Play

वडाबासीको मत मात्र हैन मन पनि जित्न सक्नु पर्छ: वडाध्यक्ष मर्सानी

गुरुकुल खबर


दिपेन्द्र मर्सानी, पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष हुन् । हालैमात्र उनले वडाध्यक्ष पदको हनिमुन पिरियड सम्पन्न गरेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचितसंगै पदभार ग्रहण गरेपछि नयाँ र जनमुखी काम गरी चर्चामा आईरहने मर्सानी, नयाँ नयाँ काम गरी चर्चामा आईरहने वडाध्यक्ष हुन् भन्दा अत्युक्ति हुदैन । यो हनिमुन पिरियडमा कस्ता कस्ता कामहरु सम्पन्न भए र वडाबासीले कत्तिको सहयोग गरिरहेका छन् त ? गुरुकुल खबरका लागि सम्पादक रीता गुरुडंले  वडाध्यक्ष मर्सानीसंग गरेको कुराकानीः

֍ वडाध्यक्ष भएदेखिको १०० दिन अर्थात हनिमुन पिरियड कसरी बिताउनु भयो ?

पोखरा महानगरपालिका वडा नं ९ को वडाध्यक्षको पदभार ग्रहणसंगै वडाबासीको सेवामा समर्पित भए । वडाबासीको आवश्यकता र समस्यालाई बुझ्न घरघरमा पुगेर साक्षात्कार गरे । प्राथमिकतामा के के सेवाहरु छन् भनि पहिचान गरे अनि त्यसैको आधारमा काम गर्न शुरु गरें । मेरो १०० दिन पुर्ण रुपमा वडाबासीको सेवामा नै समर्पित भएर बितें । कतिपय काम सम्पन्न भए, कति काम जारी छन् त कुनै कामको सुरुवात गरिरहेका छौं ।

֍ यो १०० दिनमा कस्ता कस्ता काम गर्नुभयो त ?

वर्षौदेखि लथालिंग र अव्यवस्थित रुपमा रहेको पोखरा बसपार्कलाई व्यवस्थित बनाउन र निर्माण गर्न पहल गरे । उक्त बसपार्क निर्माण वडाको बजेटले भ्याउने र वडाले गरेर सम्भव नहुने विषय भएकोले वडाले सक्ने कामको थालनी गरेर अरु काम प्रदेश सरकारलाई सुम्पेको छु । यद्यपी यसमा वडाको साथ जहिले रहन्छ ।

पोखरा नगरको प्रमुख समस्या भनेको सार्वजनिक शौचालय हो, यसैले सार्वजनिक शौचालय अभियान अन्तर्गत आफ्नै न्युरोडको घरको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएको छु ।

वडाले जेष्ठ नागरिकलाई घरघरमै गएर वृद्धाभत्ता लगायतका सेवा यही हनिमुन पिरियडमा नै दिने काम गर्यो भने गरिव र असहायलाई मृत्यु संस्कारको बेला सहज होस् भनेर निशुल्क रुपमा दाउरा उपलब्ध गराउने सेवाको सुरुवात पनि गर्यौं ।

यत्ति मात्र होइन, स्वास्थ्य नै धन हो भन्ने भनाईलाई आत्मसात गर्दै वडा नं ९ भित्रका सामुदायिक विद्यालयमा योग शिक्षक उपलब्ध पनि गरायौं । नवप्रभात उच्चमावि, महेन्द्रउच्च मावि र सहारा प्राविमा वडाले विद्यार्थी तथा शिक्षकहरुको शारिरीक एवम् मानसिक स्वास्थ्यकालागि योग शिक्षकको व्यवस्था गरिदिएको छ ।

यसैगरी विपी चोक चिप्लेढुंगामा गमला सहितको पुष्परोपण, उज्यालो वडा अभियान, तुलसीघाट स्वर्गद्धार अवधारणा, निस्सा वितरण,महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन अब भत्काउने अभियान आदि कामको थालनी यही १०० दिनको समयावधिमा सुरु गरेका छौं ।

֍ महेन्द्रपुल चोकस्थित सार्वजनिक जग्गामा बनेका भवन अब भत्काउने भन्नु भयो तर वर्षौदेखि व्यापार व्यवसाय गरेर बसीरहेकाहरुलाई हटाउन संभव होला? व्यवसाय गर्नकालागि कुनै वैकल्पिक स्थानको खोजी गरिदिनुभएको छ ?

संभव छ । पोखरा महानगरले पनि ३५ दिने सूचना जारी गरिसकेको छ । हामीले पनि सरकारी भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी गरी सकेका छौं । भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना छ । वैकल्पिक स्थानको कुरा गर्दा पुस्तकालय र ग्यालरीका लागि पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिदिनेछौं । अरु व्यवसाय गरी बसीरहेकाहरुले आफैले व्यस्थापन गर्नेछन् ।

֍ सोमबार त सो स्थानका व्यापारीलाई गुलाबको फूल दिदै हुनुहुन्थ्यो । सटर खाली गराउन मायाले फकाउदै हुनुहुन्छ, हो ?

