Play

कांगेस नेतृत्वको गठबन्धनले स्थिरता र विकास संगै गणतन्त्र संस्थागत गर्न बल पुग्ने छ- पौडेल

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस कास्कीले पार्टीको केन्द्रीय परिपत्र अनुसार जनताको साथमा काँग्रेस अभियानलाई प्रभावकारी बनाउने पहल शुरु गरेको छ ।

केही महिना अगाडी सम्पन्न पार्टीको महाधिवेशन वा आन्तरिक चुनाव र यस अगाडीको स्थानीय तहको निर्वाचनका क्रममा पार्टी भीत्र आन्तरिक मतभेद सृजना भएको भए त्यसलाई टुंग्याउने र अन्य दल संगको गठबन्धनको मर्म समेत मतदाता समक्ष पुर्याउने उद्देश्यले जनताको साथमा कांग्रेस अभियान शुरु गरिएको हो ।

कास्की कांग्रेसको कार्यालयमा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कास्की जिल्लाको लागि खटिएका केन्द्रीय प्रतिनिधि एव पार्टीका केन्द्रीय सदस्य प्रदिप पौडेलले आसन्न चुनावमा गण्डकी प्रदेशको राजधानी पोखरा र कास्कीमा कांग्रेसका सहित गठबन्धनका उमेदवारहरु जिताउन पोखराको आर्थिक एवं समग्र विकासका मुद्दालाई प्राथमिकता दिएर घोषणापत्र बनाउनु पर्नेमा जोड़ दिए ।

नेकपा एमालेले भन्छ तर काम गर्न सक्दैन भन्ने कुरा केही वर्ष यताका घटनाक्रमले स्पष्ट पारेको बताउंदै पौडेलले भने , कांग्रेसले गर्न सक्ने कुरा मात्र बोल्छ , गठबन्धन अहिलेको बाध्यता हो भन्दै पौडेलले कांगेस नेतृत्वको गठबन्धनले देशमा स्थिरता र विकास संगै लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न बल पुग्ने स्पष्ट पारे ।

जनताको साथमा काँग्रेस अभियान अन्तर्गत आईतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कास्की काँग्रेसले विविध कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो ।

काँग्रेसले भदौं २१ गते कास्की जिल्लाका ७२ वटै इकाईमा एउटै समय ११ बजे कार्यक्रम गरी अभियान शुभारम्भ गर्नेछ ।२२ गते मतदाता संवाद, २३ गते गठबन्धनका दलसंग छलफल र २४ गते कास्कीका ६ वटै प्रदेशसभामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियारले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । सह महामन्त्री परीयारले निर्वाचनका लागि सिट बाँडफाड अन्तिम चरणमा पुगेको खुलस्त गरे । गठबन्धनका विषयमा बजारमा भएका भ्रमहरुको पछाडि नलाग्न आग्रह गर्दै गठबन्धन टुटाउन विभिन्न शक्ति लागिपरेको बताए ।

जनताको साथमा काँग्रेस अभियान कास्कीका संयोजक एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले अभियानका क्रममा जनताको साथमा कांग्रेस अभियान अन्तर्गत वडा र टोल तह सम्म पुगेर कांग्रेसका समर्थक हरुको मात्र हैन आम मतदाताको सोच , दृष्टिकोण सहित दल र तिनका उमेदवारलाई हेर्ने दृष्टिकोणका बारेमा जानकारी लिने र त्यसकै आधारमा प्रतिवेदन र घोषणापत्र बनाउने स्पष्ट पारे ।

काँग्रेसको सबै संरचनालाई निर्वाचनमा परिचालन गर्न अभियान संचालन गरिएको बताउँदै स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई यसै अभियानबाट सुधारिने बताए । कार्यक्रमको संचालन सचिव भानु ढकालले संचालन गरेका थिए ।

१९ भाद्र २०७९, आईतवार २३:१५ मा प्रकाशित
Nabintech