Play

करिब ४ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे- पशुपति क्षेत्र विकास कोष

गुरुकुल खबर


काठमाडौं । हरितालिका तिजका दिन मंगलबार पशुपतिनाथको मन्दिरमा पुगेका अधिकांश दर्शनार्थीले सहजै दर्शन गर्न पाएका छन् ।

मन्दिरमा पुगेका महिला दिदीबहिनीहरूले अघिल्ला वर्षहरूको तुलनामा सहजै पशुपतिनाथको दर्शन गर्न पाएको बताएका छन् । पशुपति क्षेत्र विकास कोषले करिब ४ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको दाबी गरेको छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले व्यवस्थापनसँगै पूर्वी ढोका पनि खोल्दा छिटो छिटो लाइन सरेको दाबी गरे । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका दर्शनार्थीले सहज भएको महसुस गरे । दर्शन एवं पूजाका लागि आएका महिला यस वर्ष पशुपतिमा व्यवस्थित भएकाले छिटो दर्शन गरेर फर्कन पाएकोमा खुसी भए ।

यसपालि व्यवस्थित रूपमा दर्शन गर्ने व्यवस्था मिलाउँदा सहज भएको कोषको दाबी छ । ‘हामीले राम्रो व्यवस्थापन गर्दा दर्शनार्थीलाई सहज भएको हो, अरूले हेर्दा यसपालि कम दर्शनार्थी देखे पनि संख्या पोहोरकै जस्तो भयो,’ कोषका कार्यकारी निर्देशक डा. खतिवडाले भने ।

पशुपतिमा राष्ट्रपतिदेखि मन्त्रीसम्म
पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलगायत पुगे । ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीद्वारा सहज दर्शन व्यवस्था मिलाइएको पशुपतिमा सुरक्षाको दृष्टिकोण ध्यानमा राखी ठाउँठाउँमा सीसीटिभी क्यामेरा राखिएका थिए ।

मंगलबार हरितालिका तिजको व्रत बसेका नारीहरूले बुधबार बिहान गौदान र पूर्णपात्रो गर्दै छन् । गौदान र पूर्णपात्रो गरेपछि व्रत पूर्ण हुने धार्मिक विश्वास छ । पौराणिक कालमा हिमालयन पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यसको सम्बन्ध जोडिएको धार्मिक कथन छ ।

हरितालिका तिजका दिन राजधानीको पशुपतिनाथका साथमा विभिन्न शिवालयमा भक्तजनहरूको घुइँचो लागेको थियो । हरितालिकाको पर्सिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तर्षिको पूजा गरेपछि तिज सकिन्छ ।

१५ भाद्र २०७९, बुधबार ११:०२ मा प्रकाशित
Nabintech