फकाएकै त होइन तर सकारात्मक सन्देश सहितको आग्रह भने पक्कै हो । हामीले भदौ २२ गतेसम्म सटर खाली गर्न पहिले नै सुचना जारी गरी सकेका छौं । जारी सुचनाको दिन नजिकिदै छ भन्ने जानकारी दिन पनि गुलाबको फूल सहित पुगेको हुँ ।

֍ रामघाटको तुलसीघाटला्ई स्वर्गद्धार बनाईने अवधारणाको बारेमा स्पष्ट गरिदिनुहुन्छ की ?

जब मानिसको आत्मा र भौतिक शरिर एक अर्काबाट अलग हुन्छ त्यसैबेला मानिसको जीवनको अन्त्य भएको मानिन्छ । जीवनको अन्त्य भएपछि मानिसको भौतिक शरिरलाई बिसर्जन गर्न जाने क्रममा सबै शुभचिन्तकहरुले भन्ने गर्छन ‘ वहांको स्वर्गमा बास होस ‘,त्यही स्वर्ग पठाउने बाटो सुन्दर र आनन्ददायक रहेमा भौतिक शरिरको विसर्जन गर्न जानेहरुले समेत मानिस सांच्चिकै स्वर्गमा पुग्ने अनुभुती गर्न सक्छन् ।

त्यही अनुभुती दिलाउने प्रयासमा हामीले स्वर्गद्वार अनि स्वर्ग जाने बाटो मानिने रामघाटलाई सुन्दर, सुरक्षित र आनन्ददायक बनाउनका लागि रामघाट धार्मिक क्षेत्र सौन्दर्यकरण कार्यक्रमको अवधारणा ल्याएका हौं । सामान्यत स्वर्ग भन्नाले स्वर्गदूतहरू बस्ने ठांउ, पवित्र आत्माहरुको बासस्थान पनि मानिन्छ ,जुन ईश्वरसँगको अनन्त सम्पर्कको आध्यात्मिक स्थल समेत मान्छौं, आफन्तलाई गुमाएर बिछोडीएका मनहरुमा रहेको पिडामा थोरै भएपनि मल्हम लगाएर शान्त बनाउनकलागि स्वर्गद्धारी निर्माणको परिकल्पना ल्याएका हौं ।

֍ निस्सा वितरणको काम पनि सुरु गर्नु भएको छ, नातावाद र पार्टीवाद भन्दा पर रहेर निष्पक्ष वितरण गर्न सक्नु होला ?

अवश्य सकिन्छ । जनताको सेवाकै लागि निर्वाचित भएको हुँ, अहिलेको मेरो समय भनेको जनसेवाका लागि मात्रै हो । वडाबासीको हरेक आवश्यकता र समस्यासंग साथमा रहेर काम गर्नु मेरो पहिलो प्राथमिकता हो । नेपाली काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएपनि सबैको साझा जनप्रतिनिधि हुँ । नातावाद र पार्टीभन्दा माथि रहेर वडाबासीको सेवामा लाग्नु मेरो कर्तव्य र दायित्व हो यसैले निस्सा वितरणमा निष्पक्ष रुपमा भुमिहिनहरुलाई नै प्राथमिकतामा राखेको छु ।

֍ अन्त्यमा गुरुकुल खबरका पाठक तथा वडाबासीका लागि केही भन्न चहानुहुन्छ?

मेरो १०० दिनको यो हनिमुन पिरियडको गतिविधि पाठक समक्ष पु्र्याईदिएकोमा अनलाईन मिडिया गुरुकुल खबरलाई धन्यवाद । वडाबासीका लागि गर्नु पर्ने कामहरु धेरै छन् । टोल पिच्छेका आफ्ना आफ्ना समस्याहरु छन्, समाधान गर्नु हाम्रो दायित्व हो ।

उज्यालो वडा बनाउने उद्देश्य अनुरुप वडा नं ९ का दरबारथोक, शान्तिघाट टोलहरुमा सडक बत्ती जडानको काम आरम्भ गरेका छौं ।

मेरो उद्देश्य वडा नं ९ लाई पोखरा महानगरको उत्कृष्ट वडा बनाउनु हो । सरसफाई, सौन्दर्यकरण, विकास निर्माणलगायत वडाबासीको हरेक समस्यासंग साक्षात्कार गर्दै जनसेवामा लाग्नु मेरो दायित्व हो ।

निर्वाचन मार्फत मत जित्न सक्नु मात्रै सफलता होइन, वडाबासीको मन जित्न सक्नु मेरो सफलता हो, जसकालागि पदभारग्रहण गरेकै दिनदेखि लागिपरेको छु ।

अन्त्यमा, हरेक समय वडाबासीको साथमा रहने प्रतिबद्धता जनाउन चहान्छु ।

 

 

२० भाद्र २०७९, सोमबार २१:४१ मा प्रकाशित
Nabintech