोकदोहोरी गीतमा दसैँ गीत भन्ने बित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेहरुले पनि यो गीतलाई दसैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रूपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीहरुको पीडा यो गीतमा समेटिएको छ ।

रातो टीका दसैँको जमरा…

नेपाली चलचित्रहरुमा पनि दसैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ ।  ‘मनमन्दिर’ चलचित्रमा रहेको यो गीतले पनि दसैँको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैँमा उत्तिकै बज्ने गर्दछ ।

दसैँ आयो… 

नेपाली चलचित्र ‘मुग्लान’मा रहेको दसैँ आयो गीत पनि दसैँमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवाहरुमा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होइन दसैँका कार्यक्रमहरुमा रमाइलोसँग यो गीतमा युवापुस्ताहरु नाचिरहेका हुन्छन् ।

वर्ष र दिनमा लै लै…

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दसैँ गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि श्रोताले दसैँ गीतको फरक स्वाद लिने गरेका छन् । दसैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रमहरुमा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई समेटिएको छ ।

थालैभरि रातो रातो अक्षता र पाती… 

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दसैँमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दसैँ गीतमा रुचाइएको गीत हो ।

परदेशबाट फरिया ल्याइदिउँला… 

शिव थापा मगरको स्वर, शब्द र सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दसैँ गीत हो । उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैँमा धेरैले सुन्न थालेका छन् ।

१६ आश्विन २०७९, आईतवार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